त्यो पैसा कहाँ गयो ?…..

काठमाडौँ –   शरणार्थी प्रकरणमा आइतबार दिनभर सरकारी वकिलले जाहेरवालाको तर्फबाट थुनछेक बहस गरेका छन् । जिल्ला अदालत काठमाडौँका न्यायाधीश प्रेमप्रसाद न्यौपानेले सरकारी वकिललाई बहसका लागी मङ्गलवार सम्मको समय दिएका छन् ।आइतबार काठमाडौँ जिल्ला अदालतका जिल्ला न्यायाधिवक्ता महेश खत्री र अर्का जिल्ला महान्यायाधिवक्ता जनक घिमिरेले बहस गरे । जिल्ला महान्यायाधिवक्ता महेश खत्रीले गृह मन्त्रालयको स्वामित्वमा भएको बि.ए.बी–१४०५ नम्बरको निशान पट्रोल जिपमा गिरोहले चितवनबाट दुई बोरा पैसा ल्याएको इजलासमा सुनाए । ‘सन्देश शर्माले बायोमेट्री गराउन बोलाएर पीडितहरूसँग उठाएर दुई बोरा पैसा ल्याएको देखिन्छ’ खत्रीले इजलासमा भने–‘श्रीमान्, प्रहरीको बर्दिबाल चालकले सरकारी गाडीमा ल्याएर दुई बोरा पैसा ललितपुरको महालक्ष्मी स्थानमा लगेर झारेको भेटियो । खत्रीलाई न्यायाधीशले सोधे–‘त्यहाँबाट त्यो पैसा कहाँ गयो ?’ जिल्ला महान्यायाधिवक्ता खत्रीले भने–‘त्यसपछि सो रकम सङ्गठित समूहमा गइहाल्यो नि, श्रीमान् । इम्बोस्ड नम्बर बि.ए.बी–१४०५ नम्बरको सो जिप गृह मन्त्रालय अन्तर्गतको नेपाल हज समितिको नाममा छ । सो गाडी नेपाल हज समितिका अध्यक्ष शमशेर मियाँले भुटानी शरणार्थीको कोटामा अमेरिका पठाउने नाममा ठगीधन्दा चलाउने गिरोहका सदस्य सन्देश शर्मालाई दिएको अनुसन्धानबाट देखिएको अनुसन्धानमा संलग्न प्रहरी अधिकृतहरू बताउँछन् । शरणार्थीको नामा ठग्ने समूहका मुख्य योजनाकार सानु भण्डारीले बैङ्क खातामा ३४ पटक करोडौं रुपैयाँ राख्ने र झिक्ने गरेको अनुसन्धानबाट पुष्टि भएको जिल्ला महान्यायाधिवक्ता खत्रीले बताए । बहसमा खत्रीले भने– ‘सो रकम जग्गा कारोबारको हैन, पीडितहरूका पैसा हुन् श्रीमान् ।

चौँरी गोठालाको पैसा पनि खाए:

पूर्व सभासद् आङटावा शेर्पाले दोलखाका चौँरी चराउनेहरुको पैसा शरणार्थी कोटामा अमेरिका पठाउने नाममा खाएको सरकारी वकिलले जिकिर गरेका छन् । रामेछापबाट २०७० मा चुनाव जितेका शेर्पाविरुद्ध दोलखाका ६ जनाले जाहेरी दिएका छन् । ‘दोलखाका चौँरी चराउनेहरूलाई चौँरी बेच्न लगाएर पैसा उठाएको देखिन्छ’ जिल्ला महान्यायाधिवक्ता खत्रीले भने–‘आङटावाले ५४ लाख हिनामिना गरेको जाहेरी आएको छ । पूर्व गृहमन्त्री बालकृष्ण खाणको नाम बयानमा नलिन आङटावाले सानु भण्डारीलाई हिरासतमा भेटेर उनका दाई राजु भण्डारीसँग ३० लाखको कागज गरेका छन् । शेर्पा र भण्डारीबीच भएको कागज विधि विज्ञान प्रयोगशालामा जाँच गर्दा पुष्टि भएको खत्रीले जिकिर गरेका छन् । शरणार्थी प्रकरणमा प्रहरीले अनुसन्धान थालेपछि नेपाल हज समितिका अध्यक्ष शमशेर मियाँले भारतमा लगेर मोबाइल फालेको सरकारी वकिलले दाबी गरेका छन् । त्यस्तै भुटानी शरणार्थी नेता टेकनाथ रिजालले सानु भण्डारीको खाताबाट ५ लाख रुपैयाँ निकालेको अनुसन्धानबाट पुष्टि भएको जिकिर गरिएको छ । नेपालीलाई शरणार्थी बनाएर अमेरिका पठाउने ‘प्रोजेक्ट’ लाई सहयोग नगरेमा शरणार्थी नेता टेकनाथ रिजालको सुविधा खोस्नेबारे तत्कालीन गृह–सचिव टेकनारायण पाण्डे र केशव दुलालको बीचमा कुराकानी भएको भेटिएको छ । रिजाललाई सरकारले मासिक १ लाख नगद, गाडी र पिएसओ दिँदै आएको थियो । तत्कालीन गृह–सचिव पाण्डे र गिरोहका सदस्य केशव दुलालको बिचमा टेकनाथ रिजालको सुविधा खोस्ने कुरा भएको अडियो रेकर्ड प्रमाणको रूपमा पेश गरेका छौँ’ जिल्ला महान्यायाधिवक्ता खत्रीले बहसमा भने–‘शरणार्थीको नाममा योजनाबद्ध र सङ्गठित रूपमा ठग्ने काम भएको छ ।

आत्मदाहको चेतावनी:

शरणार्थी प्रकरणमा सुरुमा पक्राउ परेका सानु भण्डारीले आफू उच्च पदस्थहरूबाट पीडित भएको बताउँदै आफ्नो भनाई जस्ताको तस्तै नराखे ‘आत्मदाह’ को चेतावनी दिएको थाहा भएको छ । इजलासमा बहस गर्दै जिल्ला महान्यायाधिवक्ता जनक घिमिरेले भने– ‘२२ औँ दिनमा उनले गरेको बयान रेकर्ड गरेर प्रमाण लगाउने गरी बुझाएका छौँ । कार्यदलको प्रतिवेदन मन्त्रिपरिषद्बाट पारित भएर आएपछि गिरोहले अनुसूचीमा नाम थपेर चलखेल गरेको घिमिरेले बताए । कार्यदलका सदस्य गणेशबहादुर केसीलाई शरणार्थीबारे कुनै विषय थाहा नभए पनि सानु भण्डारीको योजनामा उनलाई कार्यदलमा राखेको घिमिरेले जिकिर गरेका छन् । डा.इन्द्रजित राईलाई त्रिपुरेश्वरस्थित आँगन स्वीट्स र हिमालय होटेलमा नगद बुझाएको कुरा सरकारी वकिलले ‘अडियो रेकर्ड’ अदालतमा अभियोग पत्रको साथमा पेश गरेको छ ।  साभार : रापा

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार