प्रीति राईको गोलले नेपाल फाइनलमा…..

काठमाडौँ — प्रीति राई र उनले गरेको गोलको लागि नेपाली महिला फुटबल सधैं ऋणी रहनेछ । वाफ वुमेन्स च्याम्पियनसिप २०२४ मा नेपाल अहिलेसम्मकै सबैभन्दा कठिन परीक्षाबाट गुज्रिएको थियो र त्यसलाई पार गर्न नेपालले अन्तिम समयसम्म कुर्नु परेको थियो । लेबनानविरुद्धको सेमिफाइनल १–१ को बराबरीमा थियो । खेलले इन्ज्युरी समयको पाँचौं मिनेटमा पेनाल्टी एरियाको ठीक बाहिरबाट प्रीतिले गरेको प्रहार गोलमा परिणत भएको थियो । यस खेलले नेपालको २–१ जित मात्र निश्चित गरेन, टिम प्रतियोगिताको फाइनल पनि पुगेको छ । यससँगै साउदी अरेबियाको जेद्दास्थित प्रिन्स अब्दुल्लाह अल–फैसल स्पोर्टस सिटीको मैदानमा अपार खुसी छाएको थियो । अब नेपालले उपाधिको भिडन्तमा तीन पल्टको डिफेन्डिङ च्याम्पियन जोर्डनको सामना गर्नेछ । नेपालको जितको सबैभन्दा ठूलो विशेषता रह्यो, खेलमा पुनरागमन । खेलको ३८ औं मिनेटमा पूजा रानाको ब्याक पास दुर्भाग्यपूर्ण रूपमा आत्मघाती गोलमा परिणत भएपछि नेपाललाई गम्भीर धक्का पुगेको हो । यो गोलले नेपाली खेलाडीलाई धेरै हदसम्म दबाबमा पनि राखेको थियो र डर थियो, कतै नेपाल पराजित हुने त होइन ? बराबरी गोलका लागि पनि नेपालले ७६ औं मिनेटसम्म कुर्नु परेको थियो, जति बेला लेबनानी डिफेन्सको कमजोरीमा सावित्रा भण्डारीले गोल गरिन् । यो जितपछि नेपाल आफ्नो महिला फुटबलको इतिहासमा ११ औं फाइनलमा पुगेको छ । अब नेपाल उपाधिविहीन यात्रामा पूर्णविराम लगाउने मोडमा पुगेको छ । फाइनल बिहीबार हुनेछ । जितपछि सावित्राले पहिलो हाफमा नेपाली टिमले आफ्नो स्वभाविक प्रदर्शन गर्न नसकेको प्रतिक्रिया दिइन् । मैदान गिलो भएकोले समस्या भएको उनको तर्क थियो । उनले थपिन्, ‘तर हामीले दोस्रो हाफमा जिम्मेवारीले भरिएको खेल खेल्यौं । खेलकी नायिका प्रीतिले भने उनको गोल फिजियोथेरापिस्ट नविना श्रेष्ठलाई समर्पित गर्न चाहिन् । चोटका कारण लामो समय मैदान बाहिर रहँदै श्रेष्ठले उनलाई खेलमा फर्कन सहयोग गरेकी थिइन् । ‘म यो गोल नविना म्यामलाई समर्पित गर्न चाहन्छु । मलाई मानसिक रूपमा गाह्रो हुँदा उहाँले नै साथ दिनु भएको हो । साभार : इका

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार