देउवा-दाहाल सम्बन्धविच्छेद धोकाधडी कि बाध्यता ?…..

काठमाडौँ — एमाले अध्यक्ष केपी ओलीसँग आइतबार बिहान भेटिसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहालले बालुवाटारमै कांग्रेस सभापति शेरबहादुर देउवालाई भने, ‘मलाई एमालेसँगको गठबन्धनमा जाने दबाब छ ।’ शक्तिका खेलाडी देउवाले नबुझ्ने कुरै भएन । गठबन्धन भत्किने मनस्थिति बोकेर बालुवाटारबाट निस्केका देउवाले निवास पुगेपछि आफूनिकटहरूसँग दाहालको कुरा सुनाए । अन्तिम घडीमा गठबन्धन जोगाउन सकिन्छ कि भनेर देउवाले सबै अस्त्र प्रयोग पनि गरें । देउवानिकट स्रोतका अनुसार उनले अन्तिम घडीमा दाहाललाई फकाउन राष्ट्रिय सभाको अध्यक्ष छाड्ने पहिलो सन्देश पठाए । त्यसबाट सकारात्मक प्रतिक्रिया नआएपछि गृह र अर्थ मन्त्रालयसमेत दिने अर्को सन्देश पनि सुनाए । तर, कोल्टे फेरिसकेका दाहालले कांग्रेससँगको सहयकार्यप्रति मोह बढाएनन् । कांग्रेसका एक नेताका अनुसार कुनै पनि गठबन्धन भत्किने र बन्ने कार्यमा घरेलु शक्तिको भन्दा बढी प्रभाव छिमेकी मुलुकहरूबाट हुने गतिविधिले पार्छ । ‘अहिले ठीक त्यस्तै भएको हाम्रो बुझाइ छ,’ ती नेताले भने,‘त्यसमा प्रचण्डलाई कोल्टे फेर्ने वातवरणमा सहयोग पुर्‍याउने काम हामीले पनि गर्‍यौं , योभन्दा पनि छिमेकी शक्तिको प्रभावले काम गर्‍यो भन्ने हामीलाई लागेको छ । १४ महिनाअघि देउवाले प्रधानमन्त्री नछाड्दा दाहाल एमालेको सहयोगमा प्रधानमन्त्री बनेका थिए । त्यतिबेला देउवाले दक्षिण छिमेकीको आडमा प्रधानमन्त्रीको दाबी नछाडेको भनेर व्याख्या गर्ने कांग्रेस नेताहरू यसपटक उत्तरी छिमेकीले कम्युनिस्ट पार्टीहरूलाई एक बनाउने उद्देश्यसाथ सत्ता समीकरणमा जोडेको बताउने गर्छन् । १४ महिनाको बीचमा प्रधानमन्त्री दाहाललाई एमालेको कित्तामा पुर्‍याउने काम धेरै हदमा कांग्रेसकै भूमिकाले काम गरेको बुझाइ कतिपय नेताहरूमा छ । ‘एमालेसँग सरकार सञ्चालन गर्न असहज महसुस गरेरै प्रचण्डले त्यहाँबाट डिपार्चर लिएका थिए । हामीले त्यस कुरालाई बुझेनौँ,’ सरकारमै रहेका एक मन्त्रीले भने,‘सुरुदेखि नै प्रचण्डको गुनासो अर्थमन्त्रीसँग रहँदै आयो । सैद्धान्तिक रूपमा अर्थमन्त्री खर्च र दायित्व घटाउने नीतिमा अडिग देखिए, प्रधानमन्त्री त्यसविपरीत शिथिल भएको अर्थमन्त्रालयलाई चलायमान बनाउने खोज्नुभयो । त्यसमा अर्थमन्त्रीसँग र्‍याङठ्याङ मिलेन । कांग्रेसबाहेकका सबै मन्त्रीले अर्थ मन्त्रालयसँगको गुनासो प्रधानमन्त्रीमा लगेर ठोके । त्यसपछि प्रधानमन्त्रीले अर्थमन्त्री बदलिदिन कांग्रेस सभापतिलाई पटक–पटक आग्रह गर्नुभएको थियो । त्यसमा पार्टी सभापतिले नमानेपछि प्रमुख समस्या त्यहीँ बिन्दुबाट सुरु भयो । साभार : इका

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार