भूकम्पपीडितको त्रिपालमुनि गयो ३४ को ज्यान…..

जाजरकोट, रुकुम पश्चिम — चिसो र झाडापखालाका कारण डेढ महिनायता जाजरकोट र रुकुम पश्चिमका ३४ जना भूकम्पपीडितको ज्यान गएको छ । जाजरकोटको बारेकोट रामीडाँडा केन्द्रबिन्दु बनाएर गत कात्तिक १७ मध्यरातमा गएको भूकम्पपछि खुला आकाशमुनि रात बिताउन बाध्य पीडितहरूमध्ये जाजरकोटका २९ र रुकुम पश्चिमका ५ जनाको ज्यान गएको हो । जसमा १ महिने शिशुदेखि ८९ वर्षीया वृद्धासमेत छिन् । चिसोका कारण भूकम्पपीडित धमाधम बिरामी पर्न थालेपछि मृत्यु हुनेको संख्या बढिरहेको छेडागाडस्थित आधारभूत अस्पतालका डा. प्रिय शाहीले बताए । चिसोका कारण दैनिक १ सय जति उपचार गर्न आउने गरेको उनले सुनाए । ‘अस्पताल आउनेमा झन्डै ६० प्रतिशत बालबालिका छन्,’ उनले भने, ‘धेरैजसो झाडापखाला, निमोनिया, ज्वरो, रुघाखोकीलगायत समस्याबाट पीडित छन् ।’ भूकम्पले सबैभन्दा बढी क्षति पुर्‍याएको नलगाड नगरपालिकामा पनि दैनिक डेढ सय जनासम्म बिरामी उपचारका लागि आउने गरेको नलगाड आधारभूत अस्पतालका डा. विशाल उप्रेतीले बताए । रामीडाँडामा भूकम्पमा परी ९० प्रतिशत घरमा क्षति पुगेको थियो भने चार जना घाइते भएका थिए । तर त्यसपछि एकै गाउँका १४ जनाले चिसोकै कारण ज्यान गुमाउनुपरेको छ । बारेकोट गाउँपालिका प्रमुख वीरबहादुर गिरीका अनुसार यहाँको तापक्रम अहिले एक डिग्रीमा झरिसकेको छ । चिसो ह्वात्तै बढेपछि बिरामीको संख्या पनि बढ्न थालेको छ । ‘त्रिपालमुनि ओत लाग्दै आएका १४ जनाको मृत्यु भइसकेको छ । चिसोले बिरामीको संख्या बढ्दै गएको छ,’ उनले भने, ‘अस्थायी टहरा बनाउने काम भइरहे पनि धेरै परिवारको अझै त्रिपालमुनि कष्टकर बसाइ छ । भौगोलिक विकटले कतिपय ठाउँमा अझै पर्याप्त राहत सामग्री पुग्न सकेको छैन । त्रिपालमुनि बस्दै आएका वृद्धवृद्धा र बालबालिकालाई तातो लुगा र राम्रो ओतको खाँचो छ ।’ प्रमुख गिरीले चिसोका कारण दमका बिरामी र दीर्घरोगी बढी जोखिममा रहेको बताए । ‘हामीले भ्याएसम्म चिसोबाट जोगाउने प्रयास गरिरहेका छौं । गाउँपालिका प्रमुख गिरीले अस्थायी टहरा बनाउन रकम वितरण सुरु भइसके पनि लाभग्राहीको संख्या यकिन गर्न समय लागेको बताए । ‘अस्थायी टहराका लागि अनुदान दिन पनि लाभग्राहीको संख्या यकिन नहुँदा ढिला भएको छ,’ उनले थपे, ‘मापदण्डअनुसार आफैं टहरा बनाउन भनेका छौं । यसरी बनाएकालाई अनुदान पाउने व्यवस्था मिलाउँछौं । तर राहत र अनुदानअघि अस्थायी बसोबासको व्यवस्थासमेत नहुँदा स्थानीयको दैनिकी निकै कष्टकर छ । जाजरकोटको नलगाड नगरपालिका–३ का ५२ वर्षीय कलुराम विकको ७ जनाको परिवार अहिले पनि त्रिपालमै छ । चिसो बढ्दै गएपछि मकैको ढोडले वरिपरि बारेर उनले जसोतसो परिवारलाई चिसोबाट जोगाउन खोजेका छन् । तर, अनुदान रकम नपाउँदा अस्थायी टहरा बनाउन समस्या भएको उनले बताए । ‘कर्मचारी आएर दिन्छन् भन्ने सुनेको, अझसम्म कोही पनि आएनन्,’ उनले भने, ‘कहिले छाप्रो बन्ने हो केही थाहा छैन । भेरी नगरपालिका–६ का सन्तोष नेपालीको ९ जनाको परिवार पनि त्रिपालकै भरमा गुजारा चलाइरहेको छ । ‘वरिपरि पुराना लुगाले बारेर जेनतेन बस्नेसम्म बनाएको छु,’ उनले भने, ‘तर, रातभरि शीत चुहिन्छ, बालबच्चालाई चिसोमा जोगाउनै मुस्किल भइसक्यो ।’ चिसा रातमा आगो बालेर जाग्राम बस्ने गरेको उनले बताए । भूकम्पमा परी जाजरकोट र रुकुम पश्चिममा मात्रै झन्डै ५५ हजार परिवार घरबारविहीन भएको प्रदेश प्रहरी कार्यालयको तथ्यांक छ । कार्यालयका अनुसार जाजरकोटमा झन्डै ३१ हजार र रुकुम पश्चिममा २४ हजार परिवार विस्थापित भएका छन् । तर, अहिलेसम्म जाजरकोटमा ३ हजार ३ सय ९ र रुकुम पश्चिममा १९ हजार ९ सय ३४ परिवारले मात्र अस्थायी टहरा निर्माणका लागि पहिलो किस्ताबापत २५ हजार रुपैयाँ बुझेका छन् । विभिन्न राजनीतिक दलले दुवै जिल्लामा गरी झन्डै ५ हजार टहरा निर्माण गरे पनि अझै आधाभन्दा बढी भूकम्पपीडित त्रिपालकै भरमा छन् । राजनीतिक दलहरूले निर्माण गरेको अस्थायी आवासको तथ्यांक जिल्ला विपद् व्यवस्थापन समितिसँग छैन । जाजरकोटका सहायक प्रमुख जिल्ला अधिकारी हरिशचन्द्र शर्माले पहिलो किस्ताको रकम लिएका झन्डै ३ हजार परिवारले टहरा निर्माण गरेको जानकारी दिए । उनका अनुसार अझै २ पालिकामा टहरा निर्माणको रकम पठाइएको छैन । ‘पैसा नै पुगेन, नलगाड र जुनेचाँदेमा पठाउन सकेका छैनौं,’ उनले भने, ‘थप ५० करोड रकम मागेका छौं, तर रकम आउने/नआउने निश्चित छैन ।’ उनका अनुसार नलगाडमा ८ हजार ९७ र जुनेचाँदेमा २ हजार ५ सय ६३ लाभग्राहीको पहिचान भएको छ ।  साभार : इका

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार