सुन तस्करी छानबिनका लागि सरकारलाई लेखा समितिको ध्यानाकर्षण…..

काठमाडौँ — प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले क्विन्टल सुन तस्करीका सम्बन्धमा छानबिनका लागि उच्चस्तरीय समिति गठन गर्न सरकारको ध्यानाकर्षण गराएको छ । समितिको सभापतित्व गरिरहेका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सारबाट बाहिरिएको सुन तस्करीको छानबिनका लागि उच्चस्तरीय समिति गठन गर्न सरकारको ध्यानाकर्षण गराउने निर्णय भएको जानकारी दिए । सार्वजनिक लेखा समितिको आइतबारको बैठकमा सुन तस्करीसँग राजस्वको विषय जोडिने भएको र त्यो विषय समितिको क्षेत्राधिकारमा पर्ने भन्दै सरकारको ध्यानाकर्षण गराउने निर्णय भएको केसीले बताए । एमालेका सांसद ऋषिकेश पोखरेलले भने सरकारलाई सुन तस्करीबारे उच्चस्तरीय छानबिन समिति गठन गर्नका लागि निर्देशन दिनुपर्ने बताए । सभापतित्व गरिरहेका केसीले भने संसद्‌मा उक्त विषय उठेको र निष्कर्षमा संसद् नपुगेकाले ध्यानाकर्षण गराउनुपर्ने बताए । समितिको निर्णय छ, ‘त्रिभुवन विमानस्थलबाट ठूलो परिमाणमा गैरकानुनी रुपमा भित्रिएको सुनको छानबिन गर्न/गराउन उच्चस्तरीय छानबिन समिति गठन गर्न सरकारको गम्भीरतापूर्वक ध्यानाकर्षण गराउँछ । समितिको बैठकले आफ्नो आन्तरिक कार्यविधि पारित गरेको छ । समिति सभापति अविलम्ब चयन गर्नका लागि सम्बन्धित पक्षलाई ध्यानाकर्षण गराउने निर्णय पनि समितिले गरेको छ । त्यस्तै प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट क्विन्टल सुन तस्करीबारे छानबिनका लागि उच्चस्तरीय समिति गठन गर्नुपर्ने माग गरेको छ । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री प्रकाशशरण महतमाथि नै छानबिन गर्नुपर्ने भएकाले उच्चस्तरीय समिति गठन गर्नुपर्ने एमालेका सांसदहरूको माग छ । एमाले सचिवसमेत रहेका सांसद याेगेश भट्टराईले गृहमन्त्री र अर्थमन्त्रीमाथि पनि छानबिन गर्न प्रहरीले नसक्ने भएकाले उच्चस्तरीय समिति गठन गर्नुपर्ने बताए । सत्तारूढ दलका नेता सुन तस्करीमा संलग्न रहेको आरोप लगाउँदै भट्टराईले सरकारलाई ध्यानाकर्षण पत्र लेख्नुपर्ने बताए । प्रहरीले गृहमन्त्रीमाथि छानबिन गर्न सक्दैन । फाइल उहाँको टेबुलमा छ, सरकारमै सहभागी दलको ठूलो नेता तानिएका छन् । तर, सरकार छानबिन गर्न चाहँदैन,’ उनले भने, ‘भन्सारका गडबडीबारे छानबिन गर्नुपर्नेछ, त्यहीँ अर्थमन्त्री बसेर छानबिन हुन्छ ? एमालेकै सांसद ऋषिकेश पाेखरलेलले पनि सुन प्रकरणकाे छानबिन गर्न उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्ने बताए । ‘उच्चस्तरीय छानबिन समिति नै गठन हुनुपर्छ । अनि मात्रै सत्यतथ्य बाहिर आउँछ । आजै सरकारलाई निर्देशन होस्,’ उनलेे भने । कांग्रेस सांसद तेजुलाल चाैधरीले पनि सुन तस्करी प्रकरणमा समितिले छानबिन गर्नुपर्ने बताए । सत्तारूढ दल जसपाका सांसद प्रदीप यादवले लेखा समितिले उपसमिति गठन गरेर छानबिन हुनुपर्ने बताए । ‘सार्वजनिक लेखा समितिले छानबिन गर्नसक्छ कि सक्दैन ? सार्वजनिक लेखा समितिले उपसमिति बनाएर छानबिन गराेस् । कांग्रेस सांसद रामकृष्ण यादवले पनि सार्वजनिक लेखा समितिमा गृहमन्त्री र अर्थमन्त्रीलाई बाेलाएर जानकारी लिनुपर्ने बताएका छन् । भन्सार प्रमुखलाई पनि समितिमा बाेलाएर सुन तस्करीबारे प्रष्टीकरण लिनुपर्ने धारणा राखे । राजस्व अनुसन्धान विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तस्कर गरी ल्याएकाे क्विन्टल सुन बरामद गरेको थियाे । ठूलो परिमाणमा तस्करीकाे सुन बरामद भएपछि प्रमुख प्रतिपक्षी दल एमालेले गृहमन्त्री श्रेष्ठको राजीनामा माग्दै संसद् अवरुद्ध गरेको थियाे ।  साभार : इका

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार