आइपुग्यो धरानमा कोकाहाको पानी…..

सुनसरी — सुख्खायाममा चारदेखि ६ महिना काकाकुलको नियति भोग्नु धरानबासीका लागि अघोषित रुपमा वार्षिक क्यालेन्डर नै हो । तर, यसपटक सम्भवतः इतिहासमै सबैभन्दा बढी पानीको हाहाकार भोगिरहेका छन् धरानबासी । जबकी खानेपानीको दीर्घकालीन समस्या समाधान गर्न भनेर एसियाली विकास बैंकको ऋण तथा अनुदान सहयोगमा भूमिगत खानेपानी पनि सञ्चालनमा छ । स्वतन्त्रबाट विजयी भएलगत्तै खानेपानी अभियानलाई तिव्रता दिएका धरान उपमहानगरका प्रमुख हर्कराज राईलाई ‘सम्झेर’ स्वदेश र विदेशका हजारौं दाताहरू र संघसंस्थाले करिब चार करोड रुपैयाँभन्दा बढी रकम पनि पठाइसकेका छन् । खानेपानीकै लागि भनेर दाताहरूले रकममात्र नदिएर जिन्सीको रुपमा लाखौं रुपैयाँका पाइपसमेत खरिद गरेर दिएका छन् । धरान आसपासका खोलाखोल्सीहरू पकुवा, निसाने र भालुखोला छान मारेर पाइपलाइनसमेत विस्तार भएका छन् । विभिन्न ठाउँमा पानी संकलनका लागि इन्टेक ट्यांकी पनि निर्माण भएका छन् । धरान खानेपानी बोर्डमा नेपाल खानेपानी संस्थानको धरान शाखा समाहित भइसकेको छ । संस्थानले सर्दु–खर्दु मुहानबाट हिउँदमा दैनिक करिब ४० लाख लिटर र चारकोसे जंगलमा जडान गरेको पाँचवटा डिप ट्युबेलबाट आवश्यक खानेपानी आपूर्ति गर्दै आएकोमा धरान खानेपानी आयोजनाअन्तर्गतको धरान खानेपानी व्यवस्थापन बोर्डमातहतको सातवटा डिप ट्युबेलले दैनिक खानेपानी आपूर्ति गर्दै आएको दाबी गरिएको छ । खानेपानीका लागि दाताबाट संकलन भएको करिब ४ करोड रुपैयाँले तीन साना खोलाखोल्सीबाट पानी ल्याइएको र दुई अर्ब रुपैयाँभन्दा बढी लागतको धरान खानेपानी आयोजना पनि सञ्चालनमा रहेको भनिएको बेला धरानमा पानीको चरम अभाव हुनु प्राविधिक कमजोरीमात्र नभएर जनप्रतिनिधिको बेवास्ताका कारण भएको आरोप लाग्न थालेको छ । बोर्ड, प्रमुख हर्कराज राई, उपमहानगरपालिका र जनप्रतिनिधिमाथि नै प्रश्न गर्न थालेका छन् स्थानीय उपभोक्ताहरू ।

एक रुपैयाँ लिटर पानी:

खानेपानी बोर्डले स्थानीय उपभोक्तालाई आफ्नै ट्यांकरबाट पानी आपूर्ति गर्न सबैलाई नसकेपछि यतिबेला धरानमा निजीस्तरमा सञ्चालित दुई दर्जनभन्दा बढी खानेपानी ट्यांकर व्यवसायीहरूलाई समेत भ्याइनभ्याई भएको छ । खानेपानी अभाव भएपछि धरानभरिमा स्थानीय उपभोक्ता, होटल व्यवसायी, रेस्टुरा सञ्चालकहरूले दैनिक १२ लाख लिटरदेखि १५ लाख लिटर किनेर प्रयोग गरिरहेको खानेपानीको ट्यांकर व्यवसायी जयन्त गौतमले बताए । उनका अनुसार धरानमा सुख्खायाममा दैनिक ६० वटा ठूला–साना ट्यांकरले खानेपानीको ढुवानी गर्ने गरेका छन् । उनका अनुसार ठूला ट्यांकर व्यवसायीले प्रतिलिटर ६० पैसामा बिक्री गरिरहेका छन् भने पिकअपमा ड्रम राखेर ल्याउनेहरूले १ रुपैयाँ लिटरमा बिक्री गरिरहेका छन् । गत वर्ष ५० पैसा प्रतिलिटरमा बिक्री भएको थियो । गौतमले भने, ‘धरानबाट करिब १२ किलोमिटरको दुरीमा रहेको इटहरीको हलगडामा तीनवटा डिप ट््युबेल छन् । त्यहाँ ट्याङ्करमा पानी भर्न पनि पालो पर्खिनुपर्छ । डिप ट्युबेल सञ्चालकले ७ हजार लिटर पानीको पाँच सय रुपैयाँ लिन्छ । म दैनिक ५६ हजार लिटर पानी बिक्री गरिरहेको छु ।’ विगत चार महिनादेखि धरानमा दैनिक सरदर ८ लाख देखि १० लाख रुपैयाँको पानी बिक्री भइरहेको छ । खानेपानीको अभावले धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चिकित्साशास्त्र अध्ययन/अध्यापन एक साताका लागि स्थगित भएको छ । विद्यार्थीहरूलाई घर जाने बिदा दिइएको छ । पानीको अभावका कारण धरानमा कोठा भाडामा लिएर स्कुल–कलेज पढ्ने विद्यार्थी, सानोतिनो व्यापार व्यवसाय गर्ने परिवारसमेत तत्कालका लागि आफ्नो घरमा फर्किएका छन् ।  साभार : इका

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार