जातीय विभेदविरुद्ध युगान्तकारी फैसला…..

रुकुम पश्चिम, काठमाडौं — जातीय छुवाछूतले निम्त्याएको नरसंहारविरुद्ध रुकुम पश्चिम जिल्ला अदालतले ऐतिहासिक फैसला गर्दै २४ जनाविरुद्ध जन्मकैद ठहर गरेको छ । महान्यायाधिवक्ताको कार्यालयका अनुसार नेपालको न्यायिक इतिहासमा यति ठूलो संख्यामा जन्मकैदको फैसला भएको यो पहिलो मुद्दा हो । रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८ सोती गाउँमा नवराज विकसहित ६ युवाको हत्यामा संलग्न भएको अभियोग लागेका ३४ मध्ये २४ लाई न्यायाधीश खड्गबहादुर केसीको मंगलबारको इजलासले दोषी ठहर गर्दै जातीय छुवाछूतको कसुरमा थप दुई वर्ष कैद र ५० हजार जरिवाना हुने फैसला सुनाउँदा जिल्ला अदालतमा सन्नाटा छाएको थियो । लामो समयदेखि न्यायको पर्खाइमा बस्दा अनेक सन्देहले गलेका नवराजका बुबा मुनलाल नेपालीले मंगलबार फैसला सुनेपछि सन्तुष्टिको सास लिए । मुद्दाको अन्तिम फैसला सुनुवाइको अघिल्लो दिनदेखि नै मुनलालसहितका पीडितहरू अदालतको मूलद्वारमै २४ घण्टे धर्नामा बसेका थिए । छोराका हत्यारालाई जोगाउने अनेक खेल एकातिर चलिरहेको थियो भने अर्कातिर अदालतमा मुद्दा नै छिनोफानो हुन सकिरहेको थिएन,’ मुनलालले भने, ‘यस्तोमा न्याय नै नपाइने हो कि भन्ने शंकाले मन भुटभुटिएको थियो, बल्ल फैसला आयो, अब हाईसुख भएको छ ।’ सोती घटनामा नवराजसँगै ज्यान गुमाएका सन्दीप विककी आमा सविता विश्वकर्माको खुसी पनि उस्तै थियो । अकालमै ज्यान गुमाएका हाम्रा छोराको रगतले अब बाटो पाउने भयो,’ उनले भनिन्, ‘ढिलो भए पनि न्याय मिलेको छ, सबैलाई धन्यवाद ।’ डम्बरबहादुर मल्ल, डिल्ली मल्ल ठकुरी, प्रेमबहादुर ठकुरी, सन्तोष मल्ल, मोहन पुन मगर, मानबहादुर मल्ल, टोपबहादुर मल्ल, सविन पुन (सर्वजित), तिलक चन्द, इन्द्रबहादुर ठकुरी, लिपेन्द्रकुमार मल्ल, हर्कबहादुर मल्ल, विनोद मल्ल, नेत्रबहादुर मल्ल, रेशमबहादुर मल्ल, धनाराज राना, नवीनकुमार घर्ती, विराज पुन मगर, भीमबहादुर पुन मगर, रमित पुन मगर, विष्णु मल्ल, रुकुम पश्चिम ५४ (३६) १, रुकुम पश्चिम ५४ (३६) ३ र रुकुम पश्चिम ५४ (३९) दोषी ठहर भएका छन् । यसअघि जिल्ला अदालतको आदेशमा रुकुम पश्चिम ५४ (३९) भने साधारण तारिखमा छुटेका थिए, बाँकी दोषी पुर्पक्षका लागि कारागार चलान भएका थिए । नवराजकी प्रेमिका (रुकुम पश्चिम ५४ (३६) र आमा (रुकुम पश्चिम ५४ (३६) २) लाई पनि जातीय छुवाछूतको कसुरमा २ वर्ष कैद र ५० हजार जरिवाना सुनाइएको छ । उनीहरू दुवै जिल्ला अदालतको पुर्पक्षको आदेशमा तारिखमा छुटेका थिए । दोषीहरूबाट जनही ४० हजार रुपैयाँ भराउने र उक्त रकम मृतकका परिवारलाई दामासाहीले दिने पनि फैसलामा उल्लेख छ । तुलाराम घर्ती, डिल्ली घर्ती, क्वापे भनिने लोकेन्द्र घर्ती, सौरभ पुन, भीमबहादुर बुढा, इन्द्रबहादुर मल्ल, तुलबहादुर मल्ल र दीपेन्द्र चन्दले भने सफाइ पाएका छन् । साभार : इका

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार