पूर्वी पहाडमा बाढीपहिरोले ५ को मृत्यु, २८ बेपत्ता…..

संखुवासभा, ताप्लेजङ र पाँचथर — शनिबार रातिको बाढीपहिरोबाट संखुवासभा, ताप्लेजुङ, पाँचथर र धनकुटामा पाँच जनाको ज्यान गएको छ भने २८ जना बेपत्ता छन् । तीनै जिल्लामा दर्जनौं घर क्षतिग्रस्त भएका छन् । सडक, पुललगायतका संरचना बग्दा यातायात सम्पर्क प्रभावित भएको छ । निर्माणाधीन र निर्माण सकिएका १६ जलविद्युत् आयोजनामा क्षति पुगेको छ । बाढीपहिरोमा परी पाँचथरमा दुई तथा संखुवासभा र ताप्लेजुङमा एक–एक जनाको मृत्यु भएको छ । यस्तै, धनकुटाको छथर जोरपाटी–४ तेलियास्थित तमोर नदी किनारमा आइतबार साँझ एक महिलाको शव फेला परेको छ, जसको सनाखत हुन सकेको छैन । संखुवासभामा २१, पाँचथरमा ४ र ताप्लेजुङमा ३ जना बेपत्ता छन् । संखुवासभामा हेवा खोलाको बाढीले पाँचखपन नगरपालिका–९ का सन्तोष राईको ज्यान लिएको छ । चैनपुर नगरपालिका–४ मा निर्माणाधीन ६ मेगावाटको सुपर हेवा हाइड्रोपावरका १८ जना सम्पर्कविहीन छन् । खोलामा बाढी आएपछि उनीहरू अन्यत्र भागेको वा बाढीमा परेको भन्ने आइतबार अबेरसम्म यकिन हुन नसकेको संखुवासभाका प्रहरी प्रमुख डीएसपी वीरेन्द्र गोदारले जानकारी दिए । उनका अनुसार उक्त हाइड्रोपावरको संरचना पूर्ण रूपमा क्षतिग्रस्त छ । हाइड्रोपावरमा कार्यरत राजेश श्रेष्ठ, टीकाराम थारू र दीपकराज थारू घाइते भएका छन् । उनीहरूको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको छ । चैनपुर–४ र पाँचखपन–९ मा गएको पहिरोले खोला थुनिएपछि बाढीले जनधनको क्षति गरेको हो । बाढीले पाँचखपन र चैनपुर जोड्ने मोटरेबल पुल पनि बगाएको छ । पूर्वाधार विकास कार्यालयले गत वर्ष मात्र उक्त पुल बनाइसकेको थियो । खोला किनार आसपासका ८ घर बगेको छ । बाढीले निर्माण सामग्री, ढुवानी र सवारीसाधन पनि बगाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । खेतीयोग्य जमिन बालुवा र हिलोले पुरिएको छ । सभापोखरीमा २ र नुनढाकीमा १ जना बेपत्ता छन् । बेपत्ताको खोजीका लागि आइतबार बिहानैदेखि सुरक्षाकर्मी र स्थानीय जुटेका थिए । प्रतिनिधिसभा सदस्य दीपक खड्का नेतृत्वको टोलीले आइतबार नै प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेर धनजनको क्षतिबारे अवगत गराउँदै उद्धार र राहतका लागि पहल गर्न आग्रह गरेको छ । कोशी प्रदेशका खानेपानी, सिँचाइ तथा ऊर्जामन्त्री तिलकुमार मेन्याङ्बो, प्रदेश सदस्य विदुर लिङ्थेप, सेनाका पृतनापति आशबहादुर तामाङ, सशस्त्रका डीआईजी अन्जनी पोखरेललगायतले हेलिकोप्टरबाट प्रभावित क्षेत्र निरीक्षण गरेका थिए । ताप्लेजुङ मेहेले–६ का ३० वर्षीय गणेश तामाङको घरअगाडि खहरे खोला छ । बिहीबारदेखि परिरहेको पानीले खहरे बढाउँदै थियो । शनिबार साँझ मुसलधारे वर्षा सुरु भएपछि खोला उर्लियो । गणेशको परिवारले असुरक्षित महसुस गरेपछि घर छाड्ने निधो गर्‍यो । त्यतिबेला रातको ९ बजेको थियो । परिवारमा गणेशका बाआमा र दुई छोरी मात्र थिए । उनकी श्रीमती एक छोरी लिएर माइत गएकी थिइन् । बाबुआमा र दुई छोरी रिदम र मीनालाई लिएर गणेश डाँडातिर सुरक्षित ठाउँमा जाँदै थिए । करिब एक सय मिटर पर पुग्दा गणेशलाई पहिरोले भेट्यो । गणेशकी छिमेकी समेत रहेकी जसोदा आधारभूत विद्यालयकी शिक्षिका यशोदा चौहान कार्कीका अनुसार छोरीले बोकेको सुरुवाल झरेपछि त्यसलाई टिप्न फर्किएका बेला गणेश पहिरोमा परेका थिए । टर्च बालेर जाँदै गरेका गणेशलाई पहिरोले बगाएपछि बाआमाले रोइकराइ गरे तर राति खोज्न सक्ने अवस्था नभएपछि कलिला नानीहरू लिएर पूर्णबहादुर भट्टराईको घरमा पुगें । आइतबार बिहान खोजी गर्ने क्रममा गणेशको शव भेटिएको प्रहरीले जनाएको छ । गणेशको घरमा भने पहिरोले क्षति पुर्‍याएको छैन । ‘घरमै बसेका भए केही नहुने रहेछ, सुरक्षित हुन खोज्दा बाआमा र नानीहरू त बचाए, आफू बिते,’ स्थानीय दिवस भण्डारीले भने । प्रमुख जिल्ला अधिकारी गोमादेवी चोङवाङका अनुसार सोही पहिरोमा परेका ६३ वर्षीया भगीमाया, ३३ वर्षीया सन्ध्या र ९ वर्षीय प्रज्वल बुढाक्षत्री भेटिएका छैनन् । बाढीपहिरोले जिल्लाभर ५१ घर जोखिममा परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । जिल्लाभरमा तीन पक्की पुल र पाँच झोलुंगे पुलमा क्षति पुगेको छ । सात सरकारी कार्यालय र एक विद्यालयमा क्षति पुगेको छ । पहिरोले सिदिङवा–६ स्थित स्वास्थ्य चौकी बगाएको छ । स्वास्थ्य चौकी वडा कार्यालयमा सञ्चालन गर्ने तयारी भइरहेको गाउँपालिका उपाध्यक्ष कृष्णकुमारी (बन्दना) कडरियाले जानकारी दिइन् । बाढीका कारण मैवाखोलाले धार परिवर्तन गरेपछि ताप्लेजुङको दोस्रो ठूलो व्यापारिक केन्द्र दोभान बजार जोखिममा परेको छ । यहाँका व्यापारी आइतबार बिहानैदेखि सामान माथिल्लो क्षेत्रमा सारिरहेका छन् । मेरिङदेन गाउँपालिका–३ का वडाध्यक्ष गजेन्द्र लिम्बूका अनुसार शनिबार बेलुका मैवाखोलाको बाढी हेर्दै जाग्राम बसेका स्थानीय राति २ बजेपछि आत्तिएका थिए । ‘खोला पारिपट्टिबाट बगिरहेको थियो, राति २ बजेतिर धार परिवर्तन गरेर बस्ती केन्द्रित भएपछि होस हवास उड्यो,’ व्यापारी टंक खतिवडाले भने, ‘बस्तीको सुरक्षाका लागि २०७२ देखि लगाइएको ग्याबिन वाल बाढीले भत्काएको छ ।’ आइतबार बिहानदेखि खोलो घटेकाले केही राहत महसुस गरे पनि जति बेला पनि बस्ती बढार्ने जोखिम रहेको उनले सुनाए । तमोर र मैवाखोला मिसिएको ठाउँ नजिकै रहेको दोभान बजारमा ७६ परिवारको बसोबास छ ।   साभार : इका

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार