हेटौँडालाई काठमाडौँसम्म जोड्ने मार्गहरू पहिरोको उच्च जोखिममा…..

मकवानपुर – हेटौँडालाई काठमाडौँसम्म जोड्ने मार्गहरू पहिरोको उच्च जोखिममा रहेका छन् । विशेष गरी हेटौँडा हुँदै काठमाडौँ जोड्ने छोटो दुरीको मार्गहरू पहिरोको उच्च जोखिममा रहेका छन् भने सामान्य वर्षा हुँदासमेत पहिरो खसेर पटक–पटक सडक बन्द हुँदै आएको छ । हेटौँडाबाट काठमाडौँ जोड्ने मुख्य ३ मार्गहरूमा पहिरोको उच्च जोखिम रहेको छ । हेटौँडा कुलेखानी फाखेल, हेटौँडा कुलेखानी सिस्नेरी छैमले र कान्ति लोकपथ अन्तर्गतको हेटौँडा ठिंगन सातदोबाटो सडक पहिरोको उच्च जोखिममा रहेको छ । मनसुन सक्रिय बने पश्चात् सो सडकहरूमा पटक पटक पहिरो खसेर यातायात सेवा अवरुद्ध हुने गरेको छ । प्रहरीका अनुसार पहिरोका कारण पछिल्लो साउन महिनाको २७ दिनमा मात्र भैँसे भीमफेदी कुलेखानी सडक ३ पटक बन्द भएको छ भने कुलेखानी सिस्नेरी छैमले सडक २ पटक त्रिभुवन राजपथ ३ पटक र कान्ति लोकपथ १८ पटक बन्द भएको छ । सो सडकमा खसका सामान्य प्रकृतिका पहिरोलाई प्रहरीले तथ्याङ्कमा उल्लेख गरिएको छैन । हेटौँडा काठमाडौँ जोड्ने छोटो दुरीको हेटौँडा कुलेखानी फाखेल, हेटौँडा कुलेखानी सिस्नेरी छैमले सडकमा मकवानपुर तर्फको खण्डमा बढी मात्रामा पहिरो खस्ने गरेको छ । काठमाडौँ तर्फ भने अत्यन्त न्यून दरमा पहिरो खस्ने गरेको छ । सो सडक खण्डको इन्द्रसरोवर गाउँपालिका र भीमफेदी गाउँपालिकामा बढी पहिरो खस्ने गरेको छ । उक्त सडकहरू विगत २ वर्षदेखि स्तरोन्नति कार्य भइरहेको र सो कार्यका लागि पहरा कटान लगायतका काम गरिएकाले बारम्बार पहिरो खस्ने गरेको छ । विगत २ वर्षदेखि कुलेखानी सिस्नेरी सडकको २ खण्डमा स्तरोन्नति कार्य भइरहेको छ । स्तरोन्नतिका लागि सडकको भित्ता कटान गरी सडक फराकिलो बनाउँदा सो सडकमा पहिरो खस्ने गरेको छ । कुलेखानी फाखेल सडक पनि गत एक वर्षदेखि स्तरोन्नतिका चरणमा रहेको छ भने भैँसे भिमफेदी खण्डको स्तरोन्नति कार्य २ वर्षदेखि जारी छ । सो खण्डमा बढी मात्रामा पहिरो खस्ने गरेको छ । यता पुरानो सडक खण्ड त्रिभुवन राजपथमा पनि पहिरोले सडक अवरुद्ध गर्ने गरेको छ । सो सडक खण्डको भीमफेदी गाउँपालिका–९ मा पहिरो खस्ने गरेको छ । सो सडकको केही स्थानमा ढंगाहरु खसेर सडक बन्द हुने गरेको छ । उता कान्ति लोकपथ भने सबैभन्दा बढी पहिरो खस्ने गरेको छ । सो सडकको मकवानपुर खण्ड भन्दा ललितपुर खण्डमा बढी पहिरो खस्ने गरेको छ । करिब ९४ किलोमिटर लम्बाइको उक्त सडकमा ललितपुरको बागमती गाउँपालिका खण्डमा बढी पहिरो खस्ने गरेको छ भने मकवानपुर तर्फ पनि केही स्थानमा पहिरो खस्ने गरेको छ । साउन महिनामा मात्रा सो सडकमा खसेको पहिरोमध्ये मकवानपुर तर्फ ३ र ललितपुर तर्फ १५ पटक पहिरो खसेको छ । सो सडक खण्डमा खसेको उक्त पहिरोका कारण ४ घण्टासम्म यातायात सेवा अवरुद्ध भएको भट्टेडाँडा प्रहरी चौकीका इन्चार्ज एवम् वरिष्ठ प्रहरी नायव निरीक्षक माधव सिलवालले बताए ।  साभार : रापा

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार