चिसोको कारण त्रिपालमै ३८ भूकम्पपीडितको मृत्यु…..

सुर्खेत, सल्यान — भूकम्पले घर भत्किएको चार महिनामा समेत ओत बनाउन नसकेर अलपत्र पीडितहरूमध्ये चिसोका कारण मृत्यु हुनेको संख्या ३८ पुगेको छ । अधिकांशले ज्वरो, निमोनिया, दम, क्षयरोग, रक्तचापका कारण ज्यान गुमाएका हुन् । कात्तिक १७ को भूकम्पपछि त्रिपाल र टहरामा ओत लागेर बसिरहेका पीडितले गतिलो बास, उचित खानपिन तथा स्याहार पाउन सकेका छैनन् । चिसाकै कारण अधिकांश पीडित बिरामी छन् । मृत्यु हुनेमा जाजरकोटका ३२ र रुकुम पश्चिमका ६ जना छन् । सबैभन्दा धेरै जाजरकोटको कुशे गाउँपालिकामा ९ जनाको ज्यान गएको छ । त्यस्तै जुनेचाँदेमा ५, नलगाडमा ४, भेरीमा ३, बारेकोटमा ४ र छेडागाडमा ७ जनाको मृत्यु भएको हो । रुकुम पश्चिमको आठबिसकोटमा ३, बाँफिकोटमा १ र सानीभेरीमा २ जनाको त्रिपालमा बसिरहेकै अवस्थामा ज्यान गएको छ । जाजरकोटको कुशे र बारेकोट क्षेत्रको माथिल्ला भेगमा हिमपात हुने गर्छ । जसका कारण अत्यधिक चिसोले धेरैको ज्यान गएको आधारभूत विद्यालय कुशे–६ का शिक्षक अमर ओलीले बताए । ‘अत्यधिक चिसो हुने ठाउँको जाडो त्रिपालले कसरी छेकिन्थ्यो ?,’ उनले भने, ‘चिसोका कारण बिरामी नभएका पीडितका त्रिपाल भेटाउनै मुस्किल छ ।’ कतिपय दीर्घरोगीले नियमित औषधि सेवन गर्न नपाउँदा पनि ज्यान गुमाएको उनले बताए । उनका अनुसार वडा ४ मा झन्डै ९ सय परिवार घरबाहिर रहेकामा मुस्किलले २ सय मात्र टहरा निर्माण भएका छन् । सरकारले अस्थायी टहरा बनाउन दुई किस्तामा ५० हजार रुपैयाँका दरले खर्च उपलब्ध गराउँदै आए पनि कार्यविधि अभाव र सरकारी कर्मचारीले तदारुकता नदेखाउँदा आवास निर्माणले गति पाएको छैन । दीर्घरोगीहरूको चिसोमा स्याहार र नियमित औषधि सेवन नहुँदा ज्यान गएको छेडागाड आधारभूत अस्पतालका प्रमुख डा. प्रिय शाहीले बताए । ‘न राम्रो खानपान छ, न न्यानो लुगा नै,’ उनले भने, ‘दीर्घरोगी, गर्भवती, सुत्केरी र बालबालिकाको त बिजोगै भयो ।’ उनका अनुसार अस्पतालमा दैनिक सय जनासम्म चिसोका बिरामीहरू उपचारका लागि आउने गरेका छन् । छेडागाड नगरपालिका प्रमुख रत्नबहादुर खड्काले चिसोका कारण भूकम्पपीडितको अकालमा ज्यान जान नदिन सबै वडामा स्वास्थ्यकर्मी परिचालन गरिएको बताए । भेरी नगरपालिकाकी स्वास्थ्यकर्मी सरिता शर्माले भूकम्प प्रभावित गाउँमा शुद्धीकरण नगरिएको पानी उपभोग गर्नु, सन्तुलित भोजन नहुनु, जथाभावी शौच गर्नुलगायत कारण झाडापखाला, ज्वरो, रुघाखोकीका बिरामी बढिरहेको बताइन् । ‘धन्न हाम्रो सावधानी र पर्याप्त औषधि भएकाले स्थिति नियन्त्रण बाहिर गएको छैन,’ उनले भनिन्, ‘चिसोका कारण देखिएका स्वास्थ्य समस्यालाई प्रकोपको रूप लिन नदिन सबै सचेत हुन जरुरी छ । साभार : इका

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार