भैरहवा — गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका लागि भारतसँग छोटो हवाई दूरी पाउने विषय अन्योलमै रहे पनि विभिन्न विदेशी वायुसेवा कम्पनीले उडान सञ्चालनका लागि चासो देखाएका छन् । म्यान्मार, कम्बोडिया, थाइल्यान्ड र चीनका हवाई कम्पनीले उडानका विषयमा छलफल थालेका हुन् । विमानस्थलका महाप्रबन्धक हंसराज पाण्डेका अनुसार कुनै कम्पनीले ट्राभल/टुर्सजस्ता व्यावसायिक संस्था त कुनैले दूतावासमार्फत उडान सञ्चालनका लागि सोधखोज र चासो देखाइरहेका छन् । ‘केही कम्पनीसँग हामी संवादमै छौं । थाइल्यान्डको राष्ट्रिय ध्वजावाहक थाई एयरवेज इन्टरनेसनलले यही वर्षदेखि काठमाडौंमा उडान सञ्चालन गर्दै आएको थाई स्माइल विमानबाट लुम्बिनीमा उडान सञ्चालनका लागि अध्ययन गरिरहेको जनाएको छ । सानो विमानबाट नेपाललगायत छोटो हवाई दूरीमा उडान सञ्चालन गर्न थाई एयरवेजले चासो देखाएको हो । म्यान्मारको नेसनल एयरलाइन्स पनि लुम्बिनीमा उडान सञ्चालन गर्ने गृहकार्यमा जुटेको छ । एयरलाइन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) क्याप्टेन खुप खान मुङ नेतृत्वको टोली गत अप्रिल १७ मा लुम्बिनी आएर यांगुन–भैरहवा उडान गर्नेबारे दुई दिनसम्म स्थलगत अध्ययन र छलफल गरी फर्किएको पाण्डेले जनाए । ‘नेसनल एयरलाइन्सले यांगुन र भारतको कुशीनगरबीच सिधा उडान गरिरहेको छ । म्यान्मारदेखि लुम्बिनी आउने आफ्ना पर्यटक धेरै भएकाले लुम्बिनीमा उडान सञ्चालनका लागि कम्पनीले चासो देखाएको हो,’ उनले भने, ‘आउँदो अक्टोबरदेखि सेड्युअल उडानको तयारी गर्ने कम्पनीले बताएको छ ।’ लुम्बिनी आउने म्यान्मारका पर्यटक धेरैजसो भारतको कुशीनगर हुँदै गाडीमा आउने र गाडीबाटै कुशीनगर फर्किने गरेका छन् । कम्बोडियाको यातायात मन्त्रालयका सचिवले केही दिनअघि लुम्बिनी आउने क्रममा ४ घण्टासम्म गौतम बुद्ध विमानस्थलमा बसेर छलफल गरेका थिए । छलफलका क्रममा उनले लुम्बिनीमा उडानका लागि पहल गर्ने बताएका थिए । चीनको एयर चाइना कम्पनीले पनि हवाई उडानबारे चासो देखाएको पाण्डेले जनाए । उनका अनुसार एयर चाइनाले काठमाडौंको उडानका क्रममा वैकल्पिक विमानस्थलका रूपमा पनि गौतम बुद्धलाई समावेश गर्ने जनाएको छ । बौद्ध धर्मावलम्बी धेरै भएका विभिन्न मुलुकले हवाई उडानका माध्यमबाट लुम्बिनीसँग सिधै जोडिनेबारे चासो देखाइरहेको लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मित्तेय (अवधेशकुमार त्रिपाठी) ले बताए । ‘भियतनाम, म्यान्मार, कम्बोडिया र श्रीलंकाले सरकारीस्तरबाटै हवाई उडानमा चासो राखेका छन्,’ उनले भने । नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौला पनि गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान सञ्चालनका लागि विभिन्न विदेशी वायुसेवा कम्पनीले चासो देखाएको दाबी गर्छन् । ‘कोभिडका कारण लामो समयसम्म विश्वव्यापी रूपमै हवाई पर्यटनमा नकारात्मक असर पर्यो, कतिपय मुलुकले आफ्नो विदेशी उडान नै बन्द गरे,’ उनले भने, ‘कोभिडको असर बिस्तारै कम भएसँगै अन्तर्राष्ट्रिय हवाई सम्पर्क बढ्न थालेको छ । गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलप्रति पनि चासो बढेको छ । उद्घाटनबाटै सातामा तीन पटक कुवेत–भैरहवा उडान गरेको जजिरा एयरलाइन्सले दुई–तीन साताका लागि भन्दै डेढ महिनादेखि उडान बन्द गरेपछि निजी क्षेत्र चिन्तित छ । साभार : इका












