दोस्रो पुस्ताका नेताहरूले कांग्रेसभित्रै नयाँ ध्रुबीकरणको प्रयास…..

काठमाडौँ — पछिल्ला निर्वाचन र ती निर्वाचनबाट नवोदित राजनीतिक दलहरूलाई प्राप्त जनमतबाट त्रसित बनेका दोस्रो पुस्ताका नेताहरूले कांग्रेसभित्रै नयाँ ध्रुबीकरणको प्रयास थालेका छन् । पार्टीको महाधिवेशनबाट नयाँ नेतृत्व चयन भएको डेढ वर्षसम्म पनि नेतृत्वले आशा जगाउन नसकेको, बरू नेतृत्वको कार्यशैलीबाट निराशा पैदा भइरहेको भन्दै उनीहरूले ‘कांग्रेसमा रुपान्तरण अभियान’ घोषणा गरेका छन् । कांग्रेसका पूर्वकेन्द्रीय सदस्य गुरूराज घिमिरे, केन्द्रीय सदस्यद्वय गोविन्दराज पोखरेल र मधु आचार्य, नेताहरू देवराज चालिसे, भुपेन्द्रजङ्ग शाही र रञ्जित कर्णसहितले मंगलबार एक महिने देशव्यापी रुपान्तरण अभियानको घोषणा गरेका छन् । पार्टीमा नेतृत्वले गर्न नसकेका विभिन्न मुद्दाहरुमा बहसकालागि अघि सारेका उनीहरूले पार्टीमा नेतृत्वको कार्यशैलीबाट निराश बनेकाहरूलाई नयाँ ध्रवीकरण गर्न खोजेका छन् । उनीहरूले रुपान्तरण अभियानका नाममा सातै प्रदेशमा पार्टीका प्रदेश कार्यसमितिको समानान्तर हुने गरी प्रदेश संयोजकसमेत तोकेका छन् । अभियानको अग्रभागमा देखिएका सबै नेता शेखर कोइराला पक्षका छन् । तर अभियान कुनै गुट वा व्यक्तिगत स्वार्थकेन्द्रित नभई पार्टीको रुपान्तरण र संगठन सुदृढीकरणका लागि भएको उनीहरूको दाबी छ । यो कुनै व्यक्ति वा गुटबाट परिचालित छैन, त्यस्तो लक्षित पनि होइन, हामी पार्टीमा रुपान्तरण चाहन्छौं, पार्टीमा नेतृत्वको चाल, चरित्र र चेहरालाई बदल्न चाहान्छौं,’ नेता गुरूराज घिमिरेले भने, ‘अहिलेको नेतृत्वमा एउटा गुटमात्रै छैन, फरक–फरक गुट भएपनि कार्यशैलीमा खासै फरक देखिएको छैन । डेढ वर्षअघि भएको कांग्रेसको १४ औं महाधिवेशनमा नेता शेखर कोइराला र उनको नेतृत्वको समूहले रुपान्तरण र पुस्तान्तरणको नारा लगाएका थिए । महाधिवेशनमा शेखर पराजित भए, तर उनको समूहबाट गगन थापा भारी मतले महामन्त्री निर्वाचित हुँदा उपसभापतिमा धनराज गुरूङ, सहमहामन्त्रीमा जीवन परियार र बद्री पाण्डेसहित केन्द्रीय समितिमा केही नेताहरू निर्वाचित भए । तर, महाधिवेशनपछि रुपान्तरणको एजेण्डा ओझेलमा परेको युवा नेताहरूको आरोप छ । नयाँ नेतृत्वको आधा कार्यकाल बितिसक्यो, तर केन्द्रीय कार्यसमिति नै अपूरो छ । भ्रातृसंस्था लथालिंग छन् । पार्टीको न समयानुकुल नीति छ, न रणनीति,’ नेता घिमिरेले भने, ‘हामीले ०६४ देखि यताका सबै चुनावमा सन्तोषजनक परिणाम ल्याउन सकेका छैनौं । नेतृत्वको स्वार्थ र कार्यशैलीले पार्टी क्रमशः क्षयीकरणतर्फ गइरहेको छ । कार्यकर्तामा ऊर्जा छैन, निराशा भरिएको छ । हामी रुपान्तरण अभियानमार्फत् पार्टीमा ऊर्जा भर्छौं । समग्र रुपान्तरण चाहनेहरूलाई नयाँ ध्रुबीकरण गर्छौं । रुपान्तरण अभियानका लागि उनीहरूले विभिन्न १२ मुद्दाहरुमा छलफलकालागि अघि सारेका छन् । जेठ ११ देखि ३१ गतेसम्म सातै प्रदेशमा हुने अन्तरक्रिया कार्यक्रममा ती नै मुद्दाहरु लक्षित बहस र छलफल गर्ने उनीहरूको भनाइ छ । अभियानकालागि जिल्ला र पालिकास्तरमा समेत संरचना बनाउने उद्देश्य रहेको नेता भुपेन्द्रजङ्ग शाहीले बताए । साभार : इका

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार