हिमपातपछि भूकम्पपीडित थप विपत्‌मा…..

सुर्खेत — त्रिपालको कष्टकर बसाइपछि जाजरकोटको बारेकोट गाउँपालिकास्थित जिरीका गोविन्द विकको परिवार फागुन दोस्रो साता अस्थायी टहरामा सर्‍यो । साढे ३ महिना हिउँदे चिसो जसोतसो काटेर अस्थायी टहरामा फर्किएको विकको ८ जनाको परिवारलाई शनिबारको हिमपातले झन् ठूलो समस्यामा पार्‍यो । घर वरिपरि हिउँ नै हिउँ छ, न्याना लुगा पनि छैनन्, हिजो (शनिबार) देखि परिवारका सबै जना रातभर आगो बालेर जाग्राम बस्न थालेका छौं,’ उनले भने, ‘अब हिउँ नपग्लिँदासम्म बाहिर निस्कने र राम्ररी सुत्ने अवस्थै छैन ।’ उनका छिमेकी बलबहादुर नेपालीको ७ जनाको परिवार पनि शनिबार रातभर आगो बालेरै जाग्राम बस्यो । अस्थायी टहराका प्वाल टाल्न पुराना लुगा प्रयोग गरे पनि त्यसले सिरेटो थेग्न नसकेको उनले बताए । ‘धन्न त्रिपालमुनिको बसाइका बेला हिउँ परेन, अहिले हिमपातपछि यति चिसो बढेको छ कि आगो छोडेर एकछिन पनि बस्न सकिँदैन,’ बलबहादुरले भने, ‘अत्यधिक चिसोका कारण हातखुट्टा लुला हुने, झमझमाउनेजस्ता समस्या देखिन थालेको छ, चिसो थेग्न नसक्ने वृद्धवृद्धा, बालबालिका र रोगी/बिरामीलाई टहरामा निकै सकस हुने देखिन्छ ।’ उनका ६१ वर्षीय बुबा दमका रोगी हुन् भने ६० वर्षीया आमा मधुमेह र उच्च रक्तचापकी बिरामी हुन् । दुई छोरा र एक छोरीलाई पनि त्रिपालमा रुघाखोकी, ज्वरो र झाडापखालाले दुःख दिइरहेको उनले बताए । बारेकोटलाई केन्द्रबिन्दु बनाएर गत कात्तिक १७ मा गएको भूकम्पपछि पालिकाका १ हजार ७५ परिवार अहिले पनि त्रिपालकै सहारामा रात छिचोल्दै आएका छन् । ‘हिउँ परेपछि अधिकांश परिवार त भत्किएकै घरमा भए पनि फर्कन बाध्य भए,’ आधारभूत विद्यालय बारेकोटका शिक्षक घनश्याम केसीले भने, ‘त्रिपालहरू हिउँले पुरिएपछि ज्यान नै जोखिममा राखेर भत्किएकै घरमा फर्किएका छन् । बारेकोटका ५ हजार ५ सय ८६ घर भत्किएको जिल्ला प्रशासन कार्यालयको तथ्यांक छ । जसमध्ये ४ हजार ५ सय ११ अस्थायी टहरा मात्र बनेका छन् । बाँकी परिवार अझै पनि त्रिपालकै भरमा बस्दै आएका थिए । हिमपातका कारण ती परिवार अहिले बढी मारमा परेका हुन् । बारेकोटका अधिकांश वडामा हिमपात भएको छ । १० इन्चदेखि २ फिटसम्म हिउँ जमेको छ,’ बारेकोट गाउँपालिका अध्यक्ष वीरबहादुर गिरीले भने, ‘अस्थायी टहरामा सुरक्षितसाथ आगो तापेर र न्यानो खाना खाएर बस्न पालिकावासीलाई आग्रह गरेका छौं ।’ उनले सोमबारदेखि अस्थायी टहरामा स्वास्थ्य जाँचका लागि स्वास्थ्यकर्मी पठाउने तयारी रहेको बताए । भूकम्पबाट सबैभन्दा क्षति व्यहोरेको नलगाड नगरपालिकाका अधिकांश वडामा पनि बाक्लो हिमपात भएको छ । एक फिटसम्म हिउँ जमेको नलगाड नगरपालिका–६ गर्चेनाका भीमबहादुर पुनमगरले बताए । उनको आठ जनाको परिवार २ साताअघि मात्र अस्थायी आवासमा सरेको थियो । ‘आमाबुबा र छोराछोरीलाई जाडोबाट जोगाउनै मुस्किल भयो,’ उनले भने, ‘अहिलेसम्म म र जहान (श्रीमती) मात्र बिरामी भएका छैनौं, हिजोबाट छोराछोरी पनि ज्वरो र रुघाखोकीले बिमार परे । अहिलेसम्म तातो र झोलिलो खानेकुरा खाँदै आगो तापेर रातदिन टहरामा बसिरहेको भन्दै उनले पालिकाले दिएको चामलले अहिलेसम्म धानेको बताए । यहाँका करुवा, रग्दा, भगवती, खगेनकोटलगायत गाउँलाई एक फिट बाक्लो हिउँले ढाकेको छ । हिमपातपछिको चिसोका कारण पशुचौपायाको पनि बिचल्ली भएको भीमबहादुरले सुनाए । नलगाडमा ८ हजार ९७ लाभग्राही कायम भएकोमा अहिलेसम्म ७ हजार ५ सय १७ मात्र अस्थायी आवास बनेको नगरप्रमुख डम्बरबहादुर रावतले बताए । निर्माण सामग्रीको अभाव, कामदार नपाइने समस्या, पारिवारिक विवादका कारण अझै ५ सय ८० परिवार त्रिपालमै बस्न बाध्य रहेको रावतले सुनाए । त्रिपालमा बस्दै आएका केही परिवार पनि हिमपातपछि आफन्तको टहरामा शरण लिन पुगेको उनले बताए । भूकम्पपीडितहरू चिसोका कारण बिरामी पर्ने क्रम उच्च देखिएको छ । छेडागाडस्थित आधारभूत अस्पतालका डा. प्रिय शाहीले चिसोका कारण दैनिक ५० देखि १ सय बिरामीको उपचार गर्ने गरेको बताए । उनका अनुसार अस्पताल आउनेमा झन्डै ६० प्रतिशत बालबालिका छन् । जसमा झाडापखाला, निमोनिया, ज्वरो, रुघाखोकीलगायत समस्या देखिएको उनले बताए । भूकम्पले सबैभन्दा क्षति पुर्‍याएको नलगाड नगरपालिकामा पनि दैनिक १ सय ५० जनासम्म बिरामी भई उपचारका लागि आउने गरेको नलगाड आधारभूत अस्पतालका डा. विशाल उप्रेतीले जानकारी दिए । अन्य पालिकाका माथिल्ला भेगमा पनि हिमपातपछि बढेको अत्यधिक चिसोका कारण अस्थायी टहरामा रात काट्न हैरानी हुने गरेको भेरी नगरपालिका–१ का चन्द्रबहादुर रावतले बताए । उनले ओड्ने/ओछ्याउने लत्ताकपडा गतिलो र पर्याप्त नहुँदा भूकम्पपीडितले दुःख झेल्नुपरिरहेको उल्लेख गरे । जाजरकोटमा ४२ हजार ५ सय २४ लाभग्राही कायम भएकोमा २६ हजार ७ सय ६५ अस्थायी आवास निर्माण भएको प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले बताए । उनका अनुसार ३७ हजार ४८ लाभग्राहीको खातामा अहिलेसम्म अस्थायी आवास निर्माणका लागि २५ हजारका दरले पहिलो किस्ताको झन्डै ९२ करोड रुपैयाँ गइसकेको छ । बाँकी झन्डै १५ हजार ७ सय अस्थायी टहरा निर्माणका लागि पालिकाहरूलाई ताकेता गरिरहेको उनले जानकारी दिए । त्यस्तै रुकुम पश्चिममा २८ हजार ४३ जना लाभग्राही कायम भएकोमा झन्डै २७ हजार ७ सय अस्थायी आवास निर्माण भएको प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले बताए । उनका अनुसार जिल्लामा अस्थायी आवासका लागि ७० करोड ८९ लाख रुपैयाँ आएको थियो । भूकम्पपछि त्रिपालमा बस्दै आएका ३८ भूकम्पपीडितले चिसोकै कारण ज्यान गुमाइसकेका छन् । साभार : इका

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार