यसरी हुँदै छ ग्वार्को फ्लाइओभरको काम…..

काठमाडौँ — धेरै सवारी साधन ओहोरदोहोर गर्ने ग्वार्कोमा चार लेन सडक बन्द गरेर फ्लाइओभर निर्माण भइरहेको छ । अहिले फ्लाइओभरको दुवैतर्फ रहने पहुँमार्गमा माटो (फिल) भर्ने काम भइरहेको छ । कोटेश्वरतर्फ ३२० मिटर र सातदोबाटोतर्फ १८५ मिटरमा माटो फिल गर्नु पर्ने छ । त्यहीअनुसार माटो भर्ने काम भइरहेको सडक विभागअन्तर्गत गुणस्तर, अनुसन्धान तथा विकास केन्द्रकी साइट इन्चार्ज इन्जिनियर प्रियंका झाले बताइन् । फ्लाइओभर ३५ मिटर लामो हुने छ । ‘जति सक्दो माटो फिल गर्ने काम सकिन्छ,’ उनले भनिन्, ‘त्यति नै चाँडो आयोजनाको प्रगति बढ्ने छ ।’ अहिले रातिमात्र टिपरमा माटो ल्याएर फिल गर्ने काम भइरहेको छ । तर दिउँसो पनि २३ वटा टिपरमार्फत माटो ल्याएर फिल गर्ने कामलाई तीव्रता दिन लागेको उनले बताइन् । त्यसका लागि ललितपुर प्रशासनसँग पास लिएर काम अघि बढाइएको छ । काम तोकिएको समयमा नसकिएपछि असारसम्म म्याद थप्ने तयारी छ । निर्माणको काम ०८० फागुन १२ भित्र सक्नुपर्ने हो । अहिलेसम्म प्रगति ७० प्रतिशत पुगेको छ । ठेक्का भएको १३ महिनापछि डिजाइनमा समस्या आएपछि काम रोकिएको थियो । इन्जिनियरिङ प्रोक्योरमेन्ट एन्ड कन्स्ट्रक्सन (ईपीसी) मोडलअन्तर्गत् यसको ठेक्का गरिएको हो । त्यसैले यसमा डिजाइनदेखि निर्माणको काम ठेक्का लिने कम्पनीले नै गर्नुपर्छ । निर्माणका क्रममा प्राविधिक समस्या देखिएपछि मुख्य काम रोकेर निर्माण व्यवसायीले डिजाइन रिभाइजको काम गरेका थिए । असारसम्म सबै काम सकिसक्ने आयोजनाले जनायो । अहिले पहुँच मार्गमा ग्राबेल फिलिङको काम भइरहेको र यो काम सक्न डेढ महिना लाग्नेछ । निर्माणका क्रममा डिजाइनमा समस्या आएपछि ठेकेदार कम्पनी आशिष–समानान्तर–रेलिगेर जेभीले मुख्य काम रोकेर डिजाइनमा पुनर्विचार (रिभाइज) गरेको थियो । रिभाइज डिजाइन सडक विभागले ०८० भदौ १० मा मात्र स्वीकृत गरेको थियो, जुन डिजाइनअनुसार १.२ मिटर व्यास र ३० मिटर लम्बाइका दुवै साइडमा १२/१२ वटा पाइल (पिलर) निर्माण गरिने उल्लेख भएसँगै त्यहीअनुसार निर्माणको काम अघि बढाइएको थियो । चार लेन सडकको बीच खण्डमा ३५ मिटर लामो पुल आवतजावतको संरचनासहित दूरी ५४० मिटर रहने फ्लाइओभरको १७ करोड ६ लाख ८८ हजार रुपैयाँमा ठेक्का सम्झौता भएको हो । अहिले ५० भन्दा बढी कामदार निर्माणस्थलमा खटिएको निर्माण कम्पनीले जनाएको छ ।  साभार : इका

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार