बालबालिकालाई अपराध सिकाउने अखडा बन्दै सुधारगृह…..

काठमाडौँ — बाल बिज्याइँकर्ताको आचरणमा सुधार गर्दै असल नागरिक बनाउने उद्देश्यले बाल सुधारगृह सञ्चालनमा आए पनि यस्ता गृह जेलजस्तै अव्यवस्थित, भद्रगोल र हिंसा सिकाउने कारखानामा परिणत बन्दै गएका छन् । २३ दिनको फरकमा भक्तपुर र वीरगन्जस्थित बाल सुधारगृहमा भएका उस्तै प्रकृतिका घटनाले यही दृश्य देखाएको छ । झडप र हिंसाका यी दुवै घटनाले नेपालका बाल सुधारगृहभित्र चरम शोषण, बालअधिकारको उल्लंघन र हिंसाको पुनर्उत्पादन भइरहेको त छैन भन्ने चिन्ता बढाएको छ । देशैभरिका ८ बाल सुधारगृहमा भएका पछिल्ला घटनाक्रम र त्यहाँभित्रको अवस्थाबारे संकलन गरेको विवरणले सुधारगृहभित्र अमानवीय वातावरणमा बालबालिकालाई राखेको पाइएको छ । भदौ ४ गते भक्तपुरस्थित सुधारगृहमा रहेका एक बालकको मृत्युपछि प्रदर्शन र झडप मात्रै भएन, २ सय २१ जना बाल बिज्याइँकर्ता सुधारगृहको ढोका फोडेर बाहिर निस्किए । धन्न समयमै प्रहरी परिचालन भयो र भागेका सबै जना नियन्त्रणमा आए । यो घटनापछि ५८ जनालाई अन्यत्र स्थानान्तरण गरियो । हाल यहाँ २ सय ५२ जना छन् । यस्तै प्रकृतिको घटना मंगलबार राति साढे ८ बजे वीरगन्ज–४ विर्तास्थित बाल सुधारगृहभित्र दोहोरियो । सुधारगृहमा रहेका दुई समूहबीच भएको झडपमा होल कमान्डर सुरज यादव र कमान्डर ललित भुजेल सख्त घाइते भए भने झडपमा सामेल एउटा समूहले सुधारगृह प्रमुख टीकाकृष्ण काफ्लेलाई रातभर कोठामा थुनेर राख्यो । भदौ ८ गते भक्तपुरस्थित सुधारगृहबाट सरुवा गरेर वीरगन्ज ल्याइएका १८ जना किशोर र पहिलेदेखि नै यहाँ रहेका किशोरबीच मंगलबार झडप भएको थियो । भक्तपुरको घटनापछि सुधारगृह प्रशासनले सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा छानबिन समिति गठन गरेको थियो । समितिको प्रतिवेदनमा सानो उमेरका बालबालिका र १८ वर्ष माथिकालाई समूह नछुट्याई एकै ठाउँमा राखिनु नै विवादको मुख्य कारण भएको उल्लेख छ । किनकि घटना भएका बेला १ सय १० जनाको क्षमता भएको गृहमा २ सय ९८ जनालाई राखिएको थियो । सुधारगृहमा १ सय ३१ जना किशोरकिशोरी १ सय ६७ जना बालबालिकासँगै थिए । घटनापछि भागेर बाहिर निस्केका किशोरहरूले सुधारगृहमा खाना मीठो नभएको, पानी सफा नभएको, औषधि उपचार व्यवस्थित नभएको गुनासो गरेका थिए । सुधारगृहका एक किशोरले कान्तिपुरसँग भने, ‘हामीसँगै रहेका साथीहरूले खाना पकाउने जिम्मेवारी पाएका छन् तर खाना एकदमै नमीठो बनाउँछन् । तरकारी पनि दुई डाडु मात्रै दिन्छन् । शनिबार मासु त खुवाउँछन् तर तीन चोक्टाभन्दा दिँदैनन् ।’ बाल न्याय सम्पादन (कार्यविधि) नियमावली, २०७६ को परिच्छेद–२ को ६ मा बाल सुधारगृहमा स्वच्छ पिउने पानी, पोषणयुक्त खानेकुरालगायतका न्यूनतम सुविधाको व्यवस्था हुनुपर्ने उल्लेख छ । भक्तपुरको सुधारगृहकै जस्तो गुनासो वीरगन्जमा भएको झडपपछि भएको छलफलमा पनि बाल बिज्याइँकर्ताहरूले बताएका थिए । झन्डै १२ कट्ठामा फैलिएको ६० जना राख्ने क्षमता भए पनि यहाँ ९ कोठाभित्र कोचेर १ सय ४९ जनालाई राखिएको छ । उनीहरूले गृह प्रशासनले राति एउटै कोठामा १७/१८ जनालाई कोचेर बाहिरबाट ताला लगाउने र राति आकस्मिक शौचालय जानुपर्ने भए कोठामै शौच गर्नुपर्ने अवस्था रहेको बताएका छन् । उनीहरूले जेठ १५ गते कैदमुक्त भएका पूर्वचौकीदार गुड्डु यादवले गृहमा चरम शोषण गरेकाले उनलाई फिर्ता बोलाएर कारबाहीको दायरामा ल्याउनुपर्ने पनि बताएका थिए । यादव चौकीदार रहेका बेला उनले आफूहरूलाई चरम यातना दिएको र भेट्न आउने आफन्तसँग पैसा असुलेको आरोप लगाएका छन् । यादव भने प्रमुख जिल्ला अधिकारीले गरेको कैद मिनाहा सिफारिसका आधारमा छुटिसकेका छन् ।

मंगलबार राति वीरगन्ज बालगृहभित्र भएको झडप हिंस्रक प्रकृतिको थियो । झडपमा उत्रिएका दुवै समूहले पहिले भित्र र पछि बाहिर निस्केर भौतिक पूर्वाधार तोडफोड गरेका थिए । स्थिति नियन्त्रणमा लिन नेपाल र सशस्त्र प्रहरी परिचालन गर्नुपरेको थियो । झडपपछि बालगृहका १५ जनालाई जिल्ला प्रहरीको महिला बालबालिका सेलको थुनुवा कक्षमा लगेर राखिएको छ । भक्तपुर र वीरगन्जस्थित बाल सुधारगृहकै जस्तो परिस्थिति भैरहवास्थित सिद्धार्थनगर नगरपालिका–७ गार्गीपथमा रहेको बाल सुधारगृहमा बारम्बार निम्तिएको विगत छ । ०७८ चैत ६ मा सुधारगृहका कर्मचारी पीताम्बर न्यौपानेले क्लोज सर्किट क्यामेरा (सीसीटीभी) मा गृहभित्र केही कुरा फ्याँकिएको देखे । उनले पछि थाहा पाए, ती वस्तु गाँजा र लागूऔषध प्रयोगकर्ताले सेवन गर्ने प्रतिबन्धित औषधि थिए । गृहभित्रको अवस्था त्यसपछि पनि सुध्रिएन । २०७९ असार ७ गते गृहमा प्रहरीले छानबिन गर्दा करिब २० ग्राम गाँजा, एक दर्जनभन्दा धेरै मोबाइल, आठ/दस वटा फलामको डन्डा बरामद गरेपछि यहाँ लागूऔषध प्रयोग भइरहेको निष्कर्ष निकाल्यो । घटनापछि गृहले १७ जनालाई स्थानान्तरण गर्न खोजेको थियो । तर, त्यतिबेला पनि विरोधमा उत्रिएकाहरूले हिंसात्मक प्रदर्शन गर्न थालेपछि प्रहरीले बल प्रयोग गर्‍यो । २०७९ असोज ३१ मा भने गृहका ५ किशोर भान्साको डन्डी काटेर भागेका थिए । अहिले पनि यहाँको अवस्था सुध्रिएको छैन । ४५ जना क्षमता रहेको गृहमा १४ देखि २३ वर्षका ८८ जनालाई कोचाकोच राखिएको छ । ‘भौतिक पूर्वाधारको कमीले अवस्था निकै दयनीय छ,’ गृह प्रमुख कल्पना अर्यालले भनिन्, ‘अहिले पनि उनीहरू साँघुरो र बन्द कोठाभित्र कोचाकोच अवस्थामा समय कटाउन बाध्य छन् ।’ २ कट्ठा ६ धुर क्षेत्रफलमा रहेको गृहमा खुला ठाउँ नै छैन । बालबालिकाले पाउनुपर्ने सुविधा नपाएकै कारण कतिपयमा नकारात्मक भाव आइरहेको हुन सक्ने गृह प्रमुख अर्यालले बताइन् । ‘पर्याप्त भौतिक संरचना र पाउनुपर्ने अन्य सुविधा उपलब्ध हुने हो भने यस्तो सोच आउँदैनथ्यो कि ? ।  साभार : इका

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार