१४ पटक काठमाडौं–हङकङ आउजाउ…..

काठमाडौँ — क्विन्टल सुन तस्करी प्रकरणमा मुछिएका व्यापारी राकेशकुमार अडुकियाले पछिल्ला नौ महिनामा १४ पटक नेपाल–हङकङ ओहोरदोहोर गरेको भेटिएको छ । सरकारी अभिलेखअनुसार नेपाली नागरिक रहेका उनले भारतीय राहदानीबाट विभिन्न मुलुकको यात्रा गरेका हुन् । उनको यो पटक–पटकको यात्रा सुन तस्करीमै जोडिएको आशंका अनुसन्धानमा संलग्न निकायले गरेका छन् । स्कुटरको ‘ब्रेक सु’ मा लुकाएर हङकङबाट असार २९ मा भित्र्याइएको करिब १ क्विन्टल सुन साउन २ मा बरामद भएपछि अडुकिया ‘सम्पर्कविहीन’ छन् । सुन तस्करीको सञ्जालमा अडुकिया रहेको आशंकामा राजस्व अनुसन्धान विभाग र प्रहरीले अनुसन्धान गर्ने क्रममा उनी २०७९ असोजदेखि २०८० असारसम्ममा त्रिभुवन विमानस्थलबाट १४ पटक हङकङ पुगेको खुलेको हो । यस क्रममा उनले नेपाली राहदानी प्रयोग गरेका थिएनन् । जबकि नेपाली नागरिककै हैसियतमा विगतमा उनी बैंक/वित्तीय संस्था, सेयर कारोबार, अरू व्यापार–व्यवसायमा आबद्ध थिए । अनुसन्धानमा संलग्न अधिकारीका अनुसार अडुकियाले हङकङस्थित भारतीय नियोगबाट २०१० जुलाई ३ मा राहदानी लिएको पाइएको छ । २०१८ जुलाई १० मा राहदानी नवीकरण गर्दा भने अर्कै नम्बर उल्लेख गरिएको छ । नेपाली नागरिकका रूपमा व्यापार–व्यवसाय गरिरहेका अडुकियाले कसरी भारतीय राहदानी लिए भन्ने विषय पनि अनुसन्धानका क्रममा रहेको एक प्रहरी अधिकारीले जानकारी दिए । अध्यागमनको अभिलेखअनुसार अडुकिया पछिल्लो पटक जुलाई ५ (असार २०) मा हङकङबाट दुबई हुँदै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आएका थिए । त्यसको ९ दिनपछि करिब १ क्विन्टल सुन हङकङबाट भित्रिएको थियो । अडुकिया त्रिभुवन विमानस्थलबाट जुन २६ मा दिल्ली हुँदै दुबईबाट हङकङ पुगेको देखिन्छ । त्यसअघि मे २६ मा काठमाडौंबाट हङकङ पुगेका उनी ४ दिनपछि मे ३० मा हङकङबाट बैंकक हुँदै काठमाडौं आएका थिए । यस्तै, अप्रिल १३ मा काठमाडौंबाट दिल्ली पुगेका उनी उतैबाट हङकङ–बैंकक हुँदै काठमाडौं आएका थिए । जनवरी १५ मा काठमाडौंबाट हङकङ पुगेका उनी एक साता बसेर जनवरी २२ मा काठमाडौं फर्किएका थिए । अडुकिया डिसेम्बर २२ मा काठमाडौंबाट दिल्ली पुगेका बेला तीन दिनपछि नै हङकङबाट दुबई हुँदै काठमाडौं आएका थिए । उनी सन् २०२२ नोभेम्बर १९ मा काठमाडौंबाट हङकङ गएर नोभेम्बर २५ मा फर्किएका थिए । त्यसअघि अक्टोबर १ मा काठमाडौंबाट हङकङ गएर उनी अक्टोबर ८ मा आएका थिए । अध्यागमनको अभिलेखअनुसार त्यसअघि २०७७ पुसदेखि ०७९ असोज (२०२२ अक्टोबरअघि) सम्ममा अडुकियाले काठमाडौं–हङकङ २२ पटक ओहोरदोहोर गरेको देखिन्छ ।  साभार : इका

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार