समयमै उपचार नपाएर मृत्यु भएपछि सुधार गृहको किशोरहरू आक्रोशित…..

भक्तपुर — बाल सुधार गृह प्रशासनले एक बालकको उपचारमा बेवास्ता गरेकै कारण मृत्यु भएको भन्दै आक्रोशित सानोठिमीस्थित सुधार गृहका बालक र किशोर तोडफोडमा उत्रिएका छन् । ज्वरो र पिलो आएर थलिएका रामेछापका १९ वर्षीय किशोरलाई बेलैमा उपचार नगराउँदा मृत्यु भएको उनीहरूको आरोप छ । ‘बेलैमा उपचार गरिदिएको भए उनी बाँच्थे,’ सुधार गृहबाट निस्केर आफूले भोगेका समस्या सुनाउन थापाथलीस्थित कान्तिपुर कार्यालय आएका एक युवाले भने, ‘सुधार गृह प्रशासनले चिनेकालाई बेलैमा उपचार गराउँछ, औषधि दिन्छ, अरूलाई वास्तै गर्दैन । यस्तै समस्या अरूले भोग्न नपरोस् भनेर हामीले आन्दोलन गरेका हौं ।’ सुधार गृहको खाना पनि राम्रो नभएको उनले बताए । ‘तरकारी जे दिए पनि झोल मात्रै हुन्छ । सरकारले उपलब्ध गराएको बजेटले पनि राम्रो खाना खुवाउँदैनन् । सुधार गृहबाट भागेका २ सय २१ (बालक र किशोर) मध्ये २ सय ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । १७ जना फरार छन् । बाल सुधार गृहमा ४३ जना किशोरी र बालिकासहित २ सय ९७ जनालाई राखिएको थियो । तीमध्ये २ सय २१ जना सुधार गृहको गेटमा लगाएको ताला फुटाएर भागेका हुन् । सुरक्षामा खटिएका प्रहरीमाथि नै आक्रमण गर्दै उनीहरूले गेट फुटाएका थिए । भक्तपुरका प्रहरी प्रमुख प्रजित केसीले सुधार गृहले उपलब्ध गराउने सुविधामा चित्त नबुझेर विद्रोह गर्दै २ सय २१ जना सुधार गृहबाट भागेको बताए । प्रहरीले १ सय ९४ लाई फरार भएको ४ घण्टाभित्रै नियन्त्रणमा लिएको हो । एक किशोरको मृत्युको विषयलाई लिएर सोमबार सुधार गृह पछाडिको गेटमा आफन्तले विरोध गरेका थिए । विरोधपछि ठिमी वृत्तका प्रहरी नायब उपरीक्षकको नेतृत्वमा प्रहरी टोली परिचालन गरिएको थियो । सशस्त्र प्रहरीको टोली पनि सुधार गृहको गेटबाहिर तैनाथ थियो । मृतक किशोरका आफन्तले प्रशासनविरुद्ध नाराबाजी गरिरहेका बेला भित्र पनि दुई समूहबीच झडप भएको थियो । विरोध गर्ने समूह धेरै भएपछि प्रहरीले भीड नियन्त्रण गर्न सकेन । १०/१२ जना विरोध गर्न हुन्न भन्ने र अरू सबै विद्रोहको पक्षमा भएपछि दुई समूहबीच नै झडप भएको कान्तिपुर कार्यालय आएका ती युवाले बताए । सुरक्षामा खटिएका प्रहरीलाई लाठी, भाला, कुर्सी, रड, इँटा जे भेटिन्छ त्यसैले हानेपछि प्रहरी भीड नियन्त्रण गर्न अघि बढेको हो,’ प्रहरी प्रमुख केसीले भने, ‘तर उनीहरू गेट फुटाएर भागेका हुन् ।’ डेक्स, बेन्च, टीभी सेटले समेत उनीहरूले आक्रमण गरेको उनको भनाइ छ । प्रहरीका अनुसार सुधार गृहका युवाले कार्यालयको १ नं. को पोस्टमा रहेको कुर्सी, टेबल, सिसाको बत्ती फुटाएका छन् । टीभी, युसेफ अफिसको झ्यालको सिसा, लाइट, सीसी क्यामेरामा क्षति पुर्‍याएका छन् । युवाको समूह हातमा लाठी, रड लिएर सानोठिमीको मूल सडक हुँदै पेप्सीकोलातर्फ गएका थिए । मूल सडकमा उनीहरूले सवारीसमेत चल्न दिएनन् । उनीहरूलाई नियन्त्रणमा लिन काठमाडौं उपत्यका कार्यालय रानीपोखरी र सशस्त्र प्रहरी गण दुवाकोटबाट थप टोली परिचालन गरी मध्यपुर थिमि क्षेत्रमा उल्लेख्य मात्रामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।  साभार : इका

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार