काठमाडौँ — राजधानीमा बिहीबार मेडिकल व्यवसायी दुर्गा प्रसाईंको नेतृत्वमा बल्खुमा र एमालेको युवा संघले तीनकुनेमा प्रदर्शन गरेका छन् । प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऊ महाअभियान’ का सहभागी र प्रहरीबीच झडप भएको छ । सभा गर्न तोकिएको पूर्वनिर्धारित स्थान बल्खु सडकबाट कुलेश्वर–कालीमाटी क्षेत्र प्रवेश गर्न खोजेपछि भीडलाई रोक्न प्रहरीले अश्रुग्यास, पानीको फोहरा, लाठी र रबरका गोली प्रहार गरेको थियो । त्यस क्रममा प्रहरी र प्रदर्शनकारीतर्फ केही व्यक्ति घाइते भएका छन् । प्रसाईं नेतृत्वको अभियानले संघीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्था खारेज गरी राजसंस्था र हिन्दु राष्ट्र पुनःस्थापना, २० लाख रुपैयाँसम्मको किसानको ऋण मिनाहालगायत माग राखेर बिहीबार बल्खुमा सभा आयोजना गरेको थियो । अर्कोतर्फ तीनकुनेमा युवा संघले महँगी, भ्रष्टाचार र सामाजिक सद्भावविरोधी गतिविधि नियन्त्रण गर्नुपर्ने मागसहित अर्को सभा आयोजना गरेको हो । दुवै पक्ष एकअर्काविरुद्ध आरोप–प्रत्यारोपमा उत्रिँदै आएकाले प्रशासनले सम्भावित झडप, मुठभेड र घुसपैठ नियन्त्रण तथा प्रदर्शनलाई शान्तिपूर्ण बनाउन विशेष सुरक्षा योजना लागू गरेको थियो । उपत्यकाका विभिन्न स्थानबाट दुवै पक्ष नारा–जुलुससहित तोकिएको स्थानमा पुगेका थिए । त्यस क्रममा बल्खु क्षेत्रमा भएको महाअभियानको कार्यक्रम सुरु हुनुअघि नै प्रहरी र प्रदर्शनकारीबीच झडप भएको हो । सुरुमा महाअभियानका समर्थक र युवा संघका कार्यकर्ताबीच बल्खुमा ढुंगा हानाहान हुँदा बल प्रयोग गरेर प्रहरीले दुवै पक्षलाई गन्तव्यतर्फ पुर्याएको थियो । त्यस क्रममा पनि प्रहरीले लाठी प्रहारबाट भीडलाई तितरबितर पारेको थियो । त्यसपछि कार्यक्रम सुरु हुनुअगावै महाअभियानका समर्थकको भीड बल्खु सडकबाट कुलेश्वर–कालीमाटीतर्फ जान खोजेपछि सुरक्षार्थ तैनाथ प्रहरीले १ सय ५७ सेल अश्रुग्यास, ५ राउन्ड रबरका गोली, वाटर क्याननका दुई वटा गाडीबाट पानीका फोहरा प्रहार गरी भीडलाई रोकेको थियो । त्यस क्रममा नरेन्द्र थापासहित प्रदर्शनकारीतर्फ २३ जना र प्रहरीका तीन जना घाइते भएका छन् । घाइतेमध्ये १७ जना सामान्य उपचारपछि डिस्चार्ज भएका छन् भने ५ जनाको काठमाडौं मेडिकल कलेज सिनामंगलमा उपचार भइरहेको प्रहरीले जनाएको छ । पानीको फोहराबाट महाअभियानका माइक र साउन्डसेटमा क्षति पुगेको थियो । कार्यक्रमलाई सामाजिक सञ्जालमार्फत उत्तेजक बनाउन खोजेको भन्दै प्रहरीले कार्यक्रम स्थलमा जामर प्रयोग गरी नेटवर्क निष्क्रिय बनाएको थियो । अति विशिष्ट व्यक्तिको राजकीय भ्रमण तथा सुरक्षा अवस्था उच्च जोखिममा रहेका बेला निश्चित समयका लागि वरपरको क्षेत्रमा दूरसञ्चार/इन्टरनेट नेटवर्क निष्क्रिय पार्न जामरको प्रयोग गरिन्छ । तर, प्रसाईंको कार्यक्रममा सामाजिक सञ्जाल र आमसञ्चारमाध्यमबाट लाइभ प्रसारण हुन थालेपछि प्रहरीले त्यसलाई रोक्न जामर नै प्रयोग गरेको थियो । काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख एआईजी दीपक थापाले सुरक्षा स्थितिलाई काबुमा राख्न जामरसहितको प्रविधि प्रयोग गर्नुपरेको प्रस्टीकरण दिए । सञ्चारमाध्यमका कामकारबाहीमा अवरोध पुर्याउन नभई सुरक्षा जोखिमलाई मध्यनजर गरेर जामरको प्रयोग गरिएको उनको तर्क छ । ‘पूर्वनिर्धारित सहमतिविपरीत प्रदर्शनकारीले सुरक्षा घेरा पार गर्न खोजेपछि ‘सामान्य बल प्रयोग’ गरेर तोकिएको स्थानमा प्रदर्शनकारीलाई फर्काइएको हो,’ उनले भने । तर, महाअभियानका संयोजक प्रसाईंले कार्यक्रममा आएकालाई प्रहरीले बिनाकारण बल प्रयोग र धरपकड गरेको भन्दै असन्तुष्टि जनाए । बल्खुको सभा र त्यसपछि आफ्नै निवास भक्तपुरमा पत्रकार सम्मेलनको आयोजना गर्दै प्रसाईंले भने, ‘कार्यक्रममा प्रहरीले दमन गर्यो । हाम्रो यो सुरुवात मात्रै हो । यसबाट रोकिँदैनौं । बिहीबार बल्खुमा सभा गरेको महाअभियानले शुक्रबार तीनकुनेमा प्रदर्शन घोषणा गरेको छ । संयोजक प्रसाईंले समर्थकलाई शुक्रबार ११ बजे तीनकुनेमा भेला भई व्यवस्थाविरुद्धको आन्दोलनमा सहभागी हुन आग्रह गरेका छन् । यता गृह मन्त्रालयले बिहीबार नै नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखलाई अभियानका नाममा ‘अराजक गतिविधि’ हुन सक्ने भन्दै मातहतका जनशक्तिलाई शान्तिसुरक्षा कायम र कानुनविपरीतका गतिविधि नियन्त्रणमा लिन निर्देशन दिएको स्रोतले जानकारी दियो । त्यसपछि सुरक्षा निकायले विशेष सुरक्षा कार्ययोजनाअन्तर्गत सादा पोसाकसहितका जनशक्तिलाई अभियान समर्थकका गतिविधि निगरानीमा परिचालन गरेका छन् । बैंक/वित्तीय संस्था, सहकारी र लघुवित्तबाट किसानले लिएको ऋणबाट मुक्त गराउने, २० लाखसम्मको ऋण मिनाहा तथा व्यवस्था परिवर्तन मुख्य माग राखेर प्रसाईंले महाअभियानमार्फत आन्दोलन सुरु गरेका हुन् । प्रसाईंले सुरुमा आन्दोलन घोषणा गरेपछि त्यसलाई जुधाएर युवा संघले त्यही मितिमा सम्भावित मुठभेडको जोखिम हुने गरी अर्को काउन्टर प्रदर्शनको कार्यक्रम तय गरेको थियो । दुवै पक्षले सुरुमा माइतीघरलाई नै कार्यक्रम स्थलका रूपमा रोजेका थिए ,जिल्ला प्रशासन कार्यालय काठमाडौंले एउटै स्थानमा दुवै पक्षका कार्यक्रम गर्न दिँदा अप्रिय अवस्था आउने भन्दै माइतीघरदेखि नयाँ बानेश्वरसम्मलाई ३० दिनका लागि निषेधित क्षेत्र घोषणा गरेको थियो । दुवै पक्षका कार्यक्रम व्यवस्थित गर्न भन्दै गृह मन्त्रालय, उपत्यकास्थित सुरक्षा निकायका प्रमुख, सुरक्षा निकायका छुट्टाछुट्टै संयन्त्र र उपत्यकाका तीन वटै जिल्ला प्रशासन कार्यालयले तहगत सुरक्षा कार्ययोजना ल्याएका थिए । काठमाडौं प्रहरी प्रमुख एसएसपी भूपेन्द्रबहादुर खत्रीले संविधान र कानुनले निर्दिष्ट गरेका बाहेकका अराजक र गैरकानुनी गतिविधि भए त्यसलाई नियन्त्रणमा लिइने स्पष्ट पारे । ‘कानुनले तोकेको दायराभित्र रहेर जोकोहीले पनि कार्यक्रम गर्न पाउनु हुन्छ । त्यसलाई सुरक्षित र व्यवस्थित बनाउन हामी सधैं तत्पर छौं,’ उनले भने, ‘बिहीबारको कार्यक्रम पनि पूर्वनिर्धारित तयारीअनुसार नै भइरहेको थियो । कार्यक्रम सुरु हुनुअगावै प्रदर्शनकारीका तर्फबाट ढुंगामुढा प्रहार हुन थालेपछि स्थिति सामान्य बनाउन हामीले पनि बल प्रयोग गर्नुपरेको हो । प्रसाईं नेतृत्वको कार्यक्रममा भाग लिन उपत्यकासहित राजधानीबाहिरबाट पनि ठूलो संख्यामा मानिस आएको प्रहरीले जनाएको छ । साभार : इका












