रुसी सेनामा भर्ती भएका २७२ नेपाली सम्पर्कविहीन…..

काठमाडौँ — अवैध रूपमा रुसी सेनामा भर्ती भई युक्रेनसँगको युद्धमा होमिएका नेपालीहरूको यकिन तथ्यांक सरकारसँग छैन । अहिलेसम्म १२ जना नेपालीको मृत्यु भएको औपचारिक जानकारी मात्रै दिएको परराष्ट्र मन्त्रालय त्यहाँ घाइते र बेपत्ता हुने नेपालीका बारेमा भने मौन छ । रुसी सेनामा भर्ती भएका नेपालीका परिवारजनले हालै थालेको पीडित परिवार तथा नागरिक जीवन रक्षाका लागि सचेतना अभियानले भने हालसम्म २ सय ७२ जना नेपाली लामो समयदेखि परिवारको सम्पर्कमा नआएको दाबी गरेको छ । काठमाडौंमा शनिबार आयोजित पत्रकार सम्मेलनमा सचेतना अभियानले अहिलेसम्म २ सय ७२ जना बेपत्ताका परिवार सम्पर्कमा आएको बताएको हो । अभियानमा आबद्ध कृतु भण्डारीले रुसमा भर्ती भएकाको पारिवारिक विवरण संकलन गरिरहेकी छन् । उनकै नेतृत्वमा रुसी सेनामा मारिएका, बेपत्ता, घाइते र उद्धारको पर्खाइमा रहेकाका पीडित परिवारले अभियान चलाइरहेका हुन् । यो अभियानमा रुसी सेनामा भर्ती भएर लामो समयदेखि बेखबर भएका २ सय ७२ जनाको परिवार सम्पर्कमा आइसक्नुभएको छ,’ अभियानकी भण्डारीले भनिन्, ‘त्यसबाहेक पनि हामीले घाइते हुने १ सय १६ जनाका परिवार र काजकिरिया गरिसकेका १६ जनाको परिवार गरी ५ सय ३१ जनाको पीडित परिवारको विवरण एकीकृत गरिसकेका छौं ।’ पत्रकार सम्मेलनमार्फत उनले नेपालसँग साइनो सम्बन्ध नै नभएको रुस–युक्रेन युद्धमा नेपाली दाजुभाइहरू फस्न पुगेकोमा चिन्ता व्यक्त गर्दै थपिन्, ‘सरकारले बेपत्ताको खोजी जतिसक्दो छिटो गर्नुपर्छ । रुसी सेना छोड्न चाहनेहरूलाई पनि तुरुन्तै उद्धार गरी फिर्ता ल्याइनुपर्छ । परराष्ट्रमन्त्री एनपी साउदले भने हालसम्म २ सय ३१ जनाका परिवारले मात्र रुसी सेनामा आफन्त भएको लिखित जानकारी गराएको बताए । कान्तिपुरका नयाँ दिल्लीस्थित संवाददातासँगको कुराकानीमा मन्त्री साउदले भने, ‘त्यसमध्ये पनि ५०/६० जना फर्किसकेका छन् । केही दिवंगत भए । बाहिर भनिएजस्तो त्यो संख्या हजारौंमा देखिँदैन । २ सय ३१ परिवारले आवेदन दिएकाले त्यही सेरोफेरोमा रुसी सेनामा नेपाली हुनुपर्ने अनुमान छ ।’ उनले रुससँग नेपालको कुनै पनि सैन्य भर्नाको सन्धि वा सहमति नभएकाले सैन्य भर्नामा नेपाली नलिइदिन रुसलाई भनिसकेको बताए । सरकारले रुसी सेनामा भर्ना भएका र मृत्यु भएकाहरूको औपचारिक विवरण भने सार्वजनिक गरेको छैन । प्रधानमन्त्री पुष्पकमल दाहालले गत मंसिरमा एक सार्वजनिक कार्यक्रममा रुसी सेनामा दुई सय नेपाली भर्ना भएको हुन सक्ने बताएका थिए । परराष्ट्र मन्त्रालयका उच्च अधिकारीहरू भने कम्तीमा १५ सय नेपाली रुसी सेनामा भर्ना भएको दाबी गर्छन् । साभार : इका

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार