नेपाल वायुसेवा निगमको उडान अस्तव्यस्त…..

काठमाडौँ — दोहा हुँदै क्यानडा जान काभ्रेका दब्साङ लामा सोमबार साँझ साढे ६ बजे नै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगे । उनीसँगै राति ११ बजे दोहाका लागि काठमाडौंबाट उड्नुपर्ने र त्यहाँबाट अरू विदेशी वायुसेवाको विमानको टिकटमा तेस्रो मुलुक जान लागेका २ सय ७६ यात्रु पनि बेलुकी ८ बजेअघि नै विमानस्थल पुगिसकेका थिए । विमानस्थलको भुइँतलामा रहेको वायुसेवा काउन्टरमा चेकइन सकियो । अध्यागमन डेस्कबाट राहदानीमा प्रस्थान अनुमतिको छाप पनि लाग्यो । सुरक्षा जाँच सकेर जहाज चढ्न ‘स्टेरायल हल’ मा पत्नीसहित पुगेका लामाले ८ घण्टाको प्रतीक्षापछि राति साढे १ बजे सूचना पाए– दोहाका लागि तोकिएको निगमको उडान नम्बर आरए–२३९ रद्द गरिएको छ । जबकि नेपाल वायुसेवा निगमको यो वाइडबडी विमान राति ११ बजे नै उड्नुपर्ने थियो । श्रम भिसामा काठमाडौंदेखि क्यानडासम्मका लागि प्रतिटिकट २ लाख २० हजार तिरेका लामाले दोहाबाट क्यानडाका लागि अर्को विमान चढ्नुपर्ने थियो । राति १ बजे काठमाडौंबाट उडान रद्द भएपछि कतारबाट क्यानडा पुग्ने उडान पनि छुट्यो । नेपाल वायुसेवाको जहाजको कन्ट्रोल सेन्सरमा समस्या देखिएकाले उडाउन नमिल्ने जानकारी गराएपछि प्रतीक्षामा रहेका यात्रु आक्रोशित भए । हामीले अर्को जहाजमा पठाउने व्यवस्था गर भन्यौं,’ पोखरा हेम्जा घर भएकी एक विद्यार्थीले भनिन्, ‘तर, त्यहाँ वायुसेवाको कुनै जिम्मेवार मान्छे आएनन् ।’ के गर्ने, के नगर्ने ? यात्रु विलखबन्दमा परेका बेला राति २ बजेपछि प्रहरीले यात्रुहरूलाई हल खाली गर्न भन्यो । अध्यागमन कार्यालयले सबै यात्रुको राहदानीमा ‘डिपार्चर क्यान्सिल’ को छाप लगाइदियो । उनीहरू आफ्ना लगेज, पोका पन्तुरा बोकेर अध्यागमन हुँदै पुनः बाहिरिए । ‘होटल आइपुग्दा राति ४ बजेको थियो । मसहित ९ जना क्यानडा जाने यात्रुलाई ज्ञानेश्वरको एक होटलमा ल्याइयो,’ काभ्रे नमोबुद्ध घर बताउने लामाले भने, ‘४ बजे राति फ्राई राइस खाएर सुत्यौं ।’ निगमले यात्रुलाई ६ देखि ८ घण्टा भोकभोकै जहाजको प्रतीक्षा गरायो । उता, दोहाबाट मंगलबार राति नेपाल आउनुपर्ने २ सय ५४ यात्रु पनि उतै रोकिए । विमानस्थलमा आइसकेका कतिलाई निगमको खर्चमा होटलमा राखियो । कति घर वा डेरा फर्के ? निगमसँग आधिकारिक सूचना नै छैन । निगमका एक अधिकारी भन्छन्, ‘उडान रद्द हुँदा नेपालमा एक रात होटलमा राख्दा कम्तीमा २ हजार ५ सयदेखि ३ हजार रुपैयाँ निगमको अतिरिक्त दायित्व थपिन्छ । हाम्रा कारण रद्द भएको उडानको व्यवस्थापनमा आफैं अर्को टिकट किनिदिनुपर्छ । यस्तो हिसाब निगमले कहिल्यै सार्वजनिक गरेकै छैन । यो जहाज ग्राउन्डेड भएकाले समस्याको लहरो निम्तिएको छ । वाइडबडी जहाज सोमबार राति विमानस्थलमै ग्राउन्डेड भएपछि वायुसेवाको मंगलबार राति ११ः२५ मा जापानको नारिता हुने उडान रद्द भएको छ । मंगलबार अपराह्न मात्र फेसबुकमा सूचना जारी गर्दै निगमले काठमाडौंबाट जापानको नारिता र दोहाका लागि तय गरिएका उडान अर्को दिन सारिएको जनाएको छ । निगमको विश्वासमा परेर यात्रुले सास्ती खेपेको यो पहिलो घटना होइन । गत पुस २३ मा बैंकक उड्ने तरखरमा रहेको निगमको न्यारोबडी दुई पटक प्रयास गर्दा पनि उड्न सकेन, १ सय ५२ यात्रुलाई जहाजबाट ओरालेर राति होटलमा राखेर अर्को दिन मात्रै उडाइयो । त्यसअघि मंसिर दोस्रो साता प्रधानमन्त्री पुष्पकमल दाहाल सवार निगमको वाइडबडी ३१ यात्रुलाई काठमाडौंमै छाडेर उडेको थियो । मंसिर ६ मा पनि न्यारोबडी विमानले ६० यात्रुलाई काठमाडौंमै छाडेर उडेको थियो । त्यो बेला ओभर बुकिङ भएको जनाउँदै निगमले ती यात्रुलाई चेकइन काउन्टरबाटै फर्काएको थियो ।

निगमसँग अन्तर्राष्ट्रिय उडानमा दुई वाइडबडी र दुई न्यारोबडी गरी चार जहाज छन् । १ सय ५८ सिट क्षमताको न्यारोबडी (अल्फा किलो एक्सरे) मंसिर १३ देखि ग्राउन्डेड थियो, शुक्रबार मात्रै इजरायल मर्मतका लागि पठाइएको छ । ‘त्यसमा हाल्नुपर्ने पुरानो इन्जिन नै मर्मत नभएको इमेल आएको छ,’ निगमको इन्जिनियरिङ विभागका एक प्राविधिकले भने, ‘मर्मत हुने कहिले हो, यकिन छैन । निगमको वाणिज्य विभागका एक अधिकारीका अनुसार उक्त जहाज ग्राउन्डेड भएयता निगमले सातामा गर्ने १४ वटा दिल्ली उडान कटौती गर्दै ७ वटामा झारेको छ । जबकि नाफाको रुट मानिने काठमाडौं–दिल्ली रुटमा भारतीय वायुसेवा इन्डिगो, भिस्तारा, एयर इन्डिया तथा भुटानका ड्र्युक र भुटान एयरलाइन्सले दैनिक कम्तीमा १० उडान गर्छन् । निगमको मुम्बईको उडान नियमित हुन सकिरहेको छैन । बैंङलुरुका सबै उडान रद्द गरिएका छन् । दमाममा नियमित उडान हुन सकिरहेको छैन । न्यारोबडीले उडान गर्नुपर्ने रुटमा घाटामा वाइडबडी सञ्चालन गरिएको छ । निगमको अर्थ विभागका अनुसार न्यारोबडीले दैनिक डेढ करोड र वाइडबडीले चार करोड रुपैयाँ हाराहारीको कारोबार गर्छ । तर एउटा विमान इजरायलमा र अर्को काठमाडौंमा ग्राउन्डेड भएसँगै निगमले दैनिक ५ करोड रुपैयाँ हाराहारी आम्दानी गुमाइरहेको छ । सोमबार ग्राउन्डेड विमानको स्पेयर पार्ट्स बेलायतबाट एजेन्ट कम्पनी एजे वाल्टरले टर्किस एयरलाइन्सको उडानबाट बिहीबार नेपाल पठाउन लागेको निगमका प्राविधिकले बताए । उनका अनुसार, जहाज ग्राउन्डेड भएको १२ घण्टामा सामान पठाइसक्नुपर्ने सम्झौता भए पनि एजे वाल्टरले तीन दिन ढिलाइ गर्दा यसको जिम्मेवार को हो भन्ने पत्तो छैन । निगमको लापरबाहीबारे कार्यकारी अध्यक्ष युवराज अधिकारीसँग टेलिफोन सम्पर्क गर्दा उनले प्रवक्तालाई सोध्नु भन्दै पन्छिए । पर्यटन मन्त्रालयका सचिव दीपक काफ्लेले आफूलाई जानकारी प्राप्त भइनसकेको बताए । ‘निगमको यो घटना मलाई जानकारी छैन, म बाहिर छु । प्रवक्तालाई सोध्नू,’ उनले भने । निगमका प्रवक्ता रमेश पौडेलले दुई जहाज ग्राउन्डेड भएका कारण अरू उडान रद्द नगरी डिले गरी मिलाउन निगम व्यवस्थापन लागिपरेको बताए । ‘जहाज कम छन् । चार वटा जहाज लिएर हामी अन्तर्राष्ट्रिय वायुसेवा भरिरहेका छौं, कम्तीमा २०/२५ वटा जहाज भइदिएको भए राष्ट्रिय ध्वजावाहक भन्न मजा आउँथ्यो । काठमाडौंबाट उडान हुने ३३ वटा विदेशी गन्तव्यमध्ये निगमले १० वटामा सातामा कम्तीमा १ देखि ७ सम्म उडान गर्दै आएको छ । चार वटा विमान खरिद गर्दा तथा अन्य काममा निगमले कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषलगायतबाट लिएको ऋणको साँवा तथा ब्याज गरी ४८ अर्ब दायित्व छ ।  साभार : इका

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार