भन्सारबाट उम्किसकेको सुन बरामद…..

काठमाडौँ — हङकङबाट ल्याएर अन्तर्राष्ट्रिय विमानस्थल भन्सारसमेत पार गरेर सिनामंगल सडकसम्म पुर्‍याइएको करिब एक क्विन्टल सुन बरामद भएको छ । राजस्व अनुसन्धान विभागको टोलीले सुन बरामद गरेको हो भने भन्सारका अधिकारीहरूमाथि प्रश्न उठेको छ । मंगलबार राति १० बजे हङकङबाट आएको क्याथे प्यासेफिकको उडानमा स्कुटरको ‘ब्रेक सु’ को आवरणमा सुन ल्याइएको थियो । नेपालमा एकै पटक यति धेरै सुन बरामद भएको सम्भवतः पहिलो घटना रहेको अधिकारीहरूको भनाइ छ । यसअघि ०७४ भदौमा चिनियाँ तस्करले भित्र्याएको ८८ केजी सुनसहित काठमाडौंको क्षेत्रपाटीबाट गाडी चालक पक्राउ परेका थिए । राजस्व अनुसन्धान विभागका महानिर्देशक नवराज ढुंगानाले सुन बरामद भएको र केही व्यक्ति पक्राउ परेको पुष्टि गरे । ‘थप अनुसन्धान भइरहेको छ,’ उनले भने, ‘धेरै तथ्य खुल्न बाँकी नै भएकाले विस्तृतमा अहिल्यै भन्न सक्ने अवस्था छैन । भन्सार कार्यालयले निर्वाध रूपमा सुन पास गरिदिएको थियो । ‘आठवटा कार्टुन बक्सामा ल्याइएका स्कुटरका १ सय ६० वटा ब्रेक सुको जाँचपास भन्सार कार्यालयले गरेको थियो । जसको तौल १ सय ५४ केजी उल्लेख छ । यस आधारमा करिब एक क्विन्टल सुन हुनुपर्छ भन्ने अनुमान गरेका हौं,’ अनुसन्धानमा संलग्न एक अधिकारीले भने, ‘सामान जाँच गर्ने स्क्यानरले कसरी पत्ता लगाएन ? सम्भावित सेटिङबारे अनुसन्धान हुँदै छ । बुढानीलकण्ठ ठेगाना उल्लेख गरिएको ‘रेडी ट्रेडर्स प्रालि’का नाममा विमानस्थल भन्सारले जाँचपास हुन लागेको सामान शंकास्पद रहेको सूचनाका आधारमा राजस्व अनुसन्धान विभागको टोली विमानस्थल पुगेको थियो । जाँचपासपछि सुन लिएर ट्याक्सीबाट बाहिरिएका दुई जना सिनामंगलमा समातिएका हुन्, पछि तीन जना पक्राउ परेका छन् । ‘सुनको बिस्कुटको आकार बिगारी स्कुटरको ‘ब्रेक सु’ भित्र कभर गरेर ल्याएको देखिन्छ । भन्सारमा भने स्कुटरको ब्रेक सु भन्ने घोषणा गरिएको छ,’ अनुसन्धानमा संलग्न अधिकारीले भने । विभाग स्रोतका अनुसार विमानस्थल भन्सार कार्यालयबाट ठूलो मात्रामा सुन चोरीपैठारी हुन लागेको सूचना राजस्व अनुसन्धान विभागलाई १० दिनअघि नै प्राप्त भएको थियो । ‘हामीले विशेष टोली बनाएर काम गरिरहेका थियौं,’ स्रोतले भन्यो, ‘सुन समातिएको छ, प्रारम्भिक अनुसन्धानमा ५ जना पक्राउ परे पनि थप योजनाकारको खोजी गरिरहेका छौं ।’ अनुसन्धानका लागि भन्सार जाँचपास गराउने कर्मचारी तानिने छन् । भन्सार जाँचपास गरेर विमानस्थलबाट बाहिर ल्याइएको सुन बरामद भएपछि मंगलबारै भन्सार एजेन्टसँग केरकार गर्दा अरू दुई जनाको नाम खुलेको थियो । त्यसपछि बुधबार बुढानीलकण्ठबाट एक जना र जोरपाटीबाट अर्का व्यक्तिलाई पक्राउ गरेको विभाग स्रोतले जनाएको छ । मंगलबार बरामद गरिएको सुन नक्कली फर्म खडा गरी त्यसकै नाममा प्रज्ञापनपत्र खोलेर ल्याएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । ‘रेडी ट्रेडर्स प्रालि’ का सञ्चालक दिलीप भुजेल, भन्सार एजेन्ट राजेन्द्र राई, सहयोगीको आशंकामा रामकुमार भुजेल, हर्क राई र ट्याक्सी चालक अशोक लामा पक्राउ परेका हुन् । पाँचै जनालाई विभागको हिरासतमा राखिएको छ । तस्कर गिरोहले सुन, विदेशी मुद्रालगायत अवैध वस्तु ओसारपसार गर्दा चेकजाँचमा कडाइ हुन नसकेपछि विमानस्थल भन्सार क्षेत्रमा प्रहरी उपस्थिति पनि गराउनुपर्ने माग उठिरहेको छ । तर, भन्सारले प्रहरी खटाउन मानेको छैन । त्यसको लाभ गिरोह र कतिपय अवस्थामा भन्सारकै कर्मचारीले उठाइरहेका छन् । केही दिनअघि मात्रै उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले भन्सारमा प्रहरीको समेत उपस्थिति बढाउनेबारे कुराकानी भइरहेको जनाएका थिए । यसअघि विमानस्थलबाटै भित्रिएको तस्करीको सुन कारोबारीसँग हालै माओवादी नेता कृष्णबहादुर महरा र उनका छोरा राहुलको समेत नाम मुछिएको छ । यस विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । क्विन्टल सुन मंगलबार राति बरामद गरिए पनि यो प्रकरण बुधबार साँझ मात्र सार्वजनिक गरिएको थियो । किन यति लामो समय लाग्यो भन्नेमा अधिकारीले दुई तर्क गरेका छन् । पहिलो विषय बरामद गरिएको सामग्री सुन हो कि हैन भनेर छुट्याउनुपर्ने थियो, स्याम्पलमा टेस्ट गरेपछि सुन हो भन्ने पुष्टि भयो, पुष्टि नभई भन्न सकिँदैन थियो,’ अनुसन्धानमा संलग्न एक अधिकारीले भने, ‘दोस्रो विषय तस्करीसँग सम्बन्धित व्यक्तिहरूलाई पक्राउ गर्नका लागि पनि घटना बाहिर ल्याउन नहुने थियो । दुवै विषय निश्चित भएपछि बुधबार अनौपचारिक रूपमा घटना सार्वजनिक गरेका हौं ।’ औपचारिक रूपमा सार्वजनिक गर्न अझै केही दिन लाग्ने ती अधिकारीले बताए ।  साभार : इका

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार