सहकारी ठगीमा पनि पूर्वउपराष्ट्रपति पुनका छोरा दीपेशलाई उन्मुक्ति दिने प्रपञ्च…..

बुटवल — पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश पुन सहकारी ठगीमा मुछिएको प्रमाण प्राप्त भए पनि उनलाई उन्मुक्ति दिने प्रयास भइरहेको छ । गितेन्द्र बाबु (जीबी) राई नेतृत्वमा बुटवलमा खोलिएको सुप्रिम सहकारीमा सचिव र कोषाध्यक्ष रहेका दीपेश करिब १० हजार बचतकर्ताको ७८ करोड ५० लाख रुपैयाँ हिनामिनामा संलग्न थिए । जीबी फरार भएपछि सहकारीका अन्य पदाधिकारीलाई पक्राउ गरिएको छ, तर दीपेशलाई प्रहरीले सोधपुछसमेत गरेको छैन । दीपेश करिब सात वर्षसम्म सहकारीको सञ्चालक पदाधिकारी थिए, जतिबेला ठूलो रकम हिनामिना भएको थियो । २०७२ फागुन ३० को साधारणसभाबाट उनी कोषाध्यक्ष भएका थिए भने २०७६ कात्तिक १६ को साधारणसभाबाट उनी सचिव बनेका थिए । तर बचतकर्ताले रकम माग्न थालेपछि २०७९ मंसिर २४ मा राजीनामा दिएपछि उनी सम्पर्कविहीन छन् । गोर्खा मिडिया नेटवर्कबाट सञ्चालित हुने ग्यालेक्सी टेलिभिजनमा व्यस्त हुनुपर्ने भन्दै जीबीले बुटवलका ओमप्रकाश गुरुङलाई अध्यक्ष बनाएका थिए । तर त्यसपछि पनि जीबीका विभिन्न कम्पनीमा रकम सारिएको थियो । गोर्खा मिडिया नेटवर्कमा पनि १० करोड ७४ लाख सारिएको थियो, जसमा एक करोड रुपैयाँ रवि लामिछानेका नामबाट गोर्खा मिडियामा सारिएको थियो । सहकारीबाट सारिएको यही रकम कम्पनी रजिस्ट्रारको कार्यालयमा पेस गरेर लामिछाने गोर्खा मिडिया नेटवर्कको १५ प्रतिशत सेयरधनीसहित प्रबन्ध निर्देशक बनेका थिए । बुटवल, पोखरा, काठमाडौं, चितवन, वीरगन्ज र नेपालगन्जसहितका क्षेत्रमा सहकारी ठगीको छानबिन गर्दै आएको गृह मन्त्रालयको नेतृत्वमा अहिले स्वयम् लामिछाने छन् । बचतकर्ताको दबाब र करोडौं रकम अपचलन भएको सार्वजनिक भएपछि सहकारी दर्ता अधिकारीको कार्यालय दाङले अध्ययन सुरु गरेको थियो । कार्यालयले तयार पारेको प्रतिवेदनअनुसार सुप्रिम ऋण तथा बचत सहकारीका संस्थापक अध्यक्ष र वर्तमान संरक्षक जीबीको नाममा र गोर्खा टेलिभिजन नेटवर्क प्रालिसहितका चार कम्पनीलाई विभिन्न मितिमा ७८ करोड ५० लाख ७६ हजार ६ सय ६५ ऋण दिइएको उल्लेख छ । जीबी आफैं अध्यक्ष र दीपेश कोषाध्यक्ष रहेको बखत विभिन्न ४ कम्पनीका नाममा १३ करोड ७० लाख ९२ हजार २ सय ७० रुपैयाँ ऋण लगेका थिए । गुरुङ अध्यक्ष र दीपेश सचिव भएको बखत जीबीले ४ वटा कम्पनीमा ६४ करोड ७९ लाख ८३ हजार रुपैयाँ ऋण लगेको प्रतिवेदनमा उल्लेख छ । जीबी र दीपेश पदाधिकारी रहेका बखत नेचर नेस्ट कम्पनीका निर्देशक रहेका कुमार रम्तेलका नाममा पनि २ करोड ९० लाख ८७ हजार रुपैयाँ ऋण प्रबाह भएको थियो । हाल सहकारीका कोषाध्यक्षसमेत रहेका रम्तेल अहिले पोखराको सूर्यदर्शन सहकारीमा रकम अपचलन गरेका आरोपमा थुनामा छन् । राई नेतृत्वको समूहले लगेको ऋणको ब्याजमात्र ९ करोड १९ लाख १ सय रुपैयाँ पुगेको प्रतिवेदनमा देखिएको छ । सावाँ र ब्याज गरी ८७ करोड ६९ लाख ७६ हजार ७ सय ६५ रुपैयाँ लिएर राई सम्पर्कविहीन छन् । सडकमा पानी बिक्री गरेर, दैनिक इँटा बोकेर, बालुवा बोकेर तथा बदाम बेचेर रकम जम्मा गर्दै आएका सर्वसाधारणको रकम हिनामिना भएकोमा सञ्चारमाध्यमले प्रमुखताका साथ प्रकाशित गर्दै आएका छन् । यहीबीच सुप्रिमका वर्तमान अध्यक्ष गुरुङ र भैरहवा शाखाकी व्यवस्थापक दुर्गा पाण्डेय चापागाईंलाई फागुन ४ मा पक्राउ गरिएको छ । गुरुङ र चापागाईंलाई पक्राउ गरे पनि बचतकर्ताको रकम काठमाडौं पुर्‍याएर सहकारी नै डुबाउने मुख्य अधिकारीहरूलाई छानबिनको दायरामा नल्याएको भन्दै पीडितले गुनासो गरेका छन् । जीबी र दीपेशको पहलमा खुलेको सहकारीले १ अर्ब ७ करोड ८२ लाख ६७ हजार ७ सय २९ रुपैयाँ संकलन गरेकामा ७८ करोड ५० लाख रुपैयाँ पदाधिकारीले नै ऋणका रूपमा लिएर अपचलन गरेको बचतकर्ताको उजुरी छ । रकम फिर्ता गराउन बचतकर्ताले १३ महिनादेखि हारगुहार गर्दै आइरहेका छन् । पीडित बचतकर्ताहरू प्रहरी, प्रशासन, प्रदेश गृह मन्त्रालयअन्तर्गतको सहकारी दर्ता अधिकारीको कार्यालय, संघीय सरकारको गृह मन्त्रालय, सहकारी विभागमा धाइरहेका छन् । तर, गहिरो अनुसन्धान भएको छैन । एकातिर जीबी फरार छन् भने अर्कोतिर दीपेश खुलेआम घुमिरहेका छन् । ठगीका योजनाकारमाथि अनुसन्धान नहुँदा पीडितको रकम फिर्ता नहुने त्रास बढेको बचतकर्ता देवीलाल भट्टराईको भनाइ छ । ‘जीबी राईसहितका पदाधिकारीका नाममा रहेको जग्गा रोक्का गर्न अध्यक्षले मंसिरमै दिएको उजुरीमा समेत अहिलेसम्म कुनै वास्ता गरिएको छैन,’ उनले भने, ‘यो अनुसन्धान त माथिको योजनाअनुसार मात्र भएको हो जस्तो लाग्न थालेको छ । साभार : इका

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार