जीबी राईविरुद्ध डिफ्युजन नोटिस जारी…..

काठमाडौँ — पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको १ अर्ब रुपैयाँभन्दा बढी रकम हिनामिना अभियोग लागेका ग्यालेक्सी टेलिभिजनका अध्यक्ष गितेन्द्रबाबु (जीबी) राईविरुद्ध डिफ्युजन नोटिस जारी भएको छ । इन्टरपोलले शुक्रबार राईलाई डिफ्युजन नोटिस जारी गर्दै विश्वका प्रहरीहरुको फरार सूचीमा राखेको हो । सूर्यदर्शन सहकारीका संस्थापक अध्यक्षसमेत रहेका राईविरुद्ध सहकारीको रकम हिनामिनासम्बन्धी मुद्दामा कास्की प्रहरीले डिफ्युजन नोटिसको प्रक्रिया अघि बढाइदिन प्रहरी प्रधान कार्यालयलाई अनुरोध गरेको थियो । त्यसपछि प्रहरी प्रधान कार्यालयले राईविरुद्ध नोटिस जारीका लागि इन्टरपोललाई २ साताअघि मात्रै पत्राचार गरेको थियो । कास्की प्रहरी प्रमुख एसपी मोहन थापाले जीबीविरुद्ध डिफ्युजन नोटिस जारी भएको पुष्टि गरे । ‘नोटिस जारी भएर आएको छ । योसँगै नोटिस जारी भएका व्यक्ति इन्टरपोलको सदस्य राष्ट्रका प्रहरीको फरार सूचीमा समेटिएका छन् । राईसहित सूर्यदर्शनका पूर्वअध्यक्षद्वय भूपेन्द्र राई र हालका अध्यक्ष थानबहादुर बुढामगरविरुद्ध नोटिस जारी गर्न अनुरोध गरेकोमा उनीहरुको हकमा निर्णय भइनसकेको एक प्रहरी अधिकृतले जानकारी दिए । जीबी राईविरुद्ध नोटिस जारी भइसकेको छ । अन्य २ जनाविरुद्ध पनि छिट्टै निर्णय होला ।’ जिल्ला प्रहरी कार्यालय कास्कीले पुस ५ मा जीबी, भूपेन्द्र र थानबहादुर बुढाविरुद्ध नोटिस जारी गर्न पत्र पठाएको थियो । राईसहित १९ जनाविरुद्ध सहकारीको १ अर्बभन्दा बढी रकम हिनामिना गरेको अभियोगमा कास्की जिल्ला अदालतमा मुद्दा विचाराधीन छ । मुद्दाका मुख्य अभियुक्त नै फरार हुँदा बचतकर्ताको रकम कसरी असुल हुने भन्नेमा अन्योल छ । स्रोतका अनुसार फरार २०८० असोज १८ मै जिल्ला सरकारी वकिल कार्यालय कास्कीले सहकारीका वर्तमान र पूर्वपदाधिकारी/सञ्चालक तथा कर्मचारीसहित १९ जनालाई प्रतिवादी बनाएर मुद्दा दायर गरेको थियो । रकम हिनामिनाबारे सुरुमा पोखरा महानगरपालिकाले छानबिन गरी थप अनुसन्धानका लागि कास्की प्रहरीमा जाहेरी दिएको थियो । महानगरको छानबिनकै क्रममा अभियुक्तमध्येका कतिपय सम्पर्कविहीन बनेका थिए । प्रहरीले रकम हिनामिना प्रकरणमा सहकारी ऐन र मुलुकी अपराध संहिताको ठगीसम्बन्धी कसुरमा कास्की अदालतबाट साउन ४, असोज २ र असोज ७ मा पक्राउ अनुमति लिएको थियो । अदालतबाट अनुमति पाएका बखत आरोपितहरू काठमाडौंलगायत जिल्लामा लुकेर बसेको र पक्राउ गरी बुझाइदिन कास्की प्रहरीले कात्तिक १० मा प्रहरी प्रधान कार्यालयलाई पत्र पठाएको थियो । कास्की प्रहरीले प्रहरी प्रधान कार्यालयलाई पत्र पठाउँदा अभियुक्तहरू काठमाडौं, भक्तपुर र ललितपुरका विभिन्न ठाउँमा लुकेर बसेको आशंका थियो । तर, कुमार रम्तेलबाहेक कोही पनि आरोपित पक्राउ परेका थिएनन् । पछिल्लो समय प्रहरीले खोजीलाई तिब्र बनाएपछि थप२ जना पक्राउ परेकामा अझै १६ जना फरार छन् । अनुसन्धान चरण र अदालतमा विचाराधीन मुद्दाका फरार प्रतिवादी देशभित्र फेला नपरेमा इन्टरपोलमार्फत खोजबिनका लागि सम्वन्धित देशका प्रहरीको अनुरोधमा डिफ्युजन नोटिस जारी हुन्छ । नेपाल इन्टरपोलको सदस्य राष्ट्र हो । फरारमध्येका जीबी राई गोरखा मिडिया नेटवर्कमार्फत सञ्चालित ग्यालेक्सी टेलिभिजनका अध्यक्ष हुन् । ठगी अभियोगमा उनीसहित कैलाशकुमार दर्लामी, धीरजकुमार दास, हेमन्त अधिकारी, प्रमोद भट्टराई, थानबहादुर बुढामगर, भूपेन्द्र राई, अनुज नकर्मी, शिवबहादुर गुरुङ (महेन्द्र भोटे), भविश्वर अर्याल, आइस्मा गुरुङ, कविता तामाङ, सागर केसी, ललिता तामाङ, दिनेश रोका, सृष्टि मानन्धर, बुद्धि गुरुङ र सुरज श्रेष्ठविरुद्ध जिल्ला अदालत कास्कीमा मुद्दा विचाराधीन छ । सूर्यदर्शनसहित अन्य जिल्लामा खोलिएका आधा दर्जन सहकारीको रकम हिनामिना प्रकरणमा समेत जीबी राईसहितका व्यक्ति मुछिएका छन् । राईले पोखराको सूर्यदर्शन र चितवनको साहारामा जस्तै वीरगन्जमा सानो पाइला, बुटवलमा सुप्रिम, नेपालगन्जमा समानता र काठमाडौंमा स्वर्णलक्ष्मी नाम राखेर दसौं हजार सर्वसाधारणको बचत हिनामिना गरेको आरोप छ । त्यसमध्ये सूर्यदर्शनको हिनामिनाको मुद्दा मात्रै अदालत पुगेको छ ।  साभार : इका

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार