इजरायलबाट उद्धार गरिएका १८ जना दिल्ली आइपुगे…..

नयाँदिल्ली — युद्धग्रस्त इजरायलबाट थप १८ नेपालीको उद्धार गरिएको छ । भारत सरकारद्वारा उद्धार गरिएका उनीहरू मंगलबार मध्यराति दिल्ली आइपुगेका छन् । भारत सरकारले आफ्ना नागरिकको उद्धारका लागि पठाएको विशेष विमानबाटै नेपाली नागरिकलाई पनि ल्याएको हो । दिल्लीस्थित नेपाली दूतावासका नियोग उपप्रमुख सुरेन्द्र थापाले भारत सरकारसँग समन्वयमा १८ जना नेपाली नागरिक आइपुगेको बताए । गत साता हमासले इजरायलमाथि आक्रमण गरेपछि त्यहाँ रहेका नेपाली नागरिकको उद्धारको प्रयास सरकारले थालेको हो । यसअघि नेपाल सरकारले विशेष विमान पठाएर २ सय ५४ जनाको उद्धार गरेको थियो । भारतीय र नेपाली नागरिकको उद्धार गरेर उडेको स्पाइस जेटको विशेष विमान राति ११ बजे दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो । भारतीय समयअनुसार साढे ५ बजे उडेको उक्त विमानले ६ घण्टा लामो यात्रा गरेको थियो । भारतका लागि नेपाली राजदूत शंकरप्रसाद शर्मासहित दूतावासका अधिकारीहरूले इजरायलबाट उद्धार गरी ल्याइएका टोलीलाई विमानस्थलमा स्वागत गरेका छन् । उद्धार गरिएको टोली बुधबार बिहान १० बजे गड्डाचौकी भन्सार हुँदै महेन्द्रनगर पुग्ने लक्ष्य छ । उद्धार भएर दिल्ली आएका १८ जनामध्ये १४ जना महिला छन् । उद्धार गरिएकाहरूमा नन्दसिंह भुल, प्रतिभा रौनियार, अनुमा डंगोल, हिना खाँड, आतिश गुरुङ, जुनु गुरुङ, मोसमी पाख्रिन, प्रतिमा तिम्सिना, राजकुमार मानन्धर, उर्मिला रावल, ममता थापा, दिलकुमारी अधिकारी कार्की छन् । त्यस्तै, निश्चल श्रेष्ठ, स्मिता बस्नेत, अम्बिका सुवेदी, सरिता गुरुङ, उर्मिला श्रेष्ठ र लक्ष्मण दुलाल छन् ।  साभार : इका

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार