भूकम्पपीडितको राहतका लागि चीन सरकारको २६ करोड सहयोग…..

काठमाडौँ — चीन सरकारले नेपालका भूकम्पपीडितको राहतका लागि २६ करोड रुपैयाँ प्रदान गर्ने भएको छ । नेपालका लागि चिनियाँ राजदूत छन सोङले आपत्कालीन मानवीय सहायताअन्तर्गत भूकम्पपीडितलाई राहतका लागि सहयोग प्रदान गर्न लागेको बताए । यसअघि चीनले नेपाललाई १० करोड बराबरको राहत सामग्री प्रदान गरेको थियो । चीनले दक्षिण एशियाली आपत्पकालीन सहयोगमार्फत प्रदान गरेको राहत सामग्रीको पहिलो खेप सोमबार नेपाल आइपुगेको छ । गत शुक्रबार जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिममा ठूलो मानवीय र धनमालको क्षति गरेको छ । भूकम्पले ३५ हजार परिवार घरबारविहीन बनेका छन् । जाजरकोट र रुकुम पश्चिमलगायत १३ जिल्लामा १७ हजार ७ सय ९२ घर पूर्णरूपमा भत्किएका छन् । त्यस्तै १७ हजार ५ सय २९ कच्ची घर चर्किएकाले बस्न नमिल्ने अवस्थामा छन् । गृह मन्त्रालयको विपद् पूर्वतयारी तथा प्रतिकार्य शाखाले सोमबार रातिसम्म संकलन गरेको तथ्यांकअनुसार सबैभन्दा बढी घर रुकुम पश्चिममा भत्किएका छन्। यो जिल्लामा १६ हजार ५ सय ७० घर पूर्ण रूपमा र ९ हजार ९ सय ६१ घर आंशिक रूपमा क्षतिग्रस्त भएका छन् । त्यस्तै जाजरकोटमा १ हजार १ सय ७० घर पूर्ण रूपमा र ७ हजार १ सय ६६ घर आंशिक रूपमा भत्किएका छन् । सबैभन्दा बढी मानवीय क्षति भने जाजरकोटमा भएको छ। भूकम्पबाट १ सय ५३ जनाको मृत्यु भएकामा १ सय १ जना जाजरकोटका छन्। यो जिल्लामा १ सय ३३ जना घाइते छन्। त्यस्तै रुकुम पश्चिममा ५२ जनाको मृत्यु भएको छ भने १ सय ९७ जना घाइते छन्। भूकम्पको धक्काले रुकुम पूर्व, सल्यान, रोल्पा, नवलपरासी पूर्व, दैलेख, दाङ, बैतडी, जुम्ला, कालीकोट, प्यूठान र अछाममा कुनै न कुनै रूपमा प्रभावित गरेको छ । साभार : इका

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार