सवारी साधन पार्किङ शुल्क निर्धारण…..

काठमाडौँ –   काठमाडौँ महानगरपालिकाले सवारी साधन पार्किङ शुल्क पनि निर्धारण गरेको छ । महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले दुई पाङग्रे सवारी साधनको प्रतिघण्टा २५ रुपैयाँ र चार पाङग्रे सवारी साधनको प्रतिघण्टा ७५ रुपैयाँ पार्किङ शुल्क निर्धारण गरिएको जानकारी दिइन् । सोमबार न्युज एजेन्सी नेपालसँग संक्षिप्त कुरा गर्दै उनले सेवाग्राहीको गुनासो सुनुवाइ गर्न र सवारी साधनको पार्किङ शुल्कमा एकरुपता ल्याउन सो शुल्क निर्धारण गर्नु परेको स्पष्ट पारिन् । जस अनुसार काठमाडौँ महानगरपालिका भित्र २ पाङग्रे सवारी साधनले आधा घण्टाको पार्किङ शुल्क भने १५ रुपैयाँ मात्रै तिर्नुपर्ने हुन्छ । एक घण्टाको २५ रुपैयाँ र एक घण्टाभन्दा बढी थप हुँदै गयो भने हरेक १५ मिनेटमा ५÷५ रुपैयाँ शुल्क थप गर्ने व्यवस्था गरिएको पनि उनले बताइन् । उपमेयर डंगोलका अनुसार ४ पाङग्रे सवारी साधनले भने आधा घण्टाका लागि ४० रुपैयाँ पार्किङ शुल्क तिर्नुपर्ने हुन्छ । एक घण्टाका लागि ७५ रुपैयाँ तिनुपर्नेछ । त्योभन्दा बढी समय थप भए हरेक १५ मिनेटमा १५ रुपैयाँ थप हुँदै जाने पनि महानगरपालिकाले जनाएको छ । त्यसैगरी महानगरपालिकाले आफ्नो मातहत भित्रका सामुदायिक विद्यालयका शिक्षकहरुलाई मासिक रूपमै तलब उपलब्ध गराउने व्यवस्था पनि गरेको छ । स्रोत भर्ना कोषमार्फत् आफूहरुले सामुदायिक विद्यालयका शिक्षकहरुलाई मासिक रूपमा नै तलब खुवाउने व्यवस्था गरेको उपमेयर डंगोलले बताइन् । सामुदायिक विद्यालयका शिक्षकहरुले चौमासिक रूपमा तलब पाउने व्यवस्था संघीय सरकारले गरेको छ । तर काठमाडौँ महानगरपालिकाले भने स्रोत भर्ना कोषमार्फत् उनीहरुलाई मासिक रूपमै तलब लिने व्यवस्था गरेको हो । काठमाडौँ महानगरपालिकाको न्यायिक समितिमा कोठा र पसलको सटर बन्द गराई भाडा असुल गरिदिनका लागि उजुरी दिनेको संख्या ह्वात्तै बढेको छ । पछिल्ला दिनहरुमा आर्थिक मन्दीका कारण पनि सो उजुरी न्यायिक समितिमा करिब दोब्बरले बढेको उपमेयर डंगोलले जानकारी दिइन् । १० वटा उजरी मध्ये ८ वटा उजुरी भने कोठा र सटर बन्द गराई भाडा दिलाई पाउँ भन्ने खालको आउने गरेको काठमाडौँ महानगरपालिकाले बताएको छ । आर्थिक मन्दीका कारण घरबेटीहरु नै कोठा र सटर बन्द गराई भाडा असुलीका लागि उजुरी दिन लागेको र यो क्रम अझै बढेर जाने काठमाडौँ महानगरपालिकाको आकंलन छ । उपमेयर डंगोलले न्यायिक समितिमा भाडा तिर्न नसकेर सहकारीलगायतका संस्थाहरु भागेको उजुरी पनि आउने गरेको बताइन् ।  साभार : रापा

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार