दीपेश र राहुलसँग सम्बन्ध बनाएर भरिया तस्करलाई नागरिकता…..

काठमाडौँ — पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन र पूर्वसभामुख कृष्णबहादुर महराका छोराहरूसँग ‘निकट सम्बन्ध’ बनाएर संगठित गिरोहले सुन तस्करी गर्ने गरेको देखिएको छ । चीन, हङकङ, दुबईलगायत मुलुकबाट तस्करीको सुन भित्र्याउने चिनियाँ गिरोहले पूर्वउपराष्ट्रपति पुनका छोरा दीपेश र पूर्वसभामुख महराका छोरा राहुलसँग सम्बन्ध विस्तार गर्दै तस्करी गरेको खुलेको हो । उनीहरूसँग सम्बन्ध रहेका तस्करले भरिया बनाएका विदेशीलाई काभ्रे र काठमाडौंबाट नेपाली नागरिकता र राहदानीसमेत बनाइदिएको भेटिएको छ । ‘नेपाली नागरिकता र राहदानी बनाएको हुन सक्ने अन्य धेरै विदेशी हुन सक्छन्, यसबारे अनुसन्धान भइरहेको छ,’ प्रहरी प्रधान कार्यालय स्रोतको भनाइ छ, ‘दीपेश र राहुलसँग चिनियाँ सुन तस्कर दावाजिन र तिब्बती मूलका बेल्जियम नागरिक दावा छिरिङबीच सम्बन्ध देखिन्छ । यी दुई तस्करले भरियालाई नेपाली नागरिकता र राहदानी बनाइदिएको भनेर बयानका क्रममा खुलेको छ । दावाजिन र दावा छिरिङ एउटै नेटवर्कका तस्कर हुन् । तर नेपालमा फरक–फरक सुन तस्करीको घटनामा संलग्न रहेको अनुसन्धानका क्रममा खुलेको छ । ‘उनीहरूमाथि छुट्टाछुट्टै रूपमै अनुसन्धान भइरहेको छ,’ अनुसन्धानरत सीआईबीका एक अधिकारीले भने, ‘तथ्य र प्रमाणले दुवैको नेटवर्क एउटै रहेको देखाउँछ ।’ दावाजिन विद्युतीय चुरोट (भेप) र दावा छिरिङ ब्रेक सुलगायतका उपकरणहरूमा सुन लुकाएर ल्याएको फरक–फरक कसुरमा संलग्न रहेको खुलेको छ । दावाजिन फरार छन्, दावा छिरिङ ब्रेक सुको सुन तस्करी प्रकरणमा पक्राउ परिसकेका छन् । दुवैको नेटवर्क केलाउँदा पूर्वसभामुख र पूर्वउपराष्ट्रपतिका छोरासँग सम्बन्ध रहेको अनुसन्धानले देखाएको स्रोतको दाबी छ । पछिल्लो पटक २०७९ पुस १० मा विद्युतीय चुरोटमा ९ केजी सुन ल्याउने नाइके दावाजिन हुन् । उनीसँग पूर्वसभामुख महरा र उनका छोरा राहुलसँग सम्बन्ध रहेको पुष्टि भइसकेको छ । त्यही प्रकरणमा राहुललाई सीआईबीले भदौ १३ मा पक्राउ गरेको थियो । सीआईबी स्रोतका अनुसार यो प्रकरणमा पूर्वसभामुख महरा पनि निगरानीमा छन् । सुन तस्कर दावा छिरिङसँग सम्बन्ध रहेको पाइएपछि सीआईबीले सोमबार पूर्वउपराष्ट्रपति पुनका छोरा दीपेशसँग बयान लिएको छ । दावा गत साउन २ मा सिनामंगलबाट बरामद भएको करिब ६१ केजी सुन प्रकरणका नाइके हुन् । उनी साउन १४ मा ठमेलबाट पक्राउ परेका थिए ।उनकी पत्नी अमला रोकामगर त्यसयता फरार छिन् । फरार हुनुअघिसम्म अमला उपराष्ट्रपति पुनकै घरमा रहेको स्रोत बताउँछ । ६१ केजी प्रकरणमै सीआईबीले दीपेशसँग सोमबार ‘बयान कागज’ गराएर बोलाएको बेला उपस्थित हुने गरी छाडेको छ । दावा र दीपेशको बाक्लो सम्पर्क र उठबस भएको अनुसन्धानले पुष्टि गरेको र त्यही क्रममा बोलाएर कागज गराइएको सीआईबी स्रोतको भनाइ छ । स्रोतका अनुसार दावाले दीपेशलाई ‘दिप्स सालो’ भनेर मोबाइल नम्बर सेभ गरेको पनि भेटिएको छ । दावालाई दीपेशले भेटमा भिनाजु भनेर सम्बोधन गर्ने गरेको पाइएको छ । पूर्वउपराष्ट्रपति पुनसँग पनि दावाको भेटघाट/सम्बन्ध रहेको स्रोत बताउँछ । दावाले भनेजस्तो उनको भेट सामान्य मात्रै नभएको प्रहरी अनुसन्धानबाट खुलेका तथ्य र प्रमाणले नै स्पष्ट हुन्छ । पुन उपराष्ट्रपति भएकै बखत दावासहित पुनका छोरा दीपेश २०७६ माघ १ मा हेलिकोप्टरमार्फत गोसाइँकुण्ड घुम्न गएका थिए । साभार : इका

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार