आरोप-प्रत्यारोप चल्नु स्वाभाविक हो…..

सुनसरी — नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस प्रजातान्त्रिक पार्टी भएकाले आरोप-प्रत्यारोप चल्नु स्वाभाविक रहेको बताएका छन् । नेपाली कांग्रेसको जारी केन्द्रीय कार्य समिति बैठक शनिबार एक दिनका लागि स्थगित गरेर सुनसरी पुगेका देउवाले नेपाली कांग्रेस सबैभन्दा ठूलो प्रजातान्त्रिक पार्टी भएकाले बैठकमा आरोप-प्रत्यारोप हुनुलाई स्वाभाविक रुपमा लिनुपर्ने बताए । १५ जनाभन्दा धेरै केन्द्रीय सदस्यहरुसहित सुनसरी सदरमुकाम इनरुवामा नेपाली कांग्रेसको जिल्ला सम्मेलनको उद्घाटन गर्दै देउवाले केन्द्रीय समितिको बैठक लाइभ गरेर कांग्रेसले उत्कृष्ट काम गरेको दाबी गरे । ठूलो पार्टीमा सानातिना समस्या र विवाद आउँदैमा कांग्रेस बिग्रियो, सक्कियो भन्ने मानसिकता पाल्न नहुने पनि देउवाको भनाइ थियो । पार्टीभित्रको मतभेदलाई बैठकबाटै टुंग्याएर पार्टीभित्र आन्तरिक एकता भने जरुरी रहेको उनले बताए । साथै संघीय लोकतान्त्रिक गणतन्त्रलाई स्थायित्व दिँदै लोकतन्त्र संस्थागत गर्नुपर्ने सभापति देउवाको भनाइ थियो । देउवाले बीपी कोइरालाको ४१ औं स्मृति दिवसका अवसरमा शनिबार सुनसरीको इनरुवामा उनको पूर्णकदको सालिक अनावरण समेत गरेका थिए । इनरुवा–९ इनरुवा नगरपालिकाको १५ लाख रुपैयाँमा निर्माण गरिएको बीपीको सालिक सम्पन्न भएको चार वर्षपछि अनावरण गरिएको हो । कार्यक्रममा बोल्ने अधिकांश केन्द्रीय सदस्यहरुले पार्टीभित्रको गुटउपगुट त्यागेर कांग्रेस एकजुट हुन नसकेको गुनासो पोखेका थिए । उनीहरुले केन्द्रीय समितिको बैठकको फेसबुक लाइभ गर्ने निर्णयलाई लिएर आम कार्यकर्ता, शुभेच्छुक खुसी भएको बताएका थिए । साभार : इका

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार