राष्ट्रपतिबाट कैद माफी पाएका विक हत्या आरोपमा पक्राउ…..

रुकुम पश्चिम — गत संविधान दिवसका अवसरमा राष्ट्रपतिबाट कैद माफी पाएका सानीभेरी गाउँपालिका–९ का लोकेन्द्र भनिने लोकबहादुर विक हत्या आरोपमा पक्राउ परेका छन् । मंगलबार बिहान मृत अवस्थामा फेला परेकी मुसीकोट–७ साँखकी २७ वर्षीया भावना विकको हत्या आरोपमा लोकबहादुरलाई पक्राउ गरिएको हो । घाँटीमा धारिलो हतियार प्रयोग गरी हत्या गरेको अवस्थामा मुसीकोटस्थित एक होटलको कोठामा शव फेला परेको थियो । हत्यामा संलग्न रहेको पाइएपछि मंगलबार साझ खलंगास्थित आफ्नै डेराबाट पक्राउ परेका लोकेन्द्रलाई बुधबार प्रहरीले सार्वजनिक गरेको हो । उनले हत्या स्वीकार गरिसकेको जिल्ला प्रहरी प्रमुख डीएसपी नमराज भट्टराईले बताए । प्रहरीका अनुसार दुवै जना बीच प्रेम सम्बन्ध (अनैतिक) रहेको र महिलाले बिहे गर्न प्रस्ताव राखेपछि विवाद बढेर हत्याको अवस्थामा पुगेको बयान दिएका छन् । ‘महिलाले विहे गरौं भन्दा विवाद बढेपछि आवेशमा आएर आफैसँगै रहेको छुरीले हत्या गरेको स्वीकारेको छ,’ डीएसपी भट्टराईले भने, ‘होटलको कोठामा सिरकले छोपेर राखेको अवस्थामा शव फेला परेको हो । गत आइतबार (असोज २८ गते) लोकेन्द्र र भावनाले होटलको कोठा बुक गरेका थिए । मंगलबार (३० गते) बाहिरबाट ढोका बन्द देखेर शंका लागेपछि होटल सञ्चालकले बिहान ८ बजेतिर प्रहरी बोलाएर हेर्दा महिला मृत अवस्थामा फेला परेकी थिइन् । त्यसपछि कर्णाली प्रदेश प्रहरीको कोहलपुरबाट तालिमप्रप्त कुकुर समेत ल्याएर अनुसन्धान गरिएको जिल्ला प्रहरी प्रमुख डीएसपी भट्टराईले बताए । बहुविवाह मुद्दामा रुकुम पश्चिम जिल्ला अदालतको फैसला अनुसार ११ महिना कैद तोकिएका लोकेन्द्र ६ महिना कैद भुक्तान गरेर संविधान दिवसका अवसरमा सजाय माफी पाएका थिए । राष्ट्रपति रामचन्द्र पौडेलले संविधान दिवसका अवसरमा ६७० जना कैदीको कैद कट्टा गरी सजाय माफी मिनाहा दिएका थिए । असोज २ को मन्त्रिपरिषद्को सिफारिसका आधारमा विभिन्न ऐन, नियमअनुसार भोलिपल्टदेखि लागू हुने गरी ६७० जनाको सजाय माफी मिनाहा गरेको हो । प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले कारागार नियमावली अनुसार नकारात्मक सूचिमा नपरेका आधा सजाय भुक्तान गरिसकेका कैदीको सजाय माफ गर्न सकिने प्रावधान अनुसार यसअघि लोकेन्द्रले सजाय माफी पाएको बताए । मृतक भावनाकी सासुआमा उजेली कामीले बुधबार कर्तव्य ज्यानमा किटानी जाहेरी दिएपछि जिल्ला अदालतबाट स्वीकृती लिई लोकेन्द्रलाई हिरासतमा राखेर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । यसअघि लोकेन्द्र कारागारमा रहेका बेला पनि मृतक महिला भेट्न जाने गरेको प्रहरीको भनाइ छ । स्थानीयका अनुसार मृतक महिलाका श्रीमान् वैदेशिक रोजगारीमा छन् भने लोकेन्द्रकी कान्छी श्रीमती पनि विहे लगत्तै विदेश हिँडेकी थिइन् ।  साभार : इका

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार