समाजवादी मोर्चा निर्माण…..

काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहालले समाजवादी मोर्चा राजनीतिक परिवर्तनविरुद्ध लाग्नेहरूका निम्ति युद्धको घोषणा भएको बताएका छन् । सोमबार समाजवादी मोर्चा नेपाल घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा(माओवादी केन्द्र)का अध्यक्षसमेत रहेका प्रधानमन्त्री दाहालले मोर्चा घोषणा राजनीतिक परिवर्तनका विरुद्ध लाग्नेहरूका लागि युद्धको घोषणा भएको बताएका हुन् । प्रधानमन्त्री दाहालले परिवर्तनलाई होच्याउने, अपमानित गर्ने अराजक र प्रतिगामी प्रवृत्तिका मान्छेहरुले टाउको उठाउन खोजेका भन्दै समाजवादी मोर्चा तिनीहरूविरुद्धको युद्ध भएको बताए । मोर्चा जनताको पक्षमा, प्रगतिशील र वामपन्थीहरुको पक्षमा भएको पनि उनले दाबी गरे । प्रधानमन्त्री दाहालले १२ बुँदे समझदारी, विस्तृत शान्ति सम्झौता र संविधान बनाउन भूमिका खेल्ने सबैलाई हातेमालो गर्न आग्रहसमेत गरे । कोही पनि अग्रगमनको पक्ष, प्रगतिशील पक्ष, वामपन्थी पक्ष, संघीय गणतन्त्रका पक्षधर हामी यो मोर्चाबाट बिल्कुल घबराउनुपर्ने आवश्यकता छैन बरु आउनुहोस् हात मिलाउँ । र यो देशलाई नयाँ बनाउने संकल्पका साथ अगाडि बढौँ । हामी परिवर्तनका पक्षधर विभिन्न संघर्ष र बलिदानबाट गुज्रिएका पार्टी र नेताहरूलाई, विचार र प्रवृत्तिलाई बदनाम गर्ने र यो परिवर्तन जो हजारौँ सहिदहरू र बेपत्ताहरू, क्रान्तिकारीहरूको त्याग, तपस्या र बलिदानबाट आएको परिवर्तनलाई होच्याउने, अपमानित गर्ने, ह्युमिलेट गर्न खोज्ने अराजक र प्रतिगामी प्रवृत्तिका केही मान्छेहरूले टाउको उठाउन खोजेकै छन् । के कुरा साँचो हो भने यो मोर्चा तिनका विरुद्ध युद्धको घोषणा भने पक्कै पनि हो,’ उनले भने ।  प्रधानमन्त्री दाहालले नेपाल कम्युनिस्ट पार्टीको नेतृत्व गरेका नेत्रविक्रम चन्द मोर्चामा सामेल हुनु गुणात्मक र क्रान्तिकारी महत्त्व भएको बताए । उनले चन्द समाजवादी मोर्चामा सामेल हुँदा संसदीय राजनीतिमा सामेल भएका आफूहूमा लागेको धुलोमैलो सफा गर्न मद्दत पुग्ने बताए । ‘एउटा राम्रो पक्ष के भएको छ भने कमरेड विप्लवले नेतृत्व गरेको नेकपा पनि यो मोर्चामा सामेल भएको छ र यसको गुणात्मक र क्रान्तिकारी महत्त्व छ । हामी संसदीय राजनीतिमा अलि बढी लागेकामा केही धुलोमैलो जम्मा भएको छ । सायद कमरेड विप्लवजस्ता पार्टीहरु यहाँ मोर्चामा आउँदा हाम्रो धुलोमैलो सफा गर्न पनि मद्दत हुन्छ भन्ने मलाई लाग्छ,’ उनले भने । प्रधानमन्त्री दाहालले नेता, कार्यकर्ताहरूको उत्साहले समाजवादी मोर्चाको औचित्य स्थापित भइसकेको बताए । उनले समाजवादी मोर्चालाई अभियानका रूपमा लैजाने बताए । साभार : इका

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार