क्यानडाविरुद्ध अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाल ४ विकेटले विजय…..

काठमाडौँ — अनिल शाहको कीर्तिमानी अर्धशतक, कप्तान रोहित पौडेल र देव खनालको शतकीय साझेदारीमा नेपालले शनिबार क्यानडाविरुद्ध दोस्रो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा ४ विकेटको विजय हात पारेको छ । यससँगै नेपालले तीन खेलको शृंखला २–० को अविजित अग्रतासाथ जितेको छ । अनिलले १९ बलमै अर्धशतक तथा रोहित र देवले तेस्रो विकेटमा १ सय ५० रनको साझेदारी गरेपछि नेपालले २ सय ८६ रनको लक्ष्य ४५.१ ओभरभित्र २ सय ८७ रन बनाएको थियो । नेपालले अन्तर्राष्ट्रिय एकदिवसीयमा सबैभन्दा ठूलो लक्ष्य पछ्याउँदै विजय हात पार्ने आफ्नै कीर्तिमान बराबरी गरेको हो । गत वर्ष नामिबियाविरुद्ध पनि नेपालले विश्वकप लिग २ मा पनि २ सय ८७ रन बनाएर खेल जितेको थियो । अनिलले नेपालबाट एकदिवसीय अन्तर्राष्ट्रियमा सबैभन्दा थोरै बलमा अर्धशतक बनाउने कीर्तिमान बनाएका हुन् । आसिफ शेखले गत वर्ष पपुवा न्युगिनीविरुद्ध २१ बलमा अर्धशतक बनाएका थिए । दुई वर्षपछि राष्ट्रिय टोलीमा पुनरागमन गरिरहेका अनिलले २० बल खेल्दै ७ चौका र ३ छक्कासहित ५० रन बनाए । अर्धशतक बनाएलगत्तै उनी ईश्वरजोत सोहीको बलमा एलबीडब्लू आउट भए । अनिल सातौं ओभरमा आउट हुँदा नेपालको स्कोर ६४ रन थियो । अर्का ओपनर आसिफ शेख १० रनमा आउट भए । रोहित र देवको १ सय ५० रनको साझेदारी एकदिवसीय अन्तर्राष्ट्रियमा नेपालको तेस्रो विकेटका लागि सवैभन्दा ठूलो साझेदारी हो । सबै विकेटमा नेपालको यो दोस्रो ठूलो साझेदारी हो । अनिलजस्तै देवले पनि राष्ट्रिय टोलीमा फर्किएको खुसी अर्धशतकसाथ मनाए । साता अघिमात्र दक्षिण अफ्रिकामा यू–१९ विश्वकप खेलेर फर्किएका देवले ८१ बल खेल्दै ७ चौका र २ छक्कासहित ७६ रन जोडे । रोहित लगातार दोस्रो खेलमा प्लेयर अफ द म्याचमा चुनिए । उनले १ सय १ बल खेल्दै ८ चौका र ४ छक्कासहित ८७ रन बनाए । नेपाललाई विजयनिम्ति २५ रन चाहिँदा उनी आउट भएका थिए । भीम सार्कीले २१ बलमा ४ चौकासहित २३ र पवन सर्राफले ८ बलमा २ चौका र १ छक्कासहित १४ रन बनाए । कुशल मल्ल र सोमपाल कामी दुवै ९ रनमा अविजित रहे । कुशलले विजयी छक्का प्रहार गरेका थिए । क्यानडाबाट हर्ष ठाकर र सोहीले २–२ विकेट लिए । यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर क्यानडाले ब्याटिङ गर्दै निर्धारित ५० ओभरमा ९ विकेट गुमाई २ सय ८५ रन बनाएको थियो । आरोन जोन्स र नवनीत धालिवालले पहिलो विकेटमा १९ ओभरभित्र ९४ रनको साझेदारी गरेर क्यानडालाई उत्कृष्ट सुरुआत दिलाएका थिए । तर रोहित र कुशलको उत्कृष्ट बलिङमा नेपालले राम्रो पुनरागमन गरे पनि तल्लोक्रममा ब्याटरले क्यानडालाई राम्रो स्कोरमा पुर्‍याए । डेब्यु गरिरहेका आकाश चन्दले धालिवाललाई आउट गरी यो साझेदारी तोडे । धालिवालले ६० बल खेल्दै ८ चौका प्रहार गरी ४६ रन बनाए । जोन्सले रनआउट हुनुपूर्व ६२ बल खेली १० चौका र २ छक्कासहित ६५ रन बनाए । प्रगत सिंह ३८ बलमा ६ चौका प्रहार गर्दै ३८, निकोलस किर्तन २९ बलमा २ चौकासहित २० रन बनाई आउट भए । ठाकर ३, आफ्नो पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय खेलिरहेका दिलप्रित बाजवा १९, कप्तान साद बिन जाफर १ र साहिद अहमदजाई १३ रन बनाएर आउट भए । श्रेयस मोव्वा र उदय भगवानले नवौं विकेटमा ४६ रनको साझेदारी गरे । मोव्वा इनिङ्सको अन्तिम बलमा आउट भए । उनले ४२ बल खेल्दै ४ चौकासहित ४० रनमा आउट भए । भगवानले १५ बलमा अविजित २२ रन बनाउनेक्रममा समान १ चौका र छक्का प्रहार गरे । रोहित र कुशलले २–२ विकेट लिए । रोहितले ८ ओभरमा ३२ र कुशलले १० ओभरमा ५१ रन खर्चे । सूर्य तामाङ, आकाश, सोमपाल र पवनले १–१ विकेट लिए । सूर्यको यो पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय विकेट हो । नेपालले कुशल भुर्तेल, आरिफ शेख र ललित राजवंशीलाई प्लेयिङ ११ बाहिर राखिएको थियो । तेस्रो तथा अन्तिम खेल सोमबार हुनेछ । साभार : इका

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार