सरकारी सेवामा अयोग्य खनियाँलाई नै उपकुलपति बनाउन जोडबल…..

काठमाडौँ — त्रिभुवन विश्वविद्यालयको उपकुलपति छँदै चिकित्सा शिक्षासम्बन्धी जाँचबुझ आयोगबाट ‘भविष्यमा सरकारी सेवामा अयोग्य’ हुने गरी बर्खास्तको सिफारिसमा परेका तीर्थराज खनियाँ पुनः उपकुलपति बन्न सर्टलिस्टमा परेका छन् । ‘बौद्धिक चोरी’ को आरोप लाग्दालाग्दै त्रिविमा २०७२ भदौमा नियुक्त हुन सफल उनी २०७६ भदौमा थप विवादको भारी बोकेर उपकुलपतिबाट बिदाइ भएका थिए । तत्कालीन प्रधानमन्त्री तथा कुलपति सुशील कोइरालाले कांग्रेस कोटाबाट उपकुलपतिमा नियुक्त गरेका थिए । यतिबेला उनै खनियाँ प्रधानमन्त्री तथा कुलपति पुष्पकमल दाहालद्वारा गठित शिक्षामन्त्री अशोकुमार राई अध्यक्ष रहेको छनोट तथा सिफारिस समितिले ४३ जनामध्येबाट निकालेको १४ जनाको सर्टलिस्टमा अटाएका छन् । माओवादी अध्यक्षसमेत रहेका प्रधानमन्त्रीसँग नजिकको सम्बन्ध रहेका खनियाँ नै उपकुलपतिमा दोहोरिने सम्भावना प्रबल रहेको सरकारी अधिकारी बताउँछन् । उनी कांग्रेसको महासमिति सदस्य र चितवनबाट प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारका लागि सिफारिसमा परेका व्यक्ति पनि हुन् । खनियाँ नभए माओवादी कोटाबाट पोखरा विश्वविद्यालयका पूर्वउपकुलपति केशरजंग बराल त्रिविको २० औं उपकुलपति हुन सक्ने अनुमान गरिएको छ । बराल पनि पोखरा विश्वविद्यालयले दिएको सम्बन्धनका विषयमा अनियमिततामा मुछिएका व्यक्ति हुन् । उनले भने सफाइ पाइसकेका छन् । ‘१४ जनामा कांग्रेस र माओवादीबाट भरपर्दो उम्मेदवार खनियाँ र बराल मात्र देखिएका छन्,’ एक प्राध्यापकले भने, ‘दुईमध्ये एकलाई उपकुलपति बनाउन सर्टलिस्ट गर्दा अन्य सम्भावितलाई पहिले नै हटाइएको पनि हुन सक्छ ।’ माओवादी कोटाबाटै उपकुलपति बन्न बरालपछि बढी सम्भावना भएका निमित्त उपकुलपति शिवलाल भुसाल पनि विवादमा तानिएका छन् । रेक्टर हुँदा सूचना लुकाएको आरोपमा राष्ट्रिय सूचना आयोगले उनलाई जरिवाना गरेको थियो । निमित्त हुँदा गरेको नियुक्ति र कर्मचारी सरुवाका कारण पनि उनी आलोचित छन् । चितवन निवासी खनियाँ प्रधानमन्त्री पुत्री तथा भरतपुर महानगरपालिकाकी प्रमुख रेणु दाहालसँग पनि निकट मानिन्छन् । ‘कांग्रेसको दोस्रो तहका नेताहरूसँग पनि भेटघाट र कुराकानी भएको छ । तीन जनाको सूचीमा अन्तिम सिफारिसमा परेपछि प्रधानमन्त्रीसहित नेताहरूलाई भेट्ने तयारी छ,’ खनियाँ निकट एक सहप्राध्यापकले भने । सर्टलिस्टमा परेकामध्ये ६/६ जना कांग्रेस र माओवादी तथा एक/एक जना एकीकृत समाजवादी र एमाले निकट छन् ।  साभार : इका

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार