जीबी राई मलेसियामा रहेको विश्वासमा नेपाल ल्याउन पत्राचार…..

काठमाडौँ — मलेसियामा लुकेर बसेको विश्वासमा गोर्खा मिडिया नेटवर्कका अध्यक्ष गितेन्द्रबाबु (जीबी) राईलाई नेपाल झिकाउन सरकारले कूटनीतिक पत्र पठाएको छ । पोखरास्थित सूर्यदर्शनसहित देशभरका आधा दर्जन बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलन गरेको आरोपमा मुद्दा दर्ता भएलगत्तैदेखि उनी फरार छन् । विश्वका प्रहरीहरूको साझा संगठन इन्टरपोलको खोजी सूचीमा रहेका राई मलेसियामा लुकेर बसेको भन्ने आधारमा देश फर्काउन सरकारले कूटनीतिक पहल थालेको हो । नेपाल प्रहरीको अनुरोधमा राईलाई फरार सूचीमा राखेर इन्टरपोलले माघ १२ मा डिफ्युजन र माघ २९ मा रेड नोटिस जारी गरिएको थियो । गृह र परराष्ट्र मन्त्रालय स्रोतका अनुसार राईलाई फिर्ता ल्याउन २ सातादेखि प्रक्रिया अघि बढाइएको हो । कूटनीतिक पहलबारे गृह मन्त्रालय र परराष्ट्र मन्त्रालयका अधिकारीले भने औपचारिक रूपमा बोल्न मानेनन् । ‘राईविरुद्ध इन्टरपोलले डिफ्युजन र रेड नोटिस जारी गरेपछि उनी मलेसियामा लुकेर बसेको पुष्टि भइसकेको छ,’ यस विषयका जानकार एक सरकारी अधिकारीले कान्तिपुरसँग भने । ‘दुई देशबीच सुपुर्दगी सन्धि नभएको कारण यो विषयलाई मात्रै सम्बोधन हुने गरी नेपाल सरकारले कूटनीतिक पत्र पठाएको खण्डमा मलेसियाले आफ्नो देशमा लुकेर बसेका अभियुक्तलाई फिर्ता पठाउन सहयोग गर्ने प्रतिबद्धता जनाएपछि सोहीअनुसार गरिएको हो । फरार राई सूर्यदर्शन सहकारीका संस्थापक अध्यक्ष हुन् । सूर्यदर्शन सहकारीका बचतकर्ताको १ अर्ब रुपैयाँभन्दा बढी रकम अपचलन गरेको अभियोगमा राईसहित १९ जनाविरुद्ध २०८० असोज १८ मा दायर सहकारी ठगीसम्बन्धी मुद्दा कास्की जिल्ला अदालतमा विचाराधीन छ । मुद्दाका प्रतिवादीमध्ये ५ जना मात्रै पक्राउ परी हाल पुर्पक्षका लागि कारागारमा छन् । राईसहित १४ जना अझै फरार छन् । राईविरुद्ध सूर्यदर्शनसहित चितवनको साहारा, पर्साको वीरगन्जमा रहेको सानो पाइला, रूपन्देहीको बुटवलस्थित सुप्रिम, बाँकेको नेपालगन्जस्थित समानता र काठमाडौंमा स्वर्णलक्ष्मी सहकारीबाट हजारौं सर्वसाधारणको बचत रकम हिनामिना गरेको अभियोग छ । त्यसमध्ये सूर्यदर्शनको हिनामिनासम्बन्धी कसुर मात्रै अनुसन्धान भएर राईसहित प्रतिवादीविरुद्ध अदालतमा मुद्दा दायर भएको छ । राई संलग्न अन्य सहकारीको हिनामिना प्रकरणमा प्रहरीले अनुसन्धान जारी राखेको छ । सूर्यदर्शनका राईसहित १४ प्रतिवादी र अन्य सहकारीका वर्तमान तथा पूर्वपदाधिकारी/सञ्चालक र कर्मचारीहरूमध्ये धेरैजसो प्रहरीले अनुसन्धान अघि बढाएसँगै फरार छन् । पक्राउ परेका कतिपयले राईकै योजनामा आफूहरूले काम गरेको बयान दिए पनि मुख्य अभियुक्त राई पक्राउ नपर्दा अपचलनमा संलग्नहरू कानुनी दायरामा आउन सकेका छैनन् , ठगी प्रकरणमा हिनामिना प्रकरणमा सहकारी ऐन र मुलुकी अपराध संहिताका ठगीसम्बन्धी कसुरमा कास्की अदालतले राई तथा अरू अभियुक्तविरुद्ध साउन ४, असोज २ र असोज ७ मा पक्राउ अनुमति दिएको थियो । अनुसन्धान अघि बढेको सुइँको पाएलगत्तै राई भागेर मलेसिया पुगेको हुन सक्ने विश्वास छ । साभार : इका

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार