काठमाडौँ — काठमाडौं महानगरपालिले दर्ता नगरी सञ्चालनमा रहेका स्वास्थ्य संस्था तथा अस्पतालहरू बन्द गराउन थालेको छ । स्वास्थ्य जस्तो संवदेनशील क्षेत्रमा कानुनी प्रक्रिया र मापदण्ड नै पूरा नगरी लापरबाही हुन थालेपछि महानगरले कडाइ गरेको हो । सोमबार मात्रै महानगरले बौद्ध र जडिबुटीमा रहेका दुईवटा अस्पताल सिल गरेको छ । बौद्धमा रहेको चाइनिज पिपुल्स अस्पताल र जडिबुटीको सहयात्री हस्पिटल एन्ड बर्थिङ सेन्टरमा महानगरले ताला लगाइदिएको छ । दुई साताअघि महानगरका मेयर बालेन्द्र शाहले आफ्नो कार्यक्षेत्रभित्र पर्ने अस्पताललगायत स्वास्थ्य संस्थाहरूले स्वास्थ्य संस्था सञ्चालन मापदण्ड, २०७७ र प्रचलित स्वास्थ्यसम्बन्धी कानुनअनुसार विपन्न एवं लक्षित वर्गहरूलाई दिनुपर्ने १० प्रतिशत निःशुल्क उपचार सेवा उपलब्ध नगराउने अस्पतालहरूलाई कारबाही गर्ने चेतावनी दिएका थिए । बालेन्द्रले स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतलाई भेटेर नै सुविधा नदिने अस्पतालहरूको विवरण उपलब्ध गराउँदै कारबाही गर्न आग्रह गरेका थिए । मन्त्री बस्नेतसँगको भेटमा उनले छुट सुविधासम्बन्धी विवरण उपलब्ध नगराउने ६८ स्वास्थ्य संस्थाहरूको विवरण उपलब्ध गराउँदै कारबाही प्रक्रिया अगाडि बढाउन आग्रह गरेका थिए । मन्त्रालयले अनुगमन नगरेपछि महानगरले नियमन र कारबाही प्रक्रिया अगाडि बढाउन थालेको हो । स्वास्थ्य शाखाका प्रमुख रामप्रसाद पौडेलले लाइसेन्स नै नलिइकन गैरकानुनी रुपमा ती अस्पताल सञ्चालन भएको थाहा पाएपछि बन्द गराइएको बताए । ती अस्पतालमा सरसफाईको गुणस्तर कायम नभएको, पर्याप्त पार्किङ नभएको, नागरिक बडापत्र नराखिएको, शय्या व्यवस्थापनको गुणस्तर नै कायम थिएन । पौडेलले भने, ‘एक त यी अस्पतालहरू दर्ता नै नगरीकन सञ्चालनमा रहेछन् । स्वास्थ्यसम्बन्धी मापदण्डको कुनै पालना नै नगरेको पाइयो ।’ यी दुवै अस्पताल १५ शय्याका हुन् । जडिबुटीको सहयात्री हस्पिटलको गुणस्तर धेरै नै कमजोर बनाएर सञ्चालन गरेको अवस्थामा अनुगमन टोलीले पाएको थियो । सरसफाइमा कमजोरीका साथै शय्या व्यवस्थापन र गुणस्तरसमेत नपाइएको पौडेलले बताए । उक्त अस्पतालले स्वास्थ्यसम्बन्धी दिइने उपचारको सामान्य गुणस्तर पनि कायम राख्न नसेको पौडेलको भनाइ छ । बौद्धमा रहेको चाइनिज पिपुल्स अस्पतालको अवस्था पनि त्यस्तै रहेको पाइएको थियो । १६ जना विशेषज्ञ चिकित्सकको सेवा भनेर प्रचार गरेको तर अस्पताल अनुगमनका क्रममा १ जना मात्रै चिकित्सक भेटिएको स्वास्थ्य शाखा प्रमुख पौडेलले जानकारी दिए । ‘चाइनिज पिपुल्सले १६ जना विशेषज्ञ चिकित्सको नियमित सेवा भनेकोमा एक जना मात्रै थिए । काठमाडौं महानगरपालिकाले स्वास्थ्य संस्था दर्ता, अनुमति, नवीकरण तथा स्तरोन्नतिसम्बन्धी कार्यविधि, २०७७ ल्याएको छ । यस्तै, केन्द्र सरकारले २०७७ सालमा ल्याएको जनस्वास्थ्य सेवा नियमावली र स्वास्थ्य सेवा सञ्चालन मापदण्ड हाल कार्यान्वयनमा छन् । यी कानुनी प्रावधानहरू पूरा नगरी अस्पताल तथा स्वास्थ्य संस्था सञ्चालन भएपछि महानगरले अनुगमनलाई जोड दिएको हो । नगर प्रहरी प्रमुख राजुनाथ पाण्डे भन्छन्, ‘हामीले अनुगमन पहिल्यैदेखि नै गरेका छौं । मापदण्ड पूरा नगरी सञ्चालनमा रहेका अस्पतालहरूको सूचना लिँदै बन्द गराउँछौं ।’ उनले सबै स्वास्थ्य संस्थाहरूलाई कानुनी मापदण्ड र प्रावधान पूरा गर्न पनि आग्रह गरे । साभार : इका












