चिनियाँ आपराधिक समूहको पासोमा म्यानमारमा बन्धक बन्दै नेपाली…..

काठमाडौँ — गत वर्ष भदौ ६ गते म्यानमारबाट काठमाडौं ओर्लिंदा सनसाइन (परिवर्तित नाम) लाई लागेको थियो, अब त पक्कै बाँच्छु । सनसाइनको जीवनमा कस्तो घटना भयो र परिबन्दको डोरी कसरी कसिँदै गयो, त्यो बुझ्न उनको कथा काफी छ । सनसाइनको कथामा कसरी पढालेखा र कम्प्युटरको ज्ञान भएका नेपाली युवा चिनियाँ आपराधिक समूहको प्रलोभनमा परेर साइबर दास बनिरहेका छन् र उनीहरू कसरी जोखिमपूर्ण अपराधमा प्रयोग भइरहेका छन् भनेर बुझ्न सकिन्छ । झन्डै तीन वर्षअघि चिनियाँ भाषाको दोभासे काम गर्ने एक जना दिदी पर्नेले चिनियाँ नागरिक जोनसन भन्ने लियाङ जुनसँग काठमाडौंमा उनको भेट गराइदिएकी थिइन् । ब्युटिपार्लरको सीप भएकी उनलाई त्यही भेटमा जोनसनले मासिक १५ हजार तलबमा मसाज र नेल आर्ट गर्ने कामको प्रस्ताव गरेका थिए । यही भेटपछि उनले जोनसनको लैनचौरस्थित ब्युटिपार्लरमा काम थालेकी थिइन् । एक दिन जोनसनले सबै कर्मचारीलाई राखेर सुनाए, ‘तपाईंहरूमध्ये कोही थाइल्यान्डमा कम्प्युटर टाइपिङको काममा जान इच्छुक हुनुहुन्छ भने मासिक एक लाख पचास हजारभन्दा धेरै तलब हुन्छ र जाँदा एक लाख खर्च लाग्छ । नाबालक सन्तान हुर्काइरहेकाले उनले सुरुमा बहिनीलाई उक्त काममा पठाउने चाँजो मिलाइन् । एक लाख तिरेर बहिनी थाइल्यान्ड पुगेको केही समयपछि अर्थात् २०७९ साउन ९ मा उसैगरी एक लाख रुपैयाँ बुझाएर पर्यटक भिसामा उनी पनि बैंकक पुगिन् । सनसाइनका अनुसार त्यतिबेला उनीसहित ११ नेपालीलाई चिनियाँ एजेन्टले बैंककबाट अवैध रूपमा म्यानमारसम्म पुर्‍याएका थिए । सनसाइनले काम गर्ने ठाउँ बस्तीभन्दा पर मात्रै होइन, चौबीसै घण्टा कडा सुरक्षा घेराभित्र थियो । त्यहाँ उनको काम पूरै निगरानीमा हुन्थ्यो र दैनिक १६ देखि १८ घण्टासम्म लगातार काम गर्नुपर्थ्यो । एजेन्टले उनलाई सनसाइन नाम राखेर फेसबुक, ह्वाट्सएप, ट्वीटर, इन्स्टाग्राम र कैयन् डेटिङ एपको खाता खोलिदिएका थिए । भर्चुअल प्राइभेट नेटवर्क (भीपीएन) प्रयोग गरेर उनीहरूले सनसाइनले फिलिपिन्सबाट अनलाइन चलाइरहेको बनाइदिएका थिए । एजेन्टले उनलाई अमेरिकी पुरुषहरूसँग मायाप्रेमका कुरा गर्दै सम्बन्ध विस्तार गर्ने र व्यापार वा क्रिप्टोकरेन्सीमा लगानी गर्ने विषयमा कुरा गरेर उनीहरूबाट पैसा ठग्ने काम गर्नुपर्ने बताएका थिए । आधुनिक साइबर दासत्व र मानव तस्करीमाथि अनुसन्धान गरिरहेको अन्तर्राष्ट्रिय संस्था ह्युम्यानिटी रिसर्च कन्सल्टेन्सीले प्रकाशित गरेको एक अध्ययनअनुसार यो संगठित अपराधमा इन्टरनेटको माध्यमबाट धनी, एकल पुरुष वा एक्लोपनको सिकार भइरहेकाको पहिचान गरेर उनीहरूसँग साथी बनेजस्तो गरी झूटो रोमान्सपूर्ण सम्बन्ध विस्तार गर्दै वा उनीहरूलाई लगानीको प्रलोभन देखाएर वा नक्कली क्रिप्टोकरेन्सीको कारोबार गर्ने प्लेटफर्महरू निर्माण गरेर त्यसमा लगानी गर्न उक्साएर ठग्ने काम हुन्छ । यस्तो अपराध चलाउनेहरूले दक्षिण एसियाका भारत, बंगलादेश, म्यानमारदेखि जाम्बिया, जिम्बावेलगायतका देशका अंग्रेजी भाषा जान्ने र कम्प्युटरमा ज्ञान भएका युवालाई आकर्षक जागिरको प्रलोभन देखाएर कम्बोडिया र म्यानमार पुर्‍याई बन्धक बनाएर उनीहरूलाई भनेअनुसारको काम गर्न बाध्य पार्दै आएका छन् । यसरी दासत्वपूर्ण अवस्थामा पुर्‍याएकालाई निर्देशनअनुसार काम नगरे शारीरिक र मानसिक यातना दिने, खान नदिई थुनेर राख्ने र उनीहरूलाई कतैबाट सहायता खोज्न नसक्ने गरी बन्धक बनाएर राख्ने गरिन्छ । यसरी बन्धक बनाइएका कतिपयलाई मोडलजस्तै अभिनय गरेर ठग्ने काममा प्रयोग गर्न बाध्य बनाइन्छ भने कतिपयलाई यौन कोठीहरूमा काम गरेजसरी भर्चुअल सेक्सका काममा लगाउने गरिएको छ । साभार : इका

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार