बाढीपहिरोले ४ को मृत्यु, ७ बेपत्ता…..

काठमाडौँ — सोमबारदेखिको भारी वर्षासँगै आएको बाढी र पहिरोबाट सर्लाही, धनुषा र मकवानपुरमा गरी ४ जनाको मृत्यु भएको छ । ७ जना बेपत्ता छन् । तराईमा बाढी र पहाडमा पहिरोले धनजनको क्षति भएको छ । कैलालीमा ५ सय परिवार डुबानमा परेका छन् । भीमदत्त राजमार्गको दुई सय मिटर सडक भासिँदा सुदूरपश्चिमका ७ पहाडी जिल्लाबाट तराईसँगको यातायात ठप्प भएको छ । सर्लाहीस्थित वाग्मती र बाँके नदीमा आएको बाढीले बगाउँदा दुई जनाको र धनुषास्थित बसही खोलामा डुबेर एकको मृत्यु भएको हो । कमला नदीमा आएको बाढीमा दाउरा टिप्न गएका श्रीमान्–श्रीमती अझै बेपत्ता छन् । वाग्मती नदीमा फसेका दुई जनाको उद्घार गरिएको छ । मंगलबार बिहान खेतमा काम सकेर फर्किरहेका रौतहट गढीमाई नगरपालिका–२ समनपुरका ६५ वर्षीय सहिद रहिम भाटको सर्लाही–रौतहट सीमा भएर बग्ने वाग्मती नदीको समनपुर घाटमा पुग्दा बगेर मृत्यु भएको छ । यस्तै, सर्लाही–महोत्तरी सीमाको बाँके खोलाले बगाउँदा हरिपुर्वा नगरपालिका–७ बसन्तपुरका ६० वर्षीय भोला चौधरीको मृत्यु भएको हो । सोमबार राति घरपरिवारबाट सम्पर्कविहीन भएका चौधरीको शव मंगलबार खोलामा डुबेको अवस्थामा फेला परेको थियो । धनुषाको बसही खोलाको बाढीले मिथिला नगरपालिका–१ आनन्दपुरका १६ वर्षीय अजय यादवको मृत्यु भएको छ । उनलाई उद्धार गरी अस्पताल लैजाने क्रममा मृत्यु भएको प्रहरी निरीक्षक विक्रम साहले बताए । कमला नदीमा बाढीले बगाएर ल्याएको काठ संकलन गर्ने क्रममा कमला ब्यारेज नजिकबाट गणेशमान चारनाथ नगरपालिका–७ का ३५ वर्षीय साजन परियार र उनकी श्रीमती ३० वर्षीया माया परियार बेपत्ता भएका छन् । मंगलबार अपराह्नसम्म वर्षा नरोकिँदा मधेसका अधिकांश नदी–खोलाको बहाव खतराको सतह पार गरेको हो । धनकौल गाउँपालिका–१ स्थित वाग्मती नदीको बाढीले तटबन्ध पार गरेर एकादशी खोलामा मिसिएपछि गाईभैंसी चराउन र खेतबारी गएका बेला फसेका ६० जनाको साँझ उद्धार गरिएको छ । उनीहरूमध्ये २० जनालाई सर्लाहीतर्फ र ४० जनालाई रौतहटतर्फ लगेर सुरक्षित स्थानमा राखिएको प्रहरी उपरीक्षक नरेशराज सुवेदीले बताए । यस्तै पूर्वतर्फबाट एकादशी खोला र पश्चिमबाट वाग्मतीको बाढी धनकौल–१ ढाप टोलमा पस्दा सुरक्षित हुन बाँधमा उक्लिएको शंकर महतोले बताए । हामी उभिएका भन्दा दक्षिणतिर तटबन्ध पार गरेर बाढी बगिरहेको छ, अपराह्नबाट वर्षा रोकिए पनि जलस्तर घटेको छै,’ उनले भने, ‘पानीको सतह नघटे हाम्रो ज्यान खतरामा पर्छ ।’ वाग्मतीको पानी तटबन्ध माथिबाट बग्दा बरहथवा नगरपालिकाका–१, २, ३, ४ र १० वडामा बाढी पसेको छ । प्रजिअ इन्द्रदेव यादवले बाढीमा फसेकाको उद्घारका लागि सुरक्षाकर्मी परिचालन गरिएको बताए । साभार : इका

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार