बैकुन्ठे भीरमा जिप दुर्घटना, मृतक सबैको सनाखत…..

पाल्पा — पाल्पाको पर्यटकीयस्थल रानीमहलबाट सदरमुकाम तानसेनतर्फ आउँदै गरेको जिप तानसेन नगरपालिका १३, बैकुन्ठे पहाडबाट बराङ्गदी खोलामा खस्दा ६ जनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा जिप चालक घाइते भएका छन् । मृत्यु हुनेमा तीन महिला, दुई बालबालिका र एक पुरुष रहेको प्रहरीले जनाएको छ । जिप दुर्घटनामा नवलपरासी पूर्व देवचुली नगरपालिका १६ रजहरका ६० वर्षीया पार्वती लोहनी, सोही स्थानकै ६५ वर्षीय कृष्णबहादुर लोहनी, ११ वर्षीय सविस लोहनी, साढे दुई वर्षका ईसव लोहनी, ३५ वर्षीया सविना धिताल र लमजुङ बेंसीसहर २ भकुण्डेकी ५५ वर्षीया चुना धितालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाले जनाएको छ । दुर्घटनामा घाइते भएका चालक देवचुली नगरपालिका १६ रजहरका ३६ वर्षीय इश्वर लोहनीको तानसेनस्थित युनाइट मिसन अस्पतालमा उपचार भइरहेको छ । घाइते चालकको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रमुख प्रहरी उपरीक्षक हेरम्ब शर्माले जानकारी दिए । वाग्मती प्रदेश ०१-०२६ च ७२०९ नम्बरको जिप पर्यटकीयस्थल रानीमहल घुम्न आएकाहरुलाई लिएर तानसेनतर्फ फर्कँदै थियो । जिप उकालोमा हटेपछि दुर्घटनामा परेको स्थानीय प्रत्यक्षदर्शीले बताएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार दुर्घटनास्थल खोंच भएकोले उद्दारमा कठिनाइ भएको थियो । नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, स्थानीय बासिन्दाको सहयोगमा घाइते तथा मृतकको उद्दार गरिएको हो । दुर्घटनाग्रस्त जिप बैकुन्ठ पहाडबाट बराङ्गदी खोला सय मिटर भन्दा लामो छाँगो रहेको छ । जसले गर्दा उद्दारमा कठिनाइ भएको हो । तीन सय मिटर तल्लो भागबाट खोलैखोला भएर उद्दारका लागि पुग्नु परेको थियो । बैकुन्ठे भीरमा ग्रेड नमिलेको र ठाडै उकालो सडक रहेको छ । छेउतर्फ सुरक्षाका लागिसमेत कुनै सतर्कता अपनाइएको छैन भने केही समययता सडकसमेत बिग्रेर छियाछिया बनेको छ । दुर्घटनास्थल सदरमुकाम तानसेनदेखि ११ किलोमिटर टाढा पर्छ । तानसेनदेखि १३ किलोमिटर टाढा रहेको रानीमहलसम्म लुम्बिनी प्रदेश सरकारको सहयोगमा गतवर्ष कालोपत्रे सकिएको हो । साभार : इका

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार