हङकङमा ‘किरात कोंइच मुईली मुक्दुम’ तथा ‘मुक्दुमको सेरोफेरो’ बिमोचन सम्पन्न

बगैंचा डटकम हङकङ,

गत १० मार्च २०२४ आईतबारको दिन लेखक तथा खोज अनुसन्धान कर्ता अतीत मुखिया (ईकिसु)द्वारा लिखित ‘किरात कोईच मुईली मुक्दुम’ (दोश्रो सस्करण) तथा ‘मुक्दुमको सेरोफेरो’ पुस्तक बिमोचन कार्यक्रम काउलनको जोर्डन स्थित बगैँचा रेष्टुरेण्ट एण्ड बारमा सम्पन्न  गरिएको थियो । 

सुनुवार समाज हङकङ द्वारा प्रकाशित उक्त पुस्तक बिमोचन कार्यक्रमको सभापतित्व सुनुवार समाज हङकङ अध्यक्ष श्याम कर्ण सुनुवारले गर्नु भएको थियो भने प्रमुख अथितिमा नेपाल आदिवासी जनजाति माहासंघ हङकङका अध्यक्ष टोप राज तामाङ, विशेष अथितिमा किरात याक्खा छुम्मा हङकङका निवर्तमान अध्यक्ष  पूर्ण प्रसाद याक्खा र अतिथिहरू सुनुवार समाज हङ्कङका बरिष्ठ सल्लाहकार तथा कृतिकार अतीत मुखिया, सल्लाहाकार नरेश सुनुवार, उपाध्यक्ष राम सुनुवार आशनग्रहण गर्नु भएको थियो ।

प्रमुख अथितीबाट पानसमा बत्ति बालेर कार्यक्रम उद्घाटन गरिएको थियो भने संस्थाका उपाध्यक्ष राम सुनुवारको स्वागत मन्तब्य पछि सामुहिक रूपमा पुस्तक बिमोचन गरिएको थियो । बिमोचन पश्चात पुस्तकको बारेमा कवि नरेश सुनुवारले समिक्षात्कम चर्चा गर्नु भएको थियो । चर्चाको क्रममा- “किरात कोंइच सुनुवारहरूले आदिमकालदेखि आफ्नो मुक्दुम लिपिबद्ध नगरि मौखिक रूपमा गुरुचेला तथा श्रुतिस्मृतिको आधारमा आफ्नो संस्कार र कर्मकाण्ड सम्पन्न गर्दै आईरहेको र यसैलाई आधार मानेर जाने हो भने भाविदिनहरूमा मुक्दुम नै लोप हुने अवस्था रहेकोले कोंइच मुक्दुमलाई यहि पुस्तक मार्फत किरातविद तथा लेखक अतीत मुखिया (ईकुसु)ले लिपिवद्ध गर्नु भएको छ । मुक्दुम भनेको के हो र यसलाई कसरि परिभाषित गर्ने भन्ने बारेमा अनेक खोज अनुसन्धान गरेर लेखकले ‘मुक्दुमको सेरोफेरो’ मार्फत प्रष्ट्याउनु भएको छ । त्यसैगरि मुक्दुम अन्तर्गत किरात कोंइचहरूले आफ्नो संस्कारिक कर्मकाण्ड- जन्मदेखि मृत्युसम्मको संस्कार-विधि कसरि गर्ने गराउने भन्ने बारेमा गहिरो अध्ययन र अनुसन्धान गरेर ‘किरात कोंइच मुईलि मुक्दुम’ पुस्तकको रूपमा पेश गर्नु भएकोछ । यो पुस्तकले हाम्रो मुक्दुमी संस्कार परम्परालाई बचाई राख्न मदत गर्ने छ भन्नु भयो ।“

यसैगरि विशेष अतिथि पूर्ण प्रसाद यक्खा र प्रमुख अतिथि टोपराज तमांगले शुभकामना मन्तव्य दिदै यस्तो महत्वपूर्ण कार्यक्रममा उपस्थित भएर केही वुझ्ने र सिक्ने मौका दिनु भएकोमा धन्यवाद दिनु भएको थियो । मन्तव्यको क्रममा लेखक तथा अनुसन्धानकर्ता अतित मुखियाले पुस्तक लेखनकार्य र अनुसन्धानकोक्रममा सम्बन्धित क्षेत्र धरातलसम्म पुगेर गरेको वास्तविक अनुभव, अफ्ठ्यारो परिस्थिति र योगदानको बारेमा अवगत गराउनु भएको थियो । कार्यक्रमको अन्तमा सभापति श्याम कर्ण सुनुवारले कार्यक्रमका प्रमुख अतिथि, विशेष अतिथि, कृतिकार, सल्लाहकार, उपस्थित सबै आगन्तुक र पुस्तक प्रकाशन गर्न सहयोग गर्ने सबैलाई धन्यवाद दिंदै कार्यक्रम समापन गर्नु भएको थियो ।

संस्थाका निवर्तमान अध्यक्ष तथा सल्लाहकार लोक बिक्रम सुनुवारले कार्यक्रम संचालन गर्नु भएको थियो ।

Photo: Sandeep Subba

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार