बाँधको बाढीले ४२ हजार मानिसको बस्ती जोखिममा…..

दक्षिणी युक्रेनको रुस नियन्त्रित क्षेत्र खेरसोनमा रहेको नोभा काखोभ्का जलविद्युत बाँध भत्किएपछि ४२ हजार स्थानीय मानिसहरूको बसोबास जोखिममा परेको छ । बाँधमा विस्फोट हुँदा निप्रो नदीमा बाढी आउनसक्ने भन्दै नदी आसपासका बस्तीमा संकटकाल घोषणा गरिएको छ । रुसी अधिकारीहरूले १ सय जना मानिसहरू नोभा काखोभ्कामा बाढीपहिरोका कारण थुनिएको भन्दै खेरसोन क्षेत्रलाई संकटकाल घोषणा गरेका छन् । साथै बाँध भत्काइँदा हजारौंको संख्यामा वन्यजन्तु पनि मारिएको बताइएको छ । रुसी समाचार एजेन्सी तासका अनुसार बाँध भत्किएपछि प्रत्येक सेकेन्डमा ३० हजार क्युबिक मिटरभन्दा बढी पानी जलाशयबाट बाहिर निस्किन्छ । साथै यस घटनाले सहर नै दूषित हुने तथा पर्यावरणीय क्षति पुग्ने बताइएको छ । यसैबीच बाँध क्षेत्रमा बाढीका कारण थुनिएका मानिसहरूलाई अहिले पनि उद्धारको प्रयास भइरहेको छ । उक्त बाँधमा विस्फोट गरेको भन्दै युक्रेन र रुसले एक आपसमा आरोप प्रत्यारोप लगाउँदै आएका छन् । यो बाँध विस्फोट हुनुअघिसम्म यहाँबाट हजारौं युक्रेनी नागरिकका लागि पनि वितरण गरिएको थियो । तर हाल बाँध भत्काइएपछि निप्रो नदीको सतहभन्दा तल्लो भागमा बसोबास गर्ने दसौं हजार मानिसको बसोबास जोखिममा परेको छ । रुसी अधिकारीहरूका अनुसार बाँध फुटेपछि आएको बाढीका कारण निप्रो नदी फैलिएको छ । बाढीबाट सुरक्षित बनाउन नजिकैका क्षेत्रमा बस्ने मानिसहरूलाई अन्यत्र सारिएको छ । मंगलबारको यस घटनालाई लिएर यूरोपियन युनियनसहित बेलायत, अमेरिका लगायत देशका उच्च अधिकारीहरूले विस्फोटको कडा आलोचना गरेका थिए । युक्रेनले भने घटनाको छानबिन गरिरहेको जनाएको छ । एजेन्सी

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार