अछाम, धनगढी — बाजुराको बूढीनन्दा नगरपालिका–४ कुरुकी ३१ वर्षीया पानसरा रोकायाले गत सोमबार बाटैमा बच्चा जन्माइन् । बिहान घरबाट करिब आधा घण्टा टाढाको आधारभूत स्वास्थ्य केन्द्र जाँदै गर्दा उनी धमेनाबाडा नजिकैको बाटोमा सुत्केरी भएकी हुन् । आधारभूत स्वास्थ्य केन्द्रकी प्रमुख अहेव धर्मा चँदाराले बाटोमै सुत्केरी भएको भेटेपछि स्याहार गरेकी थिइन् । गएको भदौ ११ मा बाजुराकै खप्तड छेडेदह गाउँपालिका–१ जारिमतोला गाउँकी ३२ वर्षीया उज्जली सुनार घरबाट ६ घण्टा पैदल र दुई घण्टा गाडीको यात्रापछि अछामस्थित बयालपाटा अस्पताल पुगिन् । चिकित्सकले सामान्य प्रसूति हुन नसक्ने र शल्यक्रिया गर्नुपर्ने बताएपछि उनी आत्तिइन् । त्यसअघि तीन छोरीलाई घरमै जन्म दिएकी उज्जलीलाई चिकित्सकले शल्यक्रिया नगरे ज्यान जोखिममा पर्ने बताए पनि डरले उनी अस्पतालबाट घर फर्किइन् । घर फर्किने क्रममा बाजुराको बाह्रबिस सिगाडानजिक बाटैमा सुत्केरी भइन् । सिगाडास्थित आधारभूत स्वास्थ्य चौकीमा कार्यरत अनमी सिर्जना सार्कीले बाटैमा नभेटाएर स्वास्थ्य स्याहार गर्न नपाएको भए उनको ज्यान तलमाथि हुन पनि सक्ने बताइन् । मानव विकास सूचकांकको पुछारमा रहेको सुदूरपश्चिमको बाजुरा र अछामका ग्रामीण क्षेत्रमा गर्भवती र सुत्केरी आमाले भोग्नुपरेका संघर्षका यस्ता अनेकौं गाथा छन् । खासगरी गर्भवती र सुत्केरी अवस्थामा दुर्गम क्षेत्रका विपन्न परिवारका आमाले कष्टसाध्य चुनौती सामना गर्नुपर्ने बाध्यता अझै घट्न सकेको छैन । स्वास्थ्य सेवामा पहुँच, नियमित गर्भ जाँच र पोसिलो खानेकुरा खान नपाउनु मात्रै होइन, घरमै सुत्केरी, कामको बोझ, कलिलै उमेरमा बच्चा जन्माउने र रूढिवादी परम्पराको दुष्चक्रमा रहेका दुर्गमका आमामध्ये कतिले त अकालमै ज्यान गुमाउनु परिरहेको छ । अछाम तुर्माखाँद गाउँपालिका–१ की ३८ वर्षीया पूर्णकला नेपालीले पाँच सन्तान घरमै जन्माइन् । तर, छैटौं जत्काल (गर्भवती काल) उनका लागि साँच्चिकै काल बनेर आयो । डेढ वर्षअघि सदरमुकाम मंगलसेनबाट करिब दुई सय किलोमिटर दूरीमा रहेको रहफमा पर्ने नेपालीबाडाकी पूर्णकलालाई सुत्केरी व्यथा लागेपछि परिवारले पाँच दिनसम्म गाउँकै धामी–झाँक्री देखाए । उल्टै व्यथाले च्याप्दै गयो । केही उपाय नलागेपछि छैटौं दिन स्वास्थ्य चौकी पुर्याइयो । अत्यधिक रक्तस्राव भएर उनको स्वास्थ्य चौकीमै मृत्यु भयो । पूर्णकलाको मृत्युलाई परिवारजन अहिले पनि देवीदेवताको श्राप ठान्छन् । ‘हेराउन कोराउन (धामीझाँक्री देखाउने) सकेजति गरेकै हो, जडीबुटी त केही बाँकी राखेनौं । पहिलाका नातिनातिना घरमै जन्मिएका हुन् । छैटौं जत्कालका बेला समयमै अस्पताल पुर्याए पनि बुहारी बाँच्थिन् जस्तो लाग्दैन,’ उनकी सासू लल्ता नेपालीले भनिन्, ‘माइत्या र घर देउतालाई नमानेर बुहारीको ज्यान गएको हो । सुत्केरी हुने बेला मर्नु भनेको देवताले श्राप दिनुजस्तै हो । साभार : इका












