होडबाजीमा बनाइएका विमानस्थल प्रयोगविहीन…..

काठमाडौँ — ‘छिमेकीको घरमा ट्वाइलेट छँदै छ किन मेरोमा बनाउने !, छिमेकीकोमा जानु त जहिले ?’ विराटनगरमा छँदाछँदै धरानमा विमानस्थल किन आवश्यक पर्‍यो भन्ने पत्रकारको प्रश्नमा धरानका मेयर हर्क साम्पाङले दिएको जवाफ हो, यो । तीन साताअघि टीभी अन्तर्वार्तामा साम्पाङले दिएको उक्त अभिव्यक्ति विमानस्थल निर्माणबारे जनप्रतिनिधि के सोच्छन् भन्ने दृष्टान्त पनि हो । आर्थिक सम्भाव्यता र यात्रुको चापलाई ध्यान नदिई लोकरिझाइँ, भोट ब्याङ्क बढाउने, कमिसनको लोभ जस्ता स्वार्थका कारण विमानस्थल निर्माणका नाममा हुने बेथितिहरूको लामै फेहरिस्त छ । अनावश्यक स्थानमा मापदण्ड र कानुन मिचेर राज्यको ठूलो स्रोतसाधन खर्च गरी बनाइएका धेरै विमानस्थल अहिले बन्द छन् । २०५१ सालदेखि बन्द रहेको बैतडीको पाटन विमानस्थलमा २६ वर्षपछि २०७७ साल असोजमा विमान अवतरण गर्‍यो । त्यसबेला परीक्षण उडानमा तत्कालीन पर्यटनमन्त्री योगेश भट्टराई सवार थिए । तर, एक वर्षर् पनि नचलेर यो विमानस्थल फेरि बन्द भयो । अहिले गौचरन बनेको विमानस्थलको ‘रनवे’ मा युवायुवती भिडियो बनाउँछन्, स्थानीय टहलिन जान्छन् । ‘त्यो अवधिमा (०७७ असोजदेखि ०७८ चैतसम्म) १५/१६ पटक फ्लाइट भयो होला,’ पाटन विमानस्थलमा उडान गरेको समिट एयरका सुदूरपश्चिम प्रतिनिधि किशोर खड्काले भने, ‘सुरुमा सातामा दुई फ्लाइट गर्ने सेड्युल थियो, यात्रु नपुगेपछि एक पटक राखियो, तैपनि लोड पुगेन र बन्द गरियो । नागरिक उड्डयन प्राधिकरणका अनुसार दोस्रो पटक उक्त विमानस्थल सञ्चालनमा ल्याउँदा सरकारले १६ करोड २ लाख रुपैयाँ खर्च गरेको छ । विमानस्थलको पछिल्लो तीन वर्षर्को कार्यालय सञ्चालन खर्च मात्रै १४ लाख २३ हजार रुपैयाँ छ । अचम्म त पाटन विमानस्थल यात्रु अभावमा बन्द भएको थाहा पाउँदापाउँदै त्यहाँबाट केही घण्टाको सडक दूरीमा रहेका दार्चुला र डडेलधुरामा पनि विमानस्थल निर्माणका नाममा ठूलो रकम खर्च भइरहेको छ । दार्चुलामा चमेलिया नदी किनारमा निर्माणाधीन गोकुलेश्वर विमानस्थलका लागि ३ करोड खर्च भइसकेको छ भने थप २० करोड रुपैयाँ खर्च हुने अनुमान छ । उक्त निर्माणाधीन विमानस्थलबाट पाटन विमानस्थलसम्मको सडक दूरी ६८ किमि (हवाई दूरी १२.२७ नटिकल माइल) मात्र छ । पाटन विमानस्थलबाट करिब ६ नटिकल माइलमा रहेको डडेलधुरामा नयाँ विमानस्थलको प्रस्ताव ल्याइएको छ । यो विमानस्थलको सम्भाव्यता अध्ययन गर्न तत्कालीन पर्यटनमन्त्री प्रेमबहादुर आलेमगरले २०७८ पुसमा ५० लाख विनियोजन गरेका थिए । जब कि हवाई नीतिले हिमाली र पहाडी क्षेत्रमा प्रस्तावित विमानस्थल र निकटस्थ विमानस्थलबीचको दूरी साधारणतया २० नटिकल माइल हुनुपर्ने व्यवस्था गरेको छ ।

डडेलधुराबाट ५७ किमिको सडक दूरीमा रहेको दिपायल विमानस्थल पनि बन्द छ । आठ वर्षर्अघि ५ करोड ३४ लाख रुपैयाँ खर्चेर स्तरोन्नति गरिए पनि यात्रु अभावमा उडान हुन सकेन । एक दशकमा यही विमानस्थलको कार्यालय सञ्चालनका नाममा ८१ लाख खर्च भएको छ । २०७८ पुस ११ मा तत्कालीन पर्यटनमन्त्री प्रेमबहादुर आलेमगरको अध्यक्षतामा बसेको उड्डयन प्राधिकरणको बैठकले डडेलधुरालगायत सुदूरपश्चिमका १० विमानस्थलका लागि १ अर्ब ३२ करोड १० लाख रुपैयाँ विनियोजन गरेको थियो । १० विमानस्थलमध्ये धनगढी र बाजुरामा मात्रै नियमित सञ्चालनमा छन् । बझाङ र साँफेबगरमा कहिलेकाहीं मात्रै जहाज पुग्छ । आधारभूत पूर्वाधार अभाव र पछौटेपनको सिकार बन्दै आएको सुदूरपश्चिम प्रदेशमा जनताको जीवनयापनसँग जोडिएका क्षेत्रमा लगानी गर्नुको साटो नीतिनियम मिच्दै, सञ्चालनमै आउन नसक्ने विमानस्थलमा रकम खन्याइएको स्थानीयलाई निको लागेको छैन । ‘यहाँ आधारभूत स्वास्थ्य सेवा नपाएर मान्छेले ज्यान गुमाइरहेका छन्, त्यता लगानी गरे जनतालाई सुबिस्ता हुन्थ्यो । पर्यटनको विकासकै लागि पनि आधारभूत पर्यटकीय पूर्वाधारमा लगानी गर्न सकिन्थ्यो,’ सुदूरपश्चिम र कर्णाली क्षेत्रको पर्यटन प्रवर्द्धनमा सक्रिय डडेलधुराका गणेश मगर भन्छन् । हवाई नीतिलाई कत्ति पनि ख्याल नराखेर बनाइएको विमानस्थलमध्येको एक हो, ओखलढुंगाको खिजी चण्डेश्वरी विमानस्थल । २०७६ सालमा बनाइएको यो विमानस्थलको २० नटिकल माइलभन्दा कम दूरीमा चारवटा अरू विमानस्थल छन् । रुम्जाटार विमानस्थल १५.७५ नटिकल माइल, सोलुखुम्बुको काँगेलडाँडा विमानस्थल १८.२० नटिकल माइल, सोलुखुम्बुकै फाप्लु विमानस्थल १५.७५ नटिकल माइल र रामेछाप विमानस्थल १३.७८ नटिकल माइल मात्रै टाढा छन् । अछामका कमलबजार, सोलुखुम्बुको काँगेलडाँडा, डोल्पाको मसिनेचौरलगायत ३९ स्थानमा यसैगरी मापदण्ड मिचेर विमानस्थल निर्माण गरिएका छन् ।   साभार : इका

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार