नेपाल नेदरल्यान्ड्सविरुद्धको खेलमा ९ विकेटले विजय…..

काठमाडौँ — नेपालले नेदरल्यान्ड्सविरुद्ध ९ विकेटको विजय हात पार्दै विश्वकप लिग-२ क्रिकेटमा लयमा फर्किएको छ । नेपालले शनिबार १ सय ३८ रनको लक्ष्य १५.२ ओभरमै १ सय ४१ रन बनायो । नोभेम्बरमा भारतमा सम्पन्न विश्वकपपछि एकदिवसीय क्रिकेटमा पहिलो खेल खेलिरहेको नेदरल्यान्ड्सलाई नेपालले कुनै मौका नै दिएन । कुशल भुर्तेलले आक्रामक इनिङ्स खेल्दै नेपालको सुरुआत गरेका थिए । उनले ११ बल खेली २ चौका र ३ छक्का प्रहार गरी २८ रन बनाएका थिए । त्यसपछि आसिफ शेख र अनिल साहले ठूलो शटहरू खेलेपछि नेपालले १० ओभरमा १ सय रन जोडेर उत्कृष्ट सुरुआत गरेको थियो । आसिफ र अनिलले दोस्रो विकेटमा १ सय ५ रनको साझेदारी गरे । अनिलले आर्यन दत्तको बलमा छक्का प्रहार गर्दै आफ्नो अर्धशतक पूरा गरेका थिए । उनले २९ बलमै अर्धशतक पूरा गरेका थिए । पछिल्ला चार खेलमा उनले तेस्रो पटक ५० रनमाथिको स्कोर बनाएका हुन् । अनिल ५७ र आसिफ ५४ रन बनाई क्रिजमा रहे । अनिलले कुल ३६ बल खेली ६ चौका र ४ छक्का तथा आसिफले ४५ बल खेली ८ चौका र १ छक्का प्रहार गरे । नेपालको आक्रामक ब्याटिङपछि नेदरल्यान्ड्सका अफ स्पिनर दत्तले ३ ओभरमा ४४ रन खर्चन पुगेका थिए । यसअघि नेपालले टस जितेपछि उत्कृष्ट बलिङ र फिल्डिङ गर्दै ब्याटिङको निम्ता दिएको नेदरल्यान्ड्सलाई ३९ ओभरमा १ सय ३७ रनमा अलआउट गरेको थियो । कुशलले भुर्तेलले सानदार बलिङ गर्दै नेदरल्यान्ड्सलाई सानो स्कोरमा रोक्न भूमिका खेले । त्रिवि क्रिकेट मैदानमा नेपाल पहिलो ओभरबाटै खेलमा हाबी भएको थियो । सोमपाल कामीले पहिलो ओभरमै डेब्यु गरिरहेका माइकल लेभिटलाई थर्डमा देव खनालबाट क्याच गराई नेपाललाई सानदार सुरुआत दिलाएका थिए । एक छक्का प्रहार गरेका म्याक्स ओ डड १० रन बनाई रन आउट भए । साइब्रान्ड इन्जेलब्रेट र बास डी लेडले तेस्रो विकेटमा ३८ रनको साझेदारी गरे । ललित राजवंशीले इन्जेलब्रेटलाई २३ रनमा आउट गरी यो साझेदारी तोडेका थिए । उनले ५३ बल खेल्दै ३ चौका प्रहार गरे । लेडले ४४ बल खेली ३ चौका र १ छक्का प्रहार गर्दै २७ रन बनाए । उनलाई ललितले उत्कृष्ट बलमा बोल्ड गरेका थिए । नोह क्रोस १२ रन बनाई रनआउट भए । कुशल मल्लले आफ्नै बलिङमा फ्लो थ्रोमा नियन्त्रण गर्न खोजेको बल स्टम्पमा लागेपछि क्रोस आउट भएका थिए । कुशल भुर्तेलले आफ्नो पहिलो ओभरमै वेस्ली वारेसीलाई शून्यमा आउट गरी नेपालको दबदबालाई कायम राखे । कप्तान रोहित पौडेलले सरिज अहमदलाई १ रनमा बोल्ड गरी खेलमा नेपालको दबदबा कायम राखे । भुर्तेलले आर्यन दत्तलाई १० रनमा आउट गरे । भुर्तेलले अर्को महत्त्वपूर्ण विकेट लिनेक्रममा कप्तान स्कट इडवार्डसलाई एलबीडब्लू आउट गरे । इडवार्डसले ४९ बल खेली १ चौका प्रहार गरी ३३ रन बनाए । भिभिएन किङमालाई २ रनमा आउट गरी उनले चौथो विकेट लिए । आफ्नो ५० औं एकदिवसीय अन्तर्राष्ट्रिय खेलिरहेका भुर्तेलले ७ ओभरमा २० रनमात्र खर्चेका थिए । यसअघिका खेलहरूमा उनको नाममा ४ विकेटमात्र थियो । ललितले २ विकेट लिनेक्रममा १० ओभरमा ३२ रन खर्चे । नेपाल बिहीबार नामिबियाविरुद्ध पहिलो खेलमा अप्रत्याशित रूपमा ४ विकेटले पराजित भएको थियो । नामिबियाले टस जितेपछि ब्याटिङका लागि आएको नेपाल १ सय ३२ रनमा अलआउट भएको थियो । त्यही भएर नेपालले नेदरल्यान्ड्सविरुद्ध पहिला फिल्डिङ गर्ने निर्णय गरेको थियो । नेपाली टोलीमा दीपेन्द्रसिंह ऐरी फर्किएका छन् । इन्टरनेसनल लिग ट्वान्टी-२० मा गल्फ जायन्ट्सबाट सहभागी हुन दुबई जाँदा दीपेन्द्रले नामिबियासँगको खेल गुमाएका थिए । दीपेन्द्रलाई पवन सर्राफको स्थानमा ल्याइएको छ । त्यस्तै देव खनाललाई करण केसीको स्थानमा खेलाइएको छ ।  साभार : इका

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार