माओवादी, कांग्रेस र राप्रपालाई एमालेको धोका…..

काठमाडौँ — सत्तारूढ र सरकारबाहिरका दल गठबन्धन बनाएर राष्ट्रिय सभा निर्वाचनमा सहभागी भए पनि दुवैतर्फ अनपेक्षित परिणाम देखिएको छ । चासोपूर्वक हेरिएको कोशी प्रदेशमा सत्ता र प्रतिपक्षी दुवै गठबन्धनले अपेक्षा गरेभन्दा बाहिरको परिणाम आएको हो । कोशीमा सत्ता गठबन्धनका उम्मेदवार कृष्णप्रसाद सिटौला विजयी हुँदा माओवादीकी चम्पादेवी कार्की पराजित भएकी छन् । अर्कोतर्फ प्रतिपक्षी गठबन्धन एमालेका उम्मेदवार रुक्मिणी कोइराला विजयी हुँदा राप्रपाका उद्धव पौडेल पराजित भए । कोशीमा सिटौलाले ५ हजार २ सय ९२ मतभार ल्याएर निर्वाचित हुँदा माओवादी चम्पादेवीले ४ हजार ९ सय ९२ मतभार प्राप्त गरिन् । प्रतिपक्षी गठबन्धनबाट राप्रपाका पौडेलले ४ हजार ५ सय २६ मतभार प्राप्त गर्दा एमालेकी रुक्मिणी कोइराला ५ हजार ८६ मत ल्याएर निर्वाचित भइन् । यो विजयसँगै सिटौलाले संसदीय र सत्ता यात्रामा पुनरागमन गरेका छन् । २०७४ र २०७९ को प्रतिनिधिसभा निर्वाचनमा एमाले–राप्रपा गठबन्धनबाट लगातार पराजित भएपछि उनको संसदीय यात्रामा अल्पविराम लागेको थियो । कोशीमा सत्तारूढ गठबन्धनको स्पष्ट बहुमत थियो । गठबन्धनमा रहेका कांग्रेस, माओवादी, एकीकृत समाजवादीलगायतको मतभार जोड्दा एमालेभन्दा अगाडि थियो । त्यहाँ एमालेको मतभार ४ हजार २ सय ४८, कांग्रेसको ३ हजार ६ सय ८४, माओवादीको १ हजार २ सय ७८, राप्रपाको ३ सय ९४, एकीकृत समाजवादीको ३ सय ४५, जसपाको १ सय २९ थियो । सत्ता गठबन्धनको ५ हजार ४ सय ३६ मतभार थियो भने प्रतिपक्षी एमाले–राप्रपा गठबन्धनको ४ हजार ६ सय ४२ थियो । तर, पौडेलले ४ हजार ५ सय २६ मतभार प्राप्त गरे । यसलाई राप्रपाले ‘धोका’ को टिप्पणी गरेको छ । राप्रपासँग गठबन्धन गरेर एमालेले परशुराम अधिकारीको उम्मेदवारी निष्क्रिय गराएको थियो तर उनलाई एक प्रदेश सांसद र पाँच स्थानीय जनप्रतिनिधिले मत दिएका छन् । कोशीमा आफ्ना उम्मेदवार पराजित भएपछि माओवादी प्रदेश अध्यक्ष हर्कबहादुर नेम्वाङले कांग्रेसको एक समूहले अन्तर्घात गरेको प्रतिक्रिया दिए । मुख्यमन्त्री माओवादीलाई दिन नहुने लबिइङमा लागेको कांग्रेसको एक समूहले राष्ट्रिय सभा निर्वाचनमा पनि धोका दिएकाले प्रदेशमा गठबन्धनको औचित्य सकिएको उनको भनाइ छ । राष्ट्रिय सभा परिणामले सत्तारूढ गठबन्धनबाट सरकारको नेतृत्व गरिरहेको माओवादीलाई भने झस्काएको छ । सत्ता गठबन्धनको राष्ट्रिय सभा निर्वाचन केन्द्रीय समन्वय समिति सदस्यसमेत रहेका माओवादी उपमहासचिव वर्षमान पुनले कांग्रेसलाई कतिसम्म विश्वास गर्ने भन्नेमा संशय पैदा भएको प्रतिक्रिया दिए । कोशीको मुख्यमन्त्रीदेखि अहिले राष्ट्रिय सभा निर्वाचनको परिणाम हेर्दा कांग्रेसमाथि संशय पैदा भएको र त्यसको हल निकाल्नुपर्ने उनको भनाइ छ । ‘संगठित रूपमा नै गठबन्धनविरुद्ध कांग्रेसबाट यस्तो व्यवहार देखिएको छ,’ उनले भने, ‘यसअघि मुख्यमन्त्री चयन गर्दा हाम्रो दलका नेता इन्द्र आङ्बोलाई बनाउने गरी गठबन्धनले निर्णय लियो । कांग्रेसको एउटा समूहले एमालेको समर्थन लिएर सरकार बनायो र पनि हामीले समर्थन गरिदियौं । अहिले कांग्रेसमा त्यही प्रवृत्ति दोहोरियो, आफ्ना उम्मेदवार जिताउने र हामीलाई हराउने गर्दा अविश्वास बढ्यो ।  साभार : इका

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार