क्विन्टल सुन प्रकरणमा व्यापारी राकेशकुमार अडुकिया अनुसन्धानमा…..

काठमाडौँ — हङकङबाट भित्रिएको तस्करीको क्विन्टल सुन प्रकरणमा व्यापारी राकेशकुमार अडुकिया अनुसन्धानमा तानिएका छन् । बुढानीलकण्ठस्थित रेडी ट्रेडले ब्रेक सुको आवरणमा क्याथे प्यासिफिकको जहाजमार्फत भित्र्याएको सुन बरामदपछि अनुसन्धान गर्ने क्रममा अडुकिया शंकाको घेरामा परेका हुन् । विगतमा गोरखा विकास बैंक घोटाला प्रकरणमा मुछिएका र सेयर कारोबारमा विवादास्पद पृष्ठभूमि भएका अडुकिया तस्करीको सुन भारतसम्म पुर्‍याउन सक्रिय रहेको आशंका राजस्व अनुसन्धान विभागले गरेको छ । अनुसन्धानकै क्रममा विभागले बुधबार अडुकियाको कमलपोखरीस्थित घरमा छापा मारेर केही कागजात नियन्त्रणमा लिएको छ । सुन बरामदपछि अडुकिया सम्पर्कविहीन छन् । उनी केही बैंक/वित्तीय संस्थामा यसअघि सञ्चालक समिति सदस्य रहिसकेका व्यक्ति हुन् । विभागको टोलीले बुधबार नै चिनियाँ र भारतीय गिरोह बस्दै आएका ठमेल र लाजिम्पाटस्थित घरमा छापा मारेको छ । ठमेलको एक घरबाट ब्रेक सु उल्लेख गरिएका ६६ कार्टुन बरामद भएको छ । रेडी ट्रेडले नै सुन भित्र्याउने क्रममा ती सामान ल्याएको आशंका गरिएको छ । क्विन्टल सुन भित्रिनुअघि बालुवाटार र लाजिम्पाटमा कोठा भाडामा लिएर बसेका दुई विदेशी एक साताअघि नै पक्राउ परेका छन् । भारतीय नागरिक थुप्तेन छिरिङ र एयर चाइनाबाट चीन भाग्न लागेका चिनियाँ नागरिक ३६ वर्षीय जेक्युयाङ लीनलाई विभागकै टोलीले पक्राउ गरी अनुसन्धान गरिरहेको छ । दुवै चीन–हङकङ र भारतमा रहेका मुख्य गिरोहका सहयोगी रहेको आशंका छ । त्यसमा नेपालमा व्यवस्थापकको भूमिका अडुकियाले गरेको आशंका छ । विभागका महानिर्देशक नवराज ढुंगानाले तथ्य, प्रमाण तथा बयानबाट खुलेअनुसार अनुसन्धान अघि बढेको बताए । अनुसन्धानकै क्रममा बुधबार विभिन्न स्थानमा छापा मारेर सामान बरामद गरिएको उनले जानकारी दिए । विभागले अनुसन्धानका लागि तीन जना निर्देशकसहितको टोली खडा गरेको छ । ‘पक्राउ परेकाहरूसँग बयान लिने क्रम पनि जारी छ,’ महानिर्देशक ढुंगानाले भने । विभागका एक निर्देशकले क्विन्टल सुन प्रकरण जटिल र संगठित किसिमको अपराध भएकाले हतारमा नतिजा नआउने बताए । ‘तथ्य र प्रमाणका आधार खोज्दा समय लाग्छ । ब्रेक सुकै आवरणमा असार २९ मा भित्रिएर विमानस्थल भन्सार जाँचपास भएको १ क्विन्टल सुन विभागले अघिल्लो मंगलबार सिनामंगल सडकबाट बरामद गरेको थियो । त्यस क्रममा एक जना भन्सार एजेन्ट र अर्का एक ट्याक्सी चालकलाई नियन्त्रणमा लिइएको थियो । अनुसन्धानमा हालसम्म विमानस्थल भन्सारका अधिकृत, दुई खरिदार, चार जना भन्सारसहित १७ जना पक्राउ परिसकेका छन् । बुधबार मात्रै सुन तस्करीसँग जोडिएका नरेश भनिने नुवाकोटका सुरेन्द्र तामाङ पक्राउ परेका छन् । पक्राउ परेकाहरूलाई ललितपुर प्रहरीका छुट्टाछुट्टै हिरासत कक्षमा राखेर अनुसन्धान गरिँदै छ । व्यापारी अडुकिया गत महिना मात्रै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भारत–दुबई हुँदै हङकङ पुगेका थिए । अनुसन्धानमा संलग्न एक अधिकारीका अनुसार गत जुन २६ मा त्रिभुवन विमानस्थलबाट अडुकिया भारत गएको देखिन्छ । त्यतैबाट दुबई पुगेका उनी हङकङबाट पुनः दुबई हुँदै जुलाई ५ मा त्रिभुवन विमानस्थल आएका थिए । हङकङ र दुबईबाट भित्रिएको तस्करीको सुन यसअघि पनि प्रहरी र भन्सारले पटक–पटक बरामद गर्दै आएको छ । यी मुलुक हुँदै विदेशी मुद्राको पनि तस्करी हुने गरेका तथ्यहरू प्रशस्तै छन् । आठ कार्टुनमा ब्रेक सुको आवरणमा भित्रिएको क्विन्टल सुन असार २९ मा बरामद हुनुअघि पनि दुई महिनाभित्र रेडी ट्रेडकै नाममा हङकङबाट १ हजार ९ सय ९७ केजी सामान (ब्रेक सु, सेभर र मेकानिकल मोटर) भित्रिएको थियो, जसमा २ हजार ७ सय थान सेभर (दाह्री काट्ने), एउटा मेकानिकल मोटर र १ हजार १ सय ८० थान ब्रेक सु थिए । सेभर चीनको दोङगोन सुतु ट्रान्सपोर्टेसन कम्पनीले, मेकानिकल मोटर ताइवानको तालमड कम्पनीले र चीनको जियाङनेन फेङटोङ ट्रान्सपोर्टेसन कम्पनीले ब्रेक सु पठाएको थियो । रेडी ट्रेडलाई सामान पठाउने कम्पनी पनि फर्जी रहेको आशंका छ । यसरी भित्रिएको केही सामान चिनियाँ र भारतीय गिरोह बस्दै आएको घरबाट बरामद हुनु र रेडी ट्रेड अवैध धन्दा चलाउनकै लागि खोलिएको देखिनुले सुन तस्करी संगठित र योजनाबद्ध रूपमा भइरहेको सम्बद्ध अधिकारीको भनाइ छ । रेडी ट्रेड दोलखाका सामान्य आयआर्जन भएका व्यक्तिका नाममा दर्ता छ । गिरोहले सेटिङमै उनीहरूका नाममा कम्पनी खडा गरेको हुन सक्ने ती अधिकारीले बताए । तस्करीमा विमानस्थल भन्सारकै अधिकृत र जाँचकी तथा एक्सरेमा बस्ने प्राविधिकको भूमिका झनै शंकास्पद देखिएको छ । ब्रेक सुको कार्टुन एक्सरेमा राख्दा कैफियत देखिए पनि कर्मचारीले गिरोहको योजनाअनुसार नै छाडिदिएका थिए । त्यही प्रकरणमा अधिकृतसहितका तीन कर्मचारी पक्राउ परिसकेका छन् ।  साभार : इका

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार