एकै गिरोहबाट ३६३ केजी सुन तस्करी…..

काठमाडौँ — माओवादीका केही नेता र परिवारका सदस्यसँग सम्बन्ध बनाई चिनियाँ तस्करले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ११ महिनामा साढे ३ सय किलोभन्दा बढी सुन भन्सारबाट फुत्काएको पुष्टि भएको छ । तस्करीको सुन विमानस्थल भन्सारका कर्मचारी र भन्सार एजेन्टकै सहयोगमा गिरोहले गन्तव्यसम्म पुर्‍याएको प्रहरी अनुसन्धानबाट खुलेको हो । अनुसन्धानमा तानिएकाहरूले दिएको बयानअनुसार सुन तस्करको सम्बन्ध माओवादी पृष्ठभूमिका पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन, पूर्वसभामुख कृष्णबहादुर महरा र पूर्वमन्त्री वर्षमान पुनको परिवारसँग निकट रहेको खुलेको छ । त्यसकै आडमा विभिन्न तहमा आपराधिक सञ्जाल बनाएर सन् २०२२ को सेप्टेम्बरदेखि २०२३ को जुलाईसम्म हङकङ र दुबईबाट ३ सय ६२ किलो ७ सय ७८ ग्राम सुन हङकङ र दुबईबाट भित्र्याएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को अनुसन्धानबाट खुलेको हो । पूर्वउपराष्ट्रपति पुन तत्कालीन माओवादी लडाकु कमान्डर हुन् भने महरा र वर्षमान पुन माओवादीमा क्रमशः उपाध्यक्ष र उपमहासचिव छन् । हङकङबाट ब्रेक–सुको आवरणमा कार्गो गरी ल्याइएका वस्तु त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार जाँच पार गरेर सिनामंगल सडकमा पुगिसकेको अवस्थामा राजस्व अनुसन्धान विभाग र सशस्त्र प्रहरीको टोलीले गत साउन २ मा बरामद गरेको थियो । तस्करी गरेको सुन काठमाडौंमा व्यवस्थापन जिम्मा पाएका तिब्बती मूलका बेल्जियन नागरिक दावा छिरिङले माओवादी नेता तथा परिवारका सदस्यसँगको पहुँच प्रयोग गरेको देखिन्छ । त्यही पहुँच प्रयोग गरी सुन तस्करीमा संलग्न विदेशीलाई नेपाली नागरिकता तथा राहदानीसमेत बनाइदिएको भेटिएको छ । दावाले माओवादी कार्यकर्ता रोल्पाकी अमला रोकासँग विवाह गरेर अपराधको सञ्जाल फैलाउन सफल भएको अनुसन्धानले देखाएको छ । त्यस्तै विद्युतीय चुरोट (भेप) मा लुकाएर ल्याएको सुनका तस्कर दावाजिन वाङको माओवादी नेता महरा तथा उनका दुई छोरा राहुल र निर्मलसँग निकट सम्बन्ध रहेको पनि खुलेको छ । भेपको अनुसन्धान अझै जारी छ । ब्रेक–सुभित्र लुकाएर तस्करले करिब ६१ केजी सुन प्रकरणमा भने बुधबार ४१ जनालाई प्रतिवादी बनाएर मुद्दा चलाउन सीआईबीले सरकारी वकिल कार्यालयमा रायसहितको प्रतिवेदन बुझाएको छ । ब्रेक–सु प्रकरणमा सुरुमा १९ दिनसम्म विभाग र त्यसपछि संगठित अपराधको कसुरमा सीआईबीले अनुसन्धान गरेको थियो । तस्करीका नाइके किटान गरिएका तिब्बती मूलका बेल्जियन नागरिकद्वय दावा छिरिङ र एलेक्स भनिने याओ फुचेन तथा चिनियाँ नागरिक दावाजिन वाङसँग सम्पर्क/सम्बन्ध देखिएपछि सीआईबीले पूर्वउपराष्ट्रपति पुनका छोरा दीपेश र पूर्वसभामुख महराका छोरा राहुलसँग सोधपुछ र बयान लिएको थियो । दुवैले दावा र वाङसँग सम्पर्क रहेको तर सुन तस्करीमा संलग्नता नरहेको जिकिर गरेका छन् । अनुसन्धानका क्रममा दीपेशसँग सीआईबीले उनले प्रयोग गरिरहेको मोबाइल मागेको थियो । सीआईबी कार्यालयमै गएर कागज गरी ‘म मोबाइल भोलि ल्याएर दिन्छु’ भनेर हिँडेका दीपेश त्यसपछि बोलाउँदा उपस्थित नभएको एक अनुसन्धान अधिकृतको भनाइ छ । ‘हालसम्म मोबाइल पनि उनले दिएका छैनन् । यस्तै पूर्वअर्थमन्त्री तथा माओवादी उपमहासचिव पुनका भाइ प्रनिश चिनियाँ तस्करको समूहले खोलेको कम्पनीमा साझेदार रहेको भेटिएको छ । सीआईबीले सरकारी वकिल कार्यालयमा बुझाएको रायसहितको प्रतिवेदनमा भने उनीहरूलाई प्रतिवादी बनाइएको छैन । माओवादीसँग निकट विवादास्पद व्यापारी भीमकान्त भण्डारीको पनि सुन तस्करसँग सम्पर्क भएको अनुसन्धानले देखाएको छ । तर, आफ्नो सम्पर्क व्यापारिक साझेदार र सहकार्यका लागि भएको जिकिर गरेका छन् । भण्डारी पूर्वनासु हुन् । माओवादीका चार नेता विभिन्न मितिमा मन्त्री हुँदा भण्डारी उनीहरूकै सचिवालयमा बसेर काम गरेका थिए । सुन तस्करसँग सम्पर्कमा देखिएका अध्यागमन विभागका निवर्तमान महानिर्देशक झलकराम अधिकारीले पनि सम्बन्ध स्वीकार गरेका छन् । उनले तस्करसँग सुनको विषयमा कुरा नभएको जिकिर गरेका छन् । यसरी पटक–पटक राज्य सञ्चालनमा सामेल भइसकेका माओवादी शीर्ष नेताहरू र उनीहरूसँग निकट व्यापारी र कर्मचारीलाई प्रभावमा पारेर गिरोहले तस्करीमा सञ्जाल प्रयोग गरेको अनुसन्धानले देखाएको हो । साभार : इका

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार