राजनीतिक हस्तक्षेपले थिलथिलो हुँदै प्रहरी संगठन…..

काठमाडौँ –  नेपाल प्रहरीले आफ्नो ६८ औँ दिवस मनाइरहेको छ । अपराध नियन्त्रण, शान्ति सुरक्षा र नागरिकमा अमन चयन कायम राख्ने मुख्य अभिभारा बोकेको नेपाल प्रहरीले बर्सेनि ‘कर्मकाण्डी’ रुपमा प्रहरी दिवस मनाउँदै आएको छ । विसं.२०१२ मा वैधानिक स्वरुप पाएको प्रहरी संगठनले आजसम्म आइपुग्दा विभिन्न आरोह/अवरोह झेल्नुपरेको इतिहास छ । स्थापनाकालदेखि हालसम्म यो संगठनले २८ वटा नेतृत्व पाएको देखिन्छ । पछिल्लो नेतृत्व बसन्त बहादुर कुँवरले गरिरहेका छन् तर, नेतृत्व चयन एकाधबाहेक कहिल्यै विवादरहित हुन सकेन । राजनीतिले प्रहरीलाई जहिल्यै आफ्नो स्वार्थसिद्धको नजरले हेर्ने र प्रहरीले पनि आफ्नो स्वार्थपूर्तिका लागि राजनीतिक फेरो समात्ने प्रवृत्ति अहिले पनि चलिरहेको छ । जसका कारण विधिसम्मत कानुनको पालना गर्ने र गराउने प्रहरी कर्मचारीहरु पाखा लागिरहेका छन् । चेन अफ कमाण्ड’ मा चल्ने फौजी संगठनभित्र देखिने गरी राजनीतिक विजारोपण २०४३ बाट सुरु भयो, जतिबेला रत्न शमशेर राणा सिनियर हुँदाहुँदै हेम बहादुर सिंहलाई प्रहरी महानिरीक्षक बनाइएको थियो । पञ्चायतकालमा दरबारले चाहेका व्यक्तिमात्रै प्रहरी नेतृत्वमा पुग्थे । पछि दरबारले रत्न शमशेरलाई पनि प्रहरी महानिरीक्षक बनाएको थियो । २०४६ मा प्रजातन्त्र पुनर्स्थापना भयो । संवैधानिक राजतन्त्रात्मक बहुदलीय व्यवस्था आएपछि पनि प्रहरीलाई राजनीतिक नेतृत्वले आफू अनुकल अस्त्रको रुपमा प्रयोग गर्न छाडेन । अझ गणतन्त्र आएपछि त राजनीतिक दलले प्रहरीलाई उपयोगको रणनीति नै लिए भन्दा हुन्छ । २०६३ भदौमा ओम विक्रम राणालाई महानिरीक्षक बनाइयो । सिनियर एआईजी राजेन्द्र बहादुर सिंह हुँदाहुँदै राणालाई प्रहरी नेतृत्व दिएपछि संगठनभित्र विभिन्न टिप्पणी सुरु भयो । राणापछि हालसम्मको प्रहरी नेतृत्वको नियुक्तिमा राजनीतिक फोहोरी खेल हुँदै आएको छ । सिनियर हुँदाहुँदै पनि जुनियरलाई संगठनको नेतृत्व बनाउने र सिनियरलाई नै नेतृत्व दिन पनि दलहरुबिच विभिन्न स्वार्थले काम गरेको देखिन्छ । नेतृत्व नियुक्ति भित्रका अनेकन खेल त छताछुल्ल नै देखिन्छन् । नवराज सिलवाल र जयबहादुर चन्दमध्ये कसलाई महानिरीक्षक बनाउने भन्ने विषय त अदालतमै प्रवेश भयो । यी भए नेतृत्व चयनमै भएका केही राजनीतिक हस्तक्षेपका कुरा । ६८ वर्षे इतिहासमा संगठनले के पायो त ? बुढो ऐनको भरमा प्रहरी चलिरहेको छ । झण्डै ८० हजार फौजमा धेरै परिवर्तन देखिए पनि संगठन चलाउने ऐनलाई समयसापेक्ष बनाउन नसक्दा प्रहरी राजनीतिक दाउपेचमा पर्दै आएको छ । स्थापनाकालमा ७ हजार पाँच सय दरबन्दी रहेको प्रहरी संगठनले त्यतिबेला करिब ९७ लाख नागरिकको जीउधनको सुरक्षाको जिम्मेवारी निर्वाह गर्दै आएको थियो । अहिले यो संस्थामा झण्डै ८० हजार जनशक्ति छ । ३ करोड नागरिकको सुरक्षा गर्ने जिम्मेवारी यो संगठनको काँधमा छ । प्रहरी ऐन, २०१२ लाई परिवर्तन गरी संघीय प्रहरी ऐन बनाउने मस्यौदा कानुन, अर्थ र गृह मन्त्रालयमै घुमिरहेको छ । ऐनको दफा ३९ को छिद्रलाई दुरुपयोग गरेर पटकपटक प्रहरी नियमावली संशोधन गर्ने र आफू अनुकूल प्रहरीमा पजनी गरिरहने सरकारले प्रहरीलाई विधि र ऐनसम्मत ढंगले सञ्चालन गर्ने आवश्यकता अहिलेसम्म महसुस गरेको देखिँदैन । पूर्वप्रहरी अतिरिक्त महानिरीक्षक राजेन्द्र सिंह भण्डारी प्रहरी सेवाको संगठन र वैधानिक मुद्दा सरकारको प्राथमिकतामा कहिल्यै पर्न नसकेको बताउँछन् । कानुनी रूपमै प्रहरी बलियो भए कानुनी राज्यका मान्यता स्थापित हुँदै जाने र बलियो कानुनको गलपासोमा आफैँ फस्न सक्ने भएकाले नेताले प्रहरी सेवालाई आफू अनुकूल सञ्चालन गर्ने र कज्याउन सकिने सेवाका रूपमा मात्र हेरे । उनका अनुसार प्रहरीलाई आफ्ना अपराधकर्मको सुरक्षा कवचका रूपमा उपयोग गर्ने राजनीतिकर्मीको कुत्सित सोचका कारण प्रहरीमा राजनीतिक हस्तक्षेप संस्थागत रूपमै परिमार्जित र विकसित हुन पुगेको हो । जसका कारण प्रहरीको व्यावसायिकता र योग्यता राजनीतिको लाचार छायामा पर्न गएको भण्डारीको बुझाइ छ ।  साभार : रापा

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार