अध्यागमनमा घुस खान सहजीकरण समिति नै छ…..

काठमाडौँ –   २०८० कात्तिक १४ गते त्रिभुवन विमानस्थलबाट भिजिट भिसामा विभिन्न देशमा जान लागेका कौशिला मगर र लक्ष्मी राईको कागजात शङ्कास्पद देखिएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय गौचरले उनीहरूको कागजात नियन्त्रणमा लिई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयमा अनुसन्धानका लागि पठायो । उनीहरूको साथबाट हवाई यात्रा अनुमति समेतका कागजातहरू शङ्कास्पद देखिएको तथा सम्बन्धित एयरलाइन्सका कर्मचारीहरूसँग समन्वय गर्दा समेत आवश्यक कागजातहरू पूरा नभएको देखिएकाले त्यस सम्बन्धमा थप छानबिन गर्न भन्दै उनीहरूको पासपोर्ट सहितका कागजात अनुसन्धानका लागि पठायो । अनुसन्धान गर्दा कौशिला मगर र लक्ष्मी राईको श्रम स्वीकृति लगायतका कागजातहरू नक्कली रहेको पुष्टि भयो । उनीहरूसँग बयान लिँदा आफूहरू कुवेत जानको लागि श्रम स्वीकृति र पुलिस रिपोर्टको कागजात चाहिन्छ भनी गीता शाह नाम गरेकी महिलाले पैसा लिएर बनाइदिएको भन्ने बयान दिए । सोही बयानका आधारमा गीता शाह र उनीसमेतको बयानमा अरुण दाहाललाई प्रहरीले पक्राउ गर्‍यो । उनीहरू पक्राउ परेपछि गीता शाहले अरुण दाहालमार्फत विदेश जाने विभिन्न व्यक्तिहरूको नक्कली श्रम स्वीकृति, पुलिस रिपोर्ट लगायतका कागजात बनाई दिने गरेको तथा अरुण दाहाललाई सोधपुछ गर्दा गीताशाह मार्फत आएका विभिन्न व्यक्तिहरूको नक्कली श्रम स्वीकृति, पुलिस रिपोर्ट लगायतका कागजात बनाई ट्राभल्समा काम गर्ने सरोज कुमार यादवलाई दिने गरेको र निजले एयरपोर्टमा सेटिङ मिलाउने गरेको बयान दिए । साथै अरुणको बयानमा अध्यागमन लगायतका स्थानमा सेटिङ गरेबापत यादवले महिलाको हकमा ५० हजार र पुरुषको हकमा १८ हजार रुपैयाँ लिने गरेको तथा सो रकम गीता शाहले नै दिने गरेको बयान दिए । सोही बयानका आधारमा २०८० मङ्सिर १८ गते सरोजकुमार यादव पनि पक्राउ परे । पक्राउपछि लिइएको मौकाको बयानमा यादवले आफूले पर्यटक भिसामा विदेश जाने व्यक्तिहरूको टिकट काट्ने, एयरपोर्ट भित्रको सम्पूर्ण प्रक्रिया मिलाउने काम गर्छु, एजेन्टले दिएको नामावली अध्यागमन कार्यालयका कर्मचारी नरवीर खड्कालाई पठाई प्रतिव्यक्ति १५ हजार दिने गरेको छु, निजलाई हालसम्म ४ लाख रुपैयाँ जति दिएको छु भनी बयान गरे ।

              म बिगत २०७९ साल माघ महिनादेखि अध्यागमन कार्यालय एयरपोर्टमा कार्यरत रहेको छु, मेरो कार्यालयमा कार्यरत अधिकृत १३० जना छन्, २२/२४ जना सुब्बा, अपरेटरहरू ८/९ जना र प्रमुख अधिकृत १ जना छन् । मेरो कार्यालयमा ३ सिफ्टमा ड्युटी विभाजन हुन्छ । भिजिट भिसामा सेटिङ मिलाउने एजेन्ट एन्ड होलिडेज एन्ड ट्राभल्सका सञ्चालक सरोज यादव, लाल बहादुर भगत, मनोज लामा, रामेछाप घर हुने पदम लामा, प्रकाश चौधरी समेतसँग २०८० साल अषाढ महिनादेखि मिलेमतो गरी पुरुषको १० देखि १५ हजार, महिलाको ४० देखि ५० हजारसम्म, १ पटकमा १० देखि २० जना, कहिले काहीँ १०० देखि १५० जना सम्मको रकम लिई भिजिट भिसामा सेटिङ मिलाउने एजेन्टहरू मार्फत लिने गरेको भनेको ठाउँहरूमा लिने गरी उनीहरूले रकम पठाउँथे, उक्त भिसाको लागि सहजीकरणको लागि एउटा समिति बनेको हुन्छ । समितिमा कुशल बराल, शैलेन्द्र ढकाल, विमल पौडेल, विष्णु अर्याल, विकास डङ्गोल, पीताम्बर रिमाल, सुजन फागो समेत हुनुहुन्छ । सरोज यादवले मलाई पटक पटक गरी ३/४ लाख जति दिएको । भिजिट भिसामा सेटिङ मिलाउने एजेन्टहरू मार्फत समितिमा उक्त रकम कहाँ कहाँ साथीहरूले विभाजन गर्छन् मलाई जानकारी हुँदैन, औसतमा प्रत्येक कर्मचारीको भागमा मेरोबाट गएको ४०/५० हजार हुन्छ, हामीहरूको मनोज लामा र पदम लामा मुख्य सेटिङ मिलाउने एजेन्ट रहेको । मेरो साथमा फेला परेको २ लाख पदम लामाले दिएको हो । लेखिएको ब्यहोरा ठिक साँचो छ, फरक छैन, फरक पारी झुट्टा ब्यहोरा लेखि लेखाएको ठहरे कानुन बमोजिम सहुँला बुझौँला । साभार : रापा

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार