क्रिप्टोमार्फत साढे ३ अर्ब भुक्तानी, क्यासिनोमा १३ करोड कारोबार…..

काठमाडौँ — सुन तस्करीमा संलग्न चिनियाँ गिरोहले पछिल्लो साढे दुई वर्षमै क्रिप्टोमार्फत नेपालबाट ३ अर्ब ५५ करोडभन्दा बढी रकम विदेश पठाएको भेटिएको छ । सन् २०२१ को सुरुदेखि २०२३ को जुलाईसम्म चिनियाँ सुन तस्करले नेपालबाट अमेरिकी क्रिप्टो करेन्सी ‘यूएसडीटी’ मार्फत २ करोड ६९ लाख ४१ हजार ८ सय ६३ डलर बराबरको भुक्तानी गरेको प्रहरीको अनुसन्धानबाट खुलेको हो । यसको थप अनुसन्धान प्रहरीले गरिरहेको छ । २०७९ पुस १० मा दुबईबाट भित्रिएको ९ केजी र २०८० असार २९ मा हङकङबाट भित्रिएको करिब ६१ केजी सुन तस्करी प्रकरणको अनुसन्धान गर्ने क्रममा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले तस्करले साढे २ वर्षमा नेपालबाट ३ अर्ब ५५ करोड ६३ लाख २५ हजार बराबर भुक्तानी यूएसडीटीमार्फत गरेको फेला पारेको हो । सुन तस्करीलगायत अपराधमा संलग्न अन्तरदेशीय संगठित गिरोहले गरिरहेको यूएसडीटीसहितका क्रिप्टो कारोबारमा सीआईबीले अनुसन्धान गरिरहेको छ । ६१ केजी सुन प्रकरणमा पहिलो चरणको अनुसन्धान प्रतिवेदन सीआईबीले बुधबार सरकारी वकिलको कार्यालय काठमाडौंमा बुझाइसकेको छ । उक्त प्रतिवेदनका आधारमा सरकारी वकिल कार्यालयले आइतबार जिल्ला अदालत काठमाडौंमा विभिन्न सात कसुरमा मुद्दा दायर गर्दै छ । पछिल्लो ११ महिनामै करिब ३ सय ६३ केजी सुन तस्करी गरेको अभियोगमा पक्राउ परेका २६ र फरार १८ लाई प्रतिवादी बनाएर सीआईबीले ३ अर्ब ५० करोड बढीको बिगो मागदाबीसहित मुद्दा चलाउन राय दिएको छ । सरकारी वकिल कार्यालयमा बुझाइएको प्रतिवेदनमा सीआईबीले अन्तरदेशीय संगठित आपराधिक समूहले नेपाललाई अखडा बनाएर गरेको क्रिप्टोको अवैध कारोबारको डरलाग्दो चित्र देखाएको छ । पक्राउ परेमध्येका मुख्य तस्कर एलेक्स भनिने याओ फुचेनको मोबाइल र अन्य उपकरणबाट प्राप्त प्रमाणअनुसार उनको क्रिप्टो खातामा आउने रकमभन्दा विदेश पठाएको रकम दोब्बरभन्दा बढी देखिन्छ । सरकारी वकिल कार्यालयमा पेस गरिएको प्रतिवेदनअनुसार एलेक्सको साथबाट बरामद ‘आईफोन–१३ प्रोम्याक्स’ मा भएका विवरण केलाउने क्रममा एन्ट पे, ग्लोब पे, विन पे, पे प्लस र यूएसडीटीबाट भएका क्रिप्टो भुक्तानीको विवरण फेला परेको थियो । त्यसमध्ये यूएसडीटीबाट मात्रै पौने ३ करोड डलरको भुक्तानी गरेको देखिन्छ । त्यस्तै अन्य क्रिप्टोमार्फत यो अवधिमा भारतीय मुद्रा ३० करोड १३ लाख ४७ हजार ८ सय रुपैयाँ बराबरको भुक्तानी क्यूआर कोडमार्फत गरेको सीआईबी प्रतिवेदनमा समेटिएको छ । सुन तस्करीमा पक्राउ परेकामध्ये ९ जना विदेशी नागरिक छन् । त्यसमध्ये ५ चिनियाँले काभ्रे र काठमाडौंबाट नागरिकता र राहदानी लिएको खुलेको छ । ‘निज प्रतिवादी एलेक्सको साथबाट बरामद भएको आईफोन–१३ प्रोम्याक्स’ को परीक्षण क्रममा प्राप्त विवरणबाट निजले एन्ट पे, अली पे, ग्लोब पे, विन पे, पे प्लसमा भारतीय रुपैयाँ ३० करोड १३ लाख ४७ हजार ८ सय रकमको कारोबार गरेको देखिन्छ,’ सीआईबीको प्रतिवेदनमा भनिएको छ, ‘यस्तै निज प्रतिवादीले प्रयोग गर्ने मोबाइलको परीक्षण प्रतिवेदनमा समेत माई अकाउन्ट भनी उल्लेख गरेको क्रिप्टोसम्बन्धी खाताको ‘ओके लिंक’ बाट प्राप्त विवरणअनुसार यूएसडीटीबाट २९ लाख ५३ हजार ४ सय १३, १ करोड ५ लाख १७ हजार ५ सय १८ र १ करोड ३४ लाख ७० हजार ९ सय ३२ को क्रिप्टो भुक्तानी भएको देखिन्छ । अनुसन्धान स्रोतका अनुसार यो भुक्तानी चीन, ताइवान, दुबई, हङकङ, मकाउलगायतमा रहेका तस्करको खातामा गएको देखिएको छ । तस्करी गिरोहमा दावा छिरिङ, शिवकुमार सर्राफ, स्टेप्स भन्ने नेङकाई ली, हाल फरार रहेका दावाजिन वाङसहितका व्यक्ति संलग्न रहेको खुलेको छ । दावा छिरिङ र दावाजिन वाङ सत्तारूढ नेकपा माओवादीका केही शीर्ष नेताहरूसँग निकट चिनियाँ आपराधिक व्यक्ति रहेको अनुसन्धानबाट खुलिसकेको छ । यी तस्करले अवैध सुनबाट प्राप्त गरेको रकम मकाउको चर्चित क्यासिनो वाल्डोमा पनि कारोबार गरेको देखिएको छ । वाल्डोमा यो समूहले १३ करोड रुपैयाँ बराबर कारोबार गरेको भेटिएको छ । साभार : इका

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार