आईपुगे यूएनका महासचिव गुटेरेस नेपालमा…..

काठमाडौँ — संयुक्त राष्ट्रसंघ (यूएन) का महासचिव एन्टोनियो गुटेरेस चारदिने भ्रमणका क्रममा नेपाल आइपुगेका छन् । आइतबार राती १ बजे उनी नेपाल आइपुग्दा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्रमन्त्री एनपी साउदले स्वागत गरे । महासचिव गुटेरेसलाई प्रधानमन्त्री पुष्पकमल दाहालले सेप्टेम्बर १७ मा संयुक्त राष्ट्रसंघको ७८ औं महासभामा भेटेरै नेपाल भ्रमणको निम्तो दिएका थिए ।महासचिव गुटेरेस पोर्चुगलका पूर्वप्रधानमन्त्री हुन् । महासचिवका रूपमा उनको यो दोस्रो कार्यकाल हो । महासचिव गुटेरेसको नेपाल भ्रमणका महत्त्वपूर्ण एजेन्डाहरूमा विश्व शान्ति र नेपालको शान्ति प्रक्रिया, जलवायु परिवर्तन र हिमालयले भोगिराखेको समस्या तथा विश्व शान्तिको प्रतीक गौतम बुद्धको जन्मस्थल लुम्बिनीको अन्तर्राष्ट्रियकरण, दिगो विकासका लक्ष्य छन् । आइतबार दिउँसो परराष्ट्रमन्त्री साउदसँग द्विपक्षीय भेटवार्ता गरेपछि प्रधानमन्त्री दाहाल र राष्ट्रपति रामचन्द्र पौडेलसँग छुट्टाछुट्टै भेटवार्ता गर्ने कार्यक्रम छ । लगत्तै नेपालका पूर्वप्रधानमन्त्रीहरूसँग सामूहिक भेटवार्ता गर्नेछन् । महासचिव गुटेरेस ललितपुरको पाटन दरबार स्क्वायरको अवलोकनमा पनि जानेछन् भने त्यहाँबाट फर्केपछि प्रधानमन्त्रीको आयोजनामा हुने रात्रिभोजमा सरिक हुनेछन् । कात्तिक १३ गते सोमबार महासचिव गुटेरेस जलवायु परिवर्तनको असरलाई बुझ्न सोलुखुम्बुको स्याङ्बोचेसम्म अवलोकन गर्न पुग्ने कार्यक्रम छ । त्यसपछि उनी काठमाडौं फर्केर ललितपुरस्थित यूएन हाउसको कार्यक्रममा सहभागी हुनेछन् । त्यसपछि उनी पोखरा उड्ने र राति पोखरामै बस्ने कार्यक्रम छ । कात्तिक १४ गते मंगलबार महासचिव गुटेरेस पोखराबाट बिहान अन्नपूर्ण सर्किट अवलोकनपछि पोखरा फर्केर पुरानो विमानस्थलमा पत्रकार सम्मेलन गर्नेछन् । त्यसपछि गौतम बुद्धको जन्मस्थल लुम्बिनीतर्फ लाग्नेछन् । लुम्बिनीबाट काठमाडौं फर्केर सोही दिन बेलुकी संघीय संसद्को दुवै सदनलाई सम्बोधन गर्ने कार्यक्रम तय छ । त्यसपछि संसद्कै परिसरमा पत्रकार सम्मेलन गर्नेछन् । कात्तिक १५ गते बुधबार महासचिव गुटेरेस नेपालको आफ्नो चारदिने भ्रमण पूरा गरी फर्कने कार्यक्रम रहेको छ । साभार : इका

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार