सुन तस्कर चिनियाँलाई २ लाखमा नागरिकता…..

काठमाडौँ — सुन तस्करीमा संलग्न चिनियाँलाई दुई लाख रुपैयाँमा नेपाली नागरिकता र राहदानी उपलब्ध गराउने गरेको खुलेको छ । सुन तस्करीको गिरोहले जिल्ला प्रशासन कार्यालयका कर्मचारीलाई हातमा लिएर फर्जी विवरणबाट नागरिकता लिने गरेको पुष्टि भएको हो । सत्तारूढ माओवादीका नेताहरूसँग सम्बन्ध विस्तार गरी दावा छिरिङ र दावाजिन वाङमार्फत चिनियाँ तस्करले फर्जी विवरणका आधारमा प्रतिथान नागरिकता/राहदानी बनाउन उक्त रकम तिर्ने गरेको भेटिएको छ । पैसा तिरेर नागरिकता र राहदानी पाउने विश्वास दिलाएपछि भारतबाट काठमाडौंसम्म आएको हाल प्रहरी नियन्त्रणमा रहेका एलेक्स भनिने याओ फुचेनले बयान दिएका छन् । म भारतबाट नेपालमा बिनाभिसा आएर गैरकानुनी रूपमा बसिरहेको छु, नेपाल आउनुको कारण सुनको कारोबार गरी पैसा कमाउने नै हो,’ बयानमा याओले भनेका छन्, ‘मेरो राहदानी भारतीय अदालतबाट फिर्ता नआएको र नेपालमा रहेका साथी अली भन्ने ली वेन सुङले मैले नेपालमा नेपाली नागरिकता र पासपोर्ट बनाएको छु, तपाईं पनि नेपाल आउनुहोस्, आरएमबी (चिनियाँ मुद्रा) १० हजार (करिब २ लाख रुपैयाँ) तिरेपछि बन्ने रहेछ भनेकाले लुकेर आएको हुँ । हङकङबाट गत असार २९ मा स्कुटरको ब्रेक–सु तथा दुबईबाट २०७९ पुस १० मा विद्युतीय चुरोट (भेप) मा लुकाएर ल्याएको सुन प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले अनुसन्धान गरिरहेको छ । ब्रेक–सुभित्र लुकाएर तिब्बती मूलका बेल्जियन नागरिक दावा छिरिङको योजनामा र भेपमा लुकाएर चिनियाँ नागरिक दावाजिन वाङमार्फत अवैध सुन भित्रिएको थियो । त्यसको अनुसन्धान गर्ने क्रममा ५ विदेशीले नेपाली राहदानी बोकेर हङकङ, चीन र दुबई आउजाउ गरेको भेटेपछि सीआईबीले कहाँबाट नागरिकता जारी भयो भन्नेबारे खोजबिन थालेको थियो । त्यही क्रममा नागरिकता र राहदानी बनाउन तस्कर गिरोहले २ लाख रुपैयाँसम्म बुझाउने गरेको खुलेको हो । गृह मन्त्रालयको छानबिनबाट पनि जिल्ला प्रशासन कार्यालय काभ्रेले दुई चिनियाँ तस्करलाई फर्जी विवरण पेस गरेर नेपाली नागरिकता दिलाएको पुष्टि भइसकेको छ । त्यसअघि थप २ चिनियाँले काभ्रे र एकले काठमाडौंबाट नागरिकता लिएको भेटिएको थियो । सुन तस्करी प्रकरणमा तस्करका नाइके किटान गरिएका एलेक्स भनिने तिब्बती मूलका बेल्जियन नागरिक याओ फुचेनले १० हजार आरएमबीमा नागरिकता र राहदानी बन्छ भनेर साथीले बोलाएपछि आएको बयान दिएका छन् । तर, आफ्नै अर्का चिनियाँ साथीले आफूबाट २ लाख ५० हजार भारतीय रुपैयाँ (४ लाख) रुपैयाँ लिएर तेञ्जिङ सोनाम तामाङको नामबाट नागरिकता र राहदानी बनाएको उल्लेख गरेका छन् । भारतमा सुन तस्करीमै पक्राउ परेपछि आफू ५ लाख धरौटीमा छुटेको तर राहदानी फिर्ता नआएपछि भागेर नेपाल आई यहींको राहदानी बनाएको आयोको बयानमा उल्लेख छ । भारतमा एलेक्सका नाममा आधार कार्ड बनाएर लुकेको पनि उनले खुलाएका छन् । साभार : इका

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार